आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गभर्नर अधिकारीविरुद्ध अखिल क्रान्तिकारी र वाइसिएलले चरणवद्ध आन्दोलन गर्ने

बिहीबार, ३० असार २०७९, १६ : १०
बिहीबार, ३० असार २०७९

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गर्भनर महाप्रसाद अधिकारीले राजीनामा नदिएसम्म चरणवद्ध रुपमा आन्दोलन गर्ने भएको छ । गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको खुलेपछि उनका विरुद्ध अखिल क्रान्तिकारी र वाइसिएल चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएको हो । 

गभर्नर अधिकारीको राजीनामा नआउँदासम्म केन्द्रदेखि जिल्लासम्म अखिल क्रान्तिकारी र वाईसिएलले चरणवद्ध रुपमा आन्दोलन गर्ने अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले बताए । नेपालको गभर्नर हुन दलको सदस्य त्यागेर बस्नुपर्नेमा महाप्रसाद अधिकारी छदम् भेषमा एमाले संगठनमा बसेकाले राजीनामा माग्न बाध्य भएको पुनले बताए । ‘एमाले अर्थ तथा योजना विभाग सदस्यमा एम अधिकारी भनेर नाम राखिएको छ । उहाँ गर्भनर महाप्रसाद अधिकारी हुनुहुन्छ । सारा लोकलाई थाहा भइसक्यो होइन भनेर ढाटिराख्नुभएको छ । एमाले पनि जोगाउन लागि परेको छ’ रातोपाटीसँग कुरा गर्दै पुनले भने, ‘यति भएपछि गभर्नरले नैतिक रुपमा पदमा बस्न मिल्दैन । राजीनामा दिनुपर्छ । यदि राजीनामा नदिए सरकारले बर्खास्त गर्नुपर्छ ।’ 

गर्भनर अधिकारीको विषयमा छानविन गर्न एक स्वतन्त्र आयोग बनाउनुपर्ने पुनले बताए । ‘देशको अर्थतन्त्र श्रीलंका भयो भनेर उहाँले डंक्का पिट्नुभयो । खास देशलाई श्रीलंकाको बाटोमा लग्न शेयर बजारदेखि देशको अर्थतन्त्र बिगार्ने नाइके उहाँ नै हुनुहुँदो रहेछ’ पुनले भने, ‘उनको राजीनामा नआउँदासम्म अखिल क्रान्तिकारीले चरणवद्ध रुपमा आन्दोलन जारी राख्छ । मुलुक डुब्न दिन्नौँ ।’ 

यस्तै वाईसिएलका प्रचार विभाग प्रमुख पुष्प ओलीले गभर्नरको शैक्षिक योग्यतादेखि राजनीतिक आवद्धतता देखिएकाले नैतिक रुपमा राजीनामा दिए सहज हुने बताए । ‘एमालेले गभर्नरको बचाउमा कहिले एउटा एनजिओमा काम गर्ने व्यक्ति हुन् भन्छ । कहिले मनोज अधिकारी हुन भनेर बताउने गरेको छ । गभर्नर हुन पनि उहाँको योग्यतामा पुगेको देखिँदैन’ ओलीले भने,‘ यदि अरु नै भएको भए एमालेले अहिलेसम्म तीन पुस्ते निकालिसक्थ्यो । नभएको हुनाले अनेक गरेर छोप्न खोजिँदैछ । बरु नैतिकताका आधारमा राजीनामा दिए सहज हुन्छ ।’  यदि उनले राजीनामा नदिए चरणवद्ध रुपमा आन्दोलन गर्ने ओलीले बताए । गभर्नरका विषयमा धेरै  उठिसकेकाले मौद्रिक नीति समेत सार्वजनिक गर्न नदिने ओलीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप