सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

के बालेनले ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड दिन लागेका हुन् ?

एसियाली खेलकुदमै सहभागी ई–स्पोर्ट्सको आलोचना किन ?
बिहीबार, ३० असार २०७९, १५ : १७
बिहीबार, ३० असार २०७९

काठमाडौँ महानगरपालिकाले ई–स्पेर्ट्सका लागि बजेट छुट्याएको भन्दै आलोचना भइरहेको छ । मेयर बालेन शाहले ई–स्पेर्ट्स प्रवर्द्धन र प्रतियोगिताका लागि एक करोड बजेट छुट्याएका छन् । मेयर शाहले ई–स्पोर्ट्सको नाममा उनलाई सहयोग गर्ने ‘रुटिन अफ नेपाल बन्द’ लाई सो रकम दिन लागेको आरोप छ । त्यसो त शाहले मेयर बन्नु पूर्व नै ई–स्पेर्ट्सको क्षेत्रमा पनि लगानी गर्ने विषयलाई समावेश गरेका थिए । 

विश्वभरमा नै लोकप्रिय बन्दै आएको ई–स्पेर्ट्सले नेपालमा पनि ठाउँ ओगट्न थालेको छ । तर, उचित लगानी र प्रवर्द्धनको कमीले कारण नेपालमा ई–स्पेर्ट्सले बढावा पाउन सकेको छैन । नेपालमा ई–स्पेर्ट्स एसोसिएसन (नेसा) गठन भएको सन् २०१६ मा हो । त्यस्तै सन् २०१६ मा नै अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स महासंघ (आईएसईएफ) को मान्यता पाएको छ । नेपालमा भने ई–स्पेर्ट्स दर्ता भएको छैन । राष्ट्रिय खेलकुद परिषद्ले नयाँ संघ दर्ता गर्ने प्रक्रिया बन्द गरेको हुनाले नेसा दर्ता हुन सकेन । 

नेसाले अन्तर्राष्ट्रिय प्रतियोगितालाई प्रमुख प्राथमिकतामा राखेको छ । सहभागिताका हिसाबमा पनि नेपालबाट धेरै पटक नेसाले सहभागिता जनाइ सकेको छ । यसका लागि नेसाले हरेक पटक खुला छनोट पनि आयोजना गर्ने गरेको छ ।

नेपाल ई–स्पोर्ट्स संघका अध्यक्ष सुरज डङ्गोलले पछिल्लो समय नेपालमा पनि प्रोफेसनल रूपमा ई–स्पोर्ट्समा सहभागिता जनाउनेहरू बढ्दै गएको बताएका छन् । सबै तर्फबाट चासोको रूपमा रहेको ई–स्पोर्ट्सले सरकारको लगानी पाउनु सकरात्मक रहेको बताए । 

‘पछिल्लो समय ई–स्पोर्ट्समा प्रोफेसनल रूपमा पनि खेलाडीहरु छन् । एसियामा हुने खेलकुद प्रतियोगिता सहभागिता जनाउन थालेदेखि खेलाडीहरुले झनै चासो देखाउन थालेका छन्,’ डंगोलले रातोपाटीसँगको कुराकानीमा भने ।

ई–स्पोर्ट्समा विशेष गरी पब्जी खेलमा धेरैको रुचि हुन्छ । त्यस बाहेकका खेलहरुमा पनि ई–स्पोर्ट्समा नेपालले पछिल्लो समय सहभागिता जनाउँदै आएको छ । नेपालमा व्यावसायिक रूपमा नै ई–स्पोर्ट्स टिम खडा गर्ने पहिलो टोली दी रियल सोल्जर्स (डीआरएस) हो । 

रोटिन अफ नेपाल बन्द पेज चलाइरहेका भिक्टर पौड्यल डीआरएसका सीईओ हुन् । त्यही भएर नेपालमा चर्चामा रहेको डीआरएसले नै काठमाडौँ महानगरपालिकाले छुट्याएको बजेटबाट ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गर्ने भन्दै आलोचना भइरहेको छ । 

तर, महानगरपालिकाले छुट्याएको बजेटमा ई–स्पोर्ट्सलाई प्रवर्द्धन गर्ने र प्रतियोगिता आयोजना गर्ने भनेर राखिएको छ । त्यसमा डीआरएसलाई कतै जोडिएको छैन । नेपालमा ई–स्पोर्ट्सका लागि डीआरएस लगायत धेरै कम्पनी छन । डीआरएस पब्जी खेलबाट आएको हुनाले धेरै चर्चामा छ । नेपालमा डीएसआर लगायत २०० कम्पनी छन् । यदि पब्जी खेल प्रतियोगिता आयोजना गरेमा डीएसआरले सहभागिता जनाउने छ । तर, पब्जी बाहेक अन्य खेलकुद प्रतियोगिता आयोजना गरेमा भने अन्य खेलका समूहहरु पुग्नेछन् । 

नेपालमा एसियाली खेलकुदमा नै सहभागिता जनाउन लागेको ई–स्पोर्ट्सलाई महानगरले बजेट छुुट्टाउनु कतिपयले सकरात्मक रूपमा लिएका छन् । सन् २०२२ मा हुने भनिएको ग्वान्झाउ एसियाली खेलकुद स्थगित भएको छ । यसपटक ८ खेललाई एसियाली खेलकुदमा समावेश गरिएको छ । जसमा ८ खेलले पदक पाउनेछन् । पदक पाउने इभेन्टमा पब्जी मोबाइल पनि एक हो । पब्जीमा भने नेपालले सहभागिता जनाउने भएको छ । पब्जिमा नेपालकोतर्फबाट डीएसआर टिम सहभागिता जनाउँदै छ । त्यस्तै नेपालले एसियाली खेलकुद खेल्नका लागि पब्जी बाहेक अन्य पाँच प्रतियोगिताको छनोट खेल खेल्दैछ । 

जसमा एरिना अफ भलोर, डोटा–२, ड्रिम थ्री किंगडम २, फिफा, हर्थस्टोन रहेका छन् । नेसाले गत साता मात्र १४ औं ई–स्पोर्ट्स विश्व च्याम्पियनसिपका लागि नेपालबाट छनोट गर्न प्रतियोगिता आयोजना गरेको थियो । यसबाट डोटा–२, सीएसगो, मोबाइल लेजेन्ड्स, पब्जी मोबाइल र टेकनका लागि खेलाडी पनि छनोट भएका छन् । बालीमा यसै वर्ष हुने मुख्य प्रतियोगिताका लागि अब क्षेत्रीय छनोट हुनेछ ।

हामी आयोजक होइनौँ, मेयरकै आलोचनाका लागि हामीलाई नजोडौँ : पौडेल 

रुटिन अफ नेपाल बन्दका सञ्चालक हुन् भिक्टर पौड्यल । स्थानीय चुनावमा बालेनलाई धरै सघाएका उनलाई महानगरले नै एक करोड रुपैयाँ छुट्याएको भन्ने धेरैको अनुमान छ । उनी सीईओ रहेको डीएसआरलाई नै प्रतियोगिता गर्न दिने कुरामा अहिले आलोचना भइरहेको छ । तर, डीएसआर भनेको पब्जी खेलको मात्र समूह हो । 

डीएसआर जस्ता संस्थाहरु नेपाली ई–स्पोर्ट्समा २०० बढी छन् । महानगरले छुट्टाएको बजेटमा आफूहरूको कुनै पनि हात नरहेको र कुन शीर्षक र कुन कानुन अनुसार आफूहरूलाई पैसा दिने भन्ने कुरामा आलोचना भइरहेको छ भन्ने आफै अच्चममा परेको पौड्यलले बताए । 

उनले मेयर बालेन शाहको आलोचनाका लागि नै आफूहरूलाई कुनै पनि विषयमा नेजोडिदिन आग्रह पनि गरे । ‘महानगरले ई–स्पोर्टस् प्रतियोगिताका लागि बजेट छुट्याएको हो । त्यसमा डीएसआर भन्ने कुनै ठाउँमा जोडिएको छैन । न त रुटिन अफ नेपाल बन्दले आयोजना गर्ने भनेर छुट्याएको छ । डीएसआर जस्ता ई–स्पोट्समा नेपालका २०० भन्दा बढी संस्था छन् । एउटा रुटिन अफ नेपाल बन्दलाई टार्गेट बनाउन पर्छ जस्तो लाग्दैन । मेयरकै आलोचनाका लागि हामीलाई नजोडौँ,’ पौड्यलले भने । 

पौड्यलले डीएसआर एउटा टिममात्र भएकाले यसले प्रतियोगिता गरे पनि सहभागिता मात्र जनाउने र आयोजना नगर्ने बताए । उनले रुटिन आफ नेपाल बन्दलाई जोडिएको विषयमा भने यो एउटा सामाजिक संस्था मात्र भएको र यसले कुनै प्रतियोगिता आयोजना नगर्ने बताए । 

ई–स्पोर्ट्स प्रतियोगिताका लागि बजेट छुट्याइएको हो : महानगर 

काठमाडौं महानगरपालिकाले पछिल्लो समय एसियाली खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाउन लागेको ई–स्पोर्ट्स प्रतियोगिताका लागि बजेट विनियोजन गरेको बताएको छ । तर, यसमा रुटिन अफ नेपाल बन्द या डीएसआरलाई प्रतियोगिता गर्न दिने विषयमा कुनै उल्लेख नभएको बताएको छ । 

महानगरपालिकाका खेलकुद विभाग प्रमुख दीपक अधिकारीले योजनामा ई–स्पोर्ट्स प्रतियोगिता आयोजना बाहेक अन्य कुनै पनि विषयमा उल्लेख नभएको बताए । अब प्रतियोगिता गर्नका लागि आफूहरू राष्ट्रिय खेलकुद परिषद् (राखेप) या नेपाल ई–स्पोर्ट्ससँग समन्वय गरेर जाने बताएका छन् । 

‘योजनामा ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गर्नका लागि भनेर बजेट विनियोजन गरिएको छ । त्यसमा रुटिन आफ नेपाल बन्द भन्ने छैन । हामी राखेप र नेसासँग समन्वय गरेर प्रतियोगिता आयोजना गर्ने प्रक्रियामा जानेछौँ,’ अधिकारीले रातोपाटीसँगको कुराकानीमा भने । 

सन् २०१७ मा विश्वभर ई–स्पोर्टसमा सहभागि सङ्ख्या ३३ करोड ५० लाख थियो । उक्त सङ्ख्या सन् २०१८ मा ३९.५ करोड सङ्ख्या रहेको ई–स्पोर्ट्समा सन् २०२१ मा आउँदा झन्डै ४८ करोड सहभागी छन् । सन् २०२२ मा यो सङ्ख्या ५३ करोड पुग्ने अनुमान रहेको छ । 

ई–स्पोर्ट्सले सन् २०२२ मा विश्वभर १.३८ बिलियन डलर आर्जन गर्ने आँकलन रहेको छ । यसमा एक तिहाइ बजार भने चीनमा रहेको छ । सन् २०२० मा ९ सय ९६ मिलियन डलर आर्जन गरेको ई–स्पोर्ट्सले सन् २०२१ मा १.१३ बिलियन डलर आर्जन गरेको थियो ।

नेपाली बजारमा पछिल्लो समय चर्चामा रहेको र्ई–स्पोर्ट्सले धेरै खेलाडीलाई व्यावसायिक बनाउन सक्ने अवस्था छ । ई–स्पोर्ट्समार्फत् नै विदेशी खेलाडीहरु नेपालमा ल्याएर प्रचार गर्न सकिए यसले पर्यटनमा समेत टेवा पुग्न सक्छ । ई–स्पोर्ट्सलाई राज्यले उचित लगानी गर्न सकेमा नेपालमा पनि यसको प्रचुर सम्भावना रहेको विज्ञहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप