शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा तालमेल गर्दा घाटा भयो : जसपा

बिहीबार, ३० असार २०७९, १६ : २८
बिहीबार, ३० असार २०७९

जनता समाजवादी पार्टी नेपालले स्थानीय तह चुनावमा गठबन्धनबीच तालमेल गर्दा पार्टीलाई घाटा भएको निष्कर्ष निकालेको छ । गठबन्धनले केही ठाउँमा पद प्राप्त भएपनि त्यसले दिएको अन्यौल, अपमान, तिरस्कार, जटिलताले पार्टी निर्माणको दीर्घकालीन लक्ष्यमा क्षति भएको निष्कर्ष जसपाले निकालेको हो ।

उपेन्द्र यादवको अध्यक्षतामा वीरगञ्जमा जारी केन्द्रीय समितिको बैठकमा जसपाका वरिष्ठ नेता अशोक राईले स्थानीय चुनावको समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै सो निष्कर्ष निकालेका हुन् । पार्टीमा भएको क्षतिलाई आगामी दिनमा कम गर्न प्रयत्न गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ ।

यसका लागि पार्टीभित्रको गुटबन्दी, बेमेलहरुलाई अन्त्य गर्ने र गठबन्धन गर्दा सम्मानजनक सहभागिताको प्रत्याभूति गर्नुपर्ने सुझाव वरिष्ठ नेता राईले दिएका छन् । आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्तर्घात गर्ने, अरु उम्मेदवारलाई भोट दिनेमात्र होइन, भोट माग्ने, आर्थिक लेनदेनमा भोट बिक्री गर्ने काम पनि पार्टीमा भएको नेता राईले प्रस्तुत गरेको समीक्षामा उल्लेख छ ।

यस्ता प्रवृत्तिहरू निन्दनीयमात्र नभएर कारवाही गर्न लायक रहेको उल्लेख गर्दै राईले पार्टीमा आफ्नै सहकर्मीलाई वा पार्टीलाई घात गर्नु भनेको अनैतिक मात्र नभएर आपराधिक कार्यसमेत रहेको प्रस्ट पारेका छन् ।

यस्तै प्रवृत्ति रहेसम्म विपक्षीहरुसँग संघर्ष वा प्रतिस्पर्धा गर्ने पार्टीको क्षमता कहिल्यै बलियो नहुने समीक्षामा भनिएको छ । गठबन्धनको बाँडफाँटमा उम्मेदवारी पाएका उम्मेदवारलाई पनि इमान्दारीपूर्वक मत दिएको अवस्था नरहेको भन्दै उनले त्यसकै कारण कयौं ठाउँमा जसपाका उम्मेदवार पराजित हुनु परेको जनाएका छन् ।

‘जिल्ला तहका मात्र होइन, केन्द्रीय नेताहरु समेतले मनोनयन पत्र पद्धति मिचेर व्यक्तिगत रुपमा वितरण गरेको कुरा आलोच्य छ,’ राईले प्रस्तुत गरेको समीक्षा प्रतिवेदनमा भनिएको छ, ‘पार्टी निर्णय विपरीत मनोनयन पत्र बाँडेको कुरा र पुर्याउनुपर्ने ठाउँमा नपुर्याएको कुरा कारवाही गर्न लायक रहेको र त्यसलाई छानबिन गरी सत्यतथ्य पत्ता लगाएर पार्टी विधान अनुसार कारबाही गरिनुपर्छ ।’

केवल छानबिनका लागि मात्र छानबिन गर्ने तर कारबाही नगर्ने कुराले यस्तो प्रवृत्तिलाई झन् प्रोत्साहन गरेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिले पार्टी नबन्ने उल्लेख गरेका छन् । पार्टीले स्थानीय तहमा यो पटक सिटहरु गुमाउनु परेको उल्लेख गर्दै उनले आफ्नै नेतृत्वको सरकार भएको मधेस प्रदेशमा समेत जसपाको सिट संख्या पहिलेको तुलनामा घटेको राईले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पार्टीको विभाजन, सरकारका मन्त्रीहरुको क्रियाकलाप, २०७४ सालमा जितेका स्थानीय तहका पदाधिकारीहरूको क्रियाकलाप तथा संघीय सांसद र मन्त्रीहरुको क्रियाकलापले पनि निर्वाचनको यस्तो परिणाम आएको प्रतिवेदनमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप