बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रियसभा बैठकबाट विभिन्न विधेयक पारित

बिहीबार, ३० असार २०७९, १६ : ०३
बिहीबार, ३० असार २०७९

राष्ट्रियसभाको आजको बैठकले विभिन्न विधेयक पारित गरेको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामािजक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

गृहमन्त्री खाणले दलीय सहमतिमा नै यो विधेयक आएकाले पारित गर्न सांसदहरुलाई आग्रह गरे । उनले सामाजिक सुरक्षा भत्ता राज्यको दायित्व भएपनि यसलाई व्यवस्थित बनाउनु आवश्यक रहेको बताए । यस्तै, बैठकले प्रतिनिधिसभाबाटै सन्देशसहित प्राप्त भएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९’ पारित गरेको छ । सो विधेयक बहुमतले पारित भएको हो ।

यस्तै, बैठकले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।
यस्तै, ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई पनि बैठकको बहुमतले पारित गरेको हो । मन्त्री कोइरालाले संविधान अनुसार अध्यादेश संसदमा पेश गर्नुपर्ने व्यवस्थाका कारण प्रस्तुत गरिएको जानकारी दिए । 
त्यसअघि बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका तीन विधेयकका सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराएका थिए । सचिव फुयाँलले जानकारी गराउनुभएका ती विधेयकमा ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), २०७९’ र रेल्वे विधेयक, २०७९’ छन् ।

बैठकमा दिगो विकास तथा सुशासन समितिका ज्येष्ठ सदस्य वामदेव गौतमले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७७÷०७८’ सभामा पेश गरे । त्यस्तै, विधायन समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रले ‘ विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७७÷७८’ सभा समक्ष पेश गरे ।  राष्ट्रियसभाको अर्को बैठक  साउन २ गते सोमबार १ बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप