बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एक हप्ताभित्र राष्ट्रियसभाका उपाध्यक्षको निर्वाचन गर्न वामदेव गौतमको माग

बिहीबार, ३० असार २०७९, १३ : ३८
बिहीबार, ३० असार २०७९

राष्ट्रियसभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रियसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग माग गरेका छन् ।  सांसद गौतमले राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष तिमल्सिनाको पुनः ध्यानाकर्षण गराए । राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्व विहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

सांसद गौतमले भने– ‘मैले एउटा त भन्ने पर्ने भो । यो ज्येष्ठ सदस्यले सभापतित्व गर्ने दिगो विकास तथा सुशासन समितिको जतिसक्दो छिटो सभापति आउनु भएर उहाँलाई स्वागत गर्न पाए धेरै खुसी हुने थिएँ । मैले केही दिन अगाडि पनि भनेको छु– चारवटा जम्मा समितिहरु छन् राष्ट्रियसभामा । ३ वटा समितिमा सभापति छैनन् । त्यसो भएर यो समयलाई मैले सदुपयोग गर्दै फेरि आग्रह गर्न चाहन्छु– सम्माननीय अध्यक्ष महोदय, अध्यक्ष महोदयले पहलकदमी लिएर पनि हुँदैन भने राष्ट्रियसभाको अवस्था कस्तो छ भनेर हामीले बुझ्नुपर्दछ । राष्ट्रियसभाका सदस्यहरु कहाँ आन्दोलन गर्न जानुपर्ने हो ? जानुपर्छ । तर, साँच्चिकै ध्यान अध्यक्षको पुगेको छैन भने भन्न पर्ने अवस्था आयो । उहाँले ध्यान दिनुपर्यो । मेरो सुझाव छ–एक हप्ताभित्र राष्ट्रियसभाको उपाध्यक्षको पनि निर्वाचन होस् । र, हाम्रा ३ वटा खाली भएका समितिका सभापतिहरूको पनि टुंगो लगाइयोस् ।’

त्यस अवसरमा सांसद गौतमले ज्येष्ठ सदस्यको हैसियतमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप