आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सबै भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न अर्जुननरसिंह केसीको माग

बिहीबार, ३० असार २०७९, १५ : ५०
बिहीबार, ३० असार २०७९

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले देशमा भ्रष्टाचारको पासो, ऋणको भारी, बाह्य चलखेल र शक्ति राष्ट्रहरूको द्वन्द्वजस्ता अनेकौं चक्रब्युह देखिन थालेको बताएका छन् । काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार आफ्नो धारणा राख्दै उनले देशमा आर्थिक संकट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिँदै जान थालेको अवस्थामा ८४ करोड रुपैयाँ बराबरको विदेशी हात–हतियार किन्नुको के औचित्य छ भन्ने प्रश्नसमेत गरे ।

उनले विदेश नीति र राष्ट्रिय सुरक्षा नीति सरकारबाट सर्वदलीय सहमतिद्वारा नै तय गर्नु आवश्यक रहेको बताउँदै ‘समानान्तर अर्थतन्त्र’ को नाममा भ्रष्टाचार, तस्करी, माफियागर्दी, कमिशनखोरी, आर्थिक अपराधीले खेलाएको कालो धनले राजनीतिमा पनि निर्णायक पहुँच बनाउन थालेको जिकिर गरेका छन् ।

उनले देशमा अनियन्त्रित हुँदै गएको दण्डहीनता, भ्रष्टाचार र सुशासनको अभावले आर्थिक अपराधी, माफिया र बिचौलियालाई संरक्षण र हौसला पुगेको जनाए । यसको निराकरणका लागि आजसम्मका सम्पूर्ण चर्चित भ्रष्टाचार काण्डहरूको उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी यथार्थ जनसमक्ष ल्याउने र न्यायोचित कारवाही गर्ने अग्रणी भूमिका काँग्रेसले निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

पारदर्शी तथा विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको आधार राज्य सञ्चालनमा अगाध विश्वास राख्ने नेपाली काँग्रेस र यसका सभापतिले सत्ता सम्हालेको बेलामा पनि पूर्ववर्ती एमाले नेतृत्वको सरकारका पालामा प्रधानमन्त्रीको मातहतमा राखेका राजस्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान, तथा सम्पत्ति शुद्धीकरण विभागहरू प्रधानमन्त्री कार्यालयको मातहतमा राखिरहनुको औचित्य के छ भन्ने प्रश्नसमेत उनले गरे ।

‘संवैधानिक परिषद ऐनको संशोधनको जरुरत किन प¥यो ?,’ बैठकमा उनले भने, ‘यसमा संविधान, पद्धति र ऐनबारे हाम्रो पूर्व अडान र प्रतिपक्षी दलको आसनबाट हामीले यसको घोर विरोध गरेको आफ्नै आवाज सम्झौँ र ती विषयहरू यथास्थानमा पुनःस्थापित गरौं ।’ 

चौधौं महाधिवेशनले केवल नेता व्यवस्थापन गरेको, नीतिगत छलफल र निर्णय केही पनि नभएको उल्लेख गर्दै केसीले महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि नीति महाधिवेशन गर्न नसक्नु वा नचाहनु, केन्द्रीय विभाग गठन र भातृ संस्थाहरूको अधिवेशन गरी पार्टीलाई पूर्णता दिन नसकेको गुनासो गरे ।

पार्टी भित्रको एक पक्षलाई उपेक्षा र तिरस्कार गरेर गठबन्धनका नाममा एकपक्षीय हितको सोच र स्वार्थले आजको चुनौती सामना गर्न र मुलुक, लोकतन्त्र र काँग्रेसको समग्र हित हुन नसक्ने पनि उनले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप