आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा पनि गठबन्धन हुन्छ : परराष्ट्रमन्त्री

बिहीबार, ३० असार २०७९, १५ : ३१
बिहीबार, ३० असार २०७९

नेपाली काँग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलका बीचमा गठबन्धन स्वाभाविक भएको बताएका छन् । उनले गठबन्धन राजनीतिक दलका बीचमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि हुने बताए । 

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै खड्काले विचार नमिल्ने देशहरुबीच समेत गठबन्धन हुने गरेको उल्लेख गर्दै देशभित्रै विचार नमिल्ने पार्टीसँग गठबन्धन हुनु स्वाभाविक भएको बताए । पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले चुनावमा विचार नमिल्ने कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने धारणा राखेपछि खड्काले यस्तो धारणा राखेका हुन् । 

‘विचार नमिल्ने देशसँग त गठबन्धन भएको छ भने मुलुकभित्र हुँदैन भन्ने होइन’, उनले भने, ‘गठबन्धन विश्वव्यापी मान्यता बन्दै गएको छ । गठबन्धन गरेर जाँदा पार्टीलाई पनि घाटा छैन । स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्दा राम्रो नतिजा आएको छ। संघ र प्रदेशमा पनि गठबन्धन गरेर जानुपर्छ ।’ उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रो काम गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको उपस्थिति दर्बिलो भएको जिकिर गरे । 

उनले एमसीसी पास भएर नेपालको अन्तर्राष्ट्रिय छवि उज्यालिएको दाबी गर्दै एसपीसी भने अघि नबढ्ने स्पष्ट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप