आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक : गैर आवासीय नेपाली नागरिकताका लागि यी हुन् पाँच शर्त

बिहीबार, ३० असार २०७९, १२ : ०४
बिहीबार, ३० असार २०७९

सरकारले हालै ल्याएको नागरिकतासम्बन्धी विधेयकमा गैर आवासीय नागरिकका लागि नागरिकताको व्यवस्था गरिएको छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले ‘गैर आवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने व्यवस्था प्रस्तावित विधेयकमा छ ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने सो विधेयकमा उल्लेख छ । प्रस्तावित विधेयक अनुसार गैर आवासीय नेपाली नागरिकताका लागि निवेदन दिन पाँच वटा शर्त राखिएको छ । जसअनुसार निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने छ ।

यस्तै, सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण र नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र पनि पेस गर्नुपर्ने छ ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले झुटो विवरण दिइ त्यस्तो आधारमा नागरिकता प्राप्त गरेको वा निजले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेको गैर आवासीय नेपाली नागरिकता रद्द गर्ने व्यवस्था पनि विधेयकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप