मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

पद, पावर, प्रतिष्ठा र पैसामा अल्झेको राजनीति

बिहीबार, ३० असार २०७९, ११ : ५६
बिहीबार, ३० असार २०७९

जनयुद्धको उत्कर्षको समयमा एकजना मावि तहमा अध्यापनरत शिक्षक मित्रको घरमा पुगेको थिएँ । उहाँ हाम्रो सहयोगी, समर्थक र शुभेच्छुक हुनुहुन्थ्यो । यसकारण ती मित्र र ममबीच दिल खोलेर धेरै विषय प्रसङ्गमा छलफल भए । आन्दोलनबारे निकै सनसनी कुरा गर्यौं । चुनौती, सम्भावना र सफलतासम्बन्धी विभिन्न कोणबाट बातचित भयो ।

सोही सिलसिलामा मैले शिक्षक मित्रलाई जागिर छाडेर जनयुद्धमा पूर्णकालीन भएर लाग्न अनुरोध गरेँ । उहाँले निसङ्कोच खुलेरै भन्नुभयो– ‘तपाईंहरूको त्याग, बलिदान र साहसको म उच्च सम्मान गर्दछु । तर म पूर्णकालीन भएर त्यो तपस्या र सौर्यको भूमिका निभाउन अहिले सक्दिनँ ।’ अन्य सहयोग, समर्थन र शुभेच्छा भने कायमै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

   ती शिक्षक मित्रसँग मेरो २०७४ सालको स्थानीय तह निर्वाचन प्रचार–प्रसारको सिलसिलामा पुनः भेट भयो । विगत, वर्तमान र भविष्यका समग्र विषयमा कुराकानी गरियो । पार्टी आन्दोलनकोे आरोह–अवरोह अनि जनयुद्ध र शान्ति प्रक्रियाको विषयमा छलफल भयो । यही क्रममा शिक्षक मित्रले पुरानो सन्दर्भ कोट्याउनुभयो । पार्टी आखिर शान्ति प्रक्रियामा जाने रहेछ । म पनि तपाईंले भनेको बेला पूर्णकालीन भएर लागेको भए खुला राजनीतिमा अवसरको ढोका खुल्नेरहेछन् । मैले आँट नगर्नु नै कमजोरी भयो भन्दै केही पश्चतापजन्य भाव व्यक्त गर्नुभयो ।

त्यसपछि मैले भने, ‘महान सहिद बन्ने सबैभन्दा ठूलो शौभाग्य पनि पाउने सम्भावना रहन्थ्यो । यो चाहिँ तपाईंले विर्सिनुभयो ।’ उहाँले तुरुन्तै जबाफ दिनुभयो, ‘त्यो त हो नि । सहिद भएको भए आज परिवारहरूले दोसल्लासम्म पनि पाउन कठिन हुने रहेछ । त्यसैले त जे गरेँ, ठीकै गरेछु भन्ने लागेको छ ।’

     साँच्ची नै राजनीतिक कार्यदिशा कुनै पनि आन्दोलनको मेरुदण्ड हो । हिजोको आन्दोलनको उद्देश्य र सोही अनुरूपको त्याग, बलिदान, साहस र सङ्घर्ष केन्द्रित कार्यदिशा र आजको जसरी पनि चुनाव जित्ने आन्दोलनको उद्देश्य र त्यसैमा आधारित औसत साम, दाम, दण्ड र भेदको कार्यदिशा आधारभूतरूपमै फरक रहेको छ । कार्यदिशा भिन्न भएपछि आन्दोलनको चरित्र र प्रक्रियाहरू पनि नितान्त भिन्न हुन्छ । यो साश्वत नियम हो ।

आज  अधिकांश पार्टीहरू चुनावी आन्दोलनअन्तर्गत जसरी पनि चुनाव जित्ने कार्यदिशामा रहेका छन् । यस्तो कार्यदिशामा औसत वा सामान्य राजनीतिक व्यवहारले मात्र पुग्दैन । यसका लागि हदमाथिको टयाक्टफुलनेस, चलाखी, षड्यन्त्र, जालझेल र लपन–छपनको कार्यनीतिक राजनीतिक अस्त्रजन्य व्यवहारको माग गर्दछ ।

यस्तो वस्तुगत परिवेशमा सही र गलत, इमानदार र बेइमान, भ्रष्ट र विवेकशील अनि अपराधी र सज्जनबीचमा भेद देखिँदैन । यसमा जस्तोसुकै अस्त्र उपयोग गरेर भए पनि चुनाव जितेर पावरमा पुग्नुलाई सफलता मान्ने बनिबनाउ मनोविज्ञानले सिङ्गो समाजलाई नेतृत्व गरिरहेको हुन्छ । तब सबै त्यसैको आत्मरतिमा दौडिरहेको हुन्छ ।

पछिल्लो समय नेपाली राष्ट्रिय राजनीतिमा देश र समाज बदल्ने अनि समानता र न्याय स्थापित गर्नेभन्दा पनि आत्मकेन्द्रीत व्यक्तिवादी स्वार्थगत हर्कत उत्कर्षमा पुगेको छ । हिजो आन्दोलनमा लाग्नु भनेको अरूले भन्दा बढी त्याग, तपस्या, बलिदान र सेवा गर्ने भन्ने अर्थमा बुझ्ने गरिन्थ्यो । विगतमा आन्दोलन सफलताको स्वार्थ प्रधान हुन्थ्यो । आन्दोलनको आवश्यकता र आकस्मिकतामा नेतृत्व विकास गरिन्थ्यो । जिम्मेवारीहरू भूमिका र क्षमताको संयोजनमा निर्धारण गरिन्थ्यो । कमिटी ठूलो सानो पनि आन्दोलनको राप, ताप र चापको आधारमा आवश्यकताअनुसार विन्यास गरिन्थ्यो ।

तर आज राजनीतिमा यस्तो विचार, विधि, पद्धति र मूल्यमान्यताका कुरा दन्त्यकथा जस्तो भएका छन् । राजनीति भनेको पद, पावर, प्रतिष्ठा र पैसा आर्जनमा सीमित गरिएको छ । आफू स्वयं र आफू निकटलाई केन्द्रमा राखेर विधि र प्रक्रिया तय गर्न थालिएको छ । सिङ्गो राजनीतिक आन्दोलनको भाष्यलाई व्यक्तिगत खुद्रा स्वार्थमा अपव्याख्या गरिँदैछ ।

     वस्तुतः हाम्रो समाज विभिन्न खाले स्वार्थगत आयामहरूबाट निर्देशित रहेको छ । यस्तो अर्थराजनीतिक उत्पादन सम्बन्ध भएको समाजमा सम्पूर्ण सत्ताहरू स्वार्थकै टेकोमा टिकेको हुन्छ । वर्ग समाजमा स्वार्थ अनिवार्य प्रक्रिया हो । यो दुई किसिमको हुन्छ । एकातिर राष्ट्रिय, सामूहिक, सामुदायिक, बहुसङ्ख्यक नागरिक र आन्दोलनको हितमा गरिने स्वार्थ । अर्को विचार र राजनीतिक स्वार्थ । अर्कोतिर म, मेरो परिवार, आफन्त, नातागोता, चिनेजानेका साथीभाइ अनि दोहोरो स्वार्थ लेनादेनाको सिलसिलामा स्थापित अस्थायी सम्बन्धगत स्वार्थ पर्दछन् । अर्को शब्दमा पद, प्रतिष्ठा, पावर र पैसा प्राप्तिको नितान्त प्राविधिक स्वार्थ ।

सिद्धान्तगत र दलगत स्वार्थ एकाएक व्यक्तिगत स्वार्थमा सीमित भइरहेको छ । राष्ट्रिय र सामुदायिक स्वार्थभन्दा व्यक्तिगत र आफ्नो निहित स्वार्थ पराकष्ठमा पुगेको देखिन्छ अर्थात् प्रत्येक उठबस वा रणनीति आफू र आफ्नोलाई केन्द्रमा राखेर बनाउन थालिएको छ, जुन नितान्त गलत अभ्यास हो ।

     मूलतः राजनीतिमा सबैको ध्यान केन्द्रीत भएको हुन्छ । कुन राजनीतिक पार्टी वा नेताले के गरिरहेको छ भनेर सूक्ष्म ढङ्गले नियालिरहेको हुन्छ । यसकारण यो क्षेत्रमा गरिने स्वार्थगत हर्कत चाँडो भाइरल हुने गर्दछ । तुरुन्तै समाजमा त्यसको सकारात्मक तथा नकारात्मक प्रभाव पर्नुको साथै आम धारणा बन्छन् । यो असाध्यै संवेदनशील विषय हो ।

पछिल्लो समग्र राजनीतिक हर्कत नियाल्दा जनतामा सिङ्गो राजनीति, राजनीतिक पार्टी, नेता र कार्यकताप्रति नकरात्मक धारणा विकास भइरहेको छ । यहाँसम्म कि सही र गलतलाई एउटै बास्केटमा कोचेर मूल्याङ्कन गर्न थालिएको छ । सबैतिर अँध्यारो देख्न थालिएको छ । यस्तो दरिद्र सोचाइले पनि हामीलाई वास्तविकताको नजिक पु¥याउँदैन । तथ्य पहिचान नगरी सही वा अपेक्षित गन्तव्यमा पुग्न सकिँदैन ।

    भर्खरै घटेका केही शृङ्खलाबद्ध राजनीतिक घटनाक्रमलाई नियाल्दा पनि हाम्रो राजनीतिक संस्कृति सजिलै बुझ्न सकिन्छ । यसमा स्थानीय तह चुनावमा गठबन्धन र पार्टीगतभन्दा पनि व्यक्तिगत रूपमा मनोगत साँठगाँठ गर्नु यसको ज्वलन्त उदाहरण हो ।

त्यस्तै सैद्धान्तिक मतभेदबिना पार्टी फुटाउनु, गुट–उपगुट हावी हुनु, मन्त्रालय बढाएर भए पनि आकाङ्क्षीहरूलाई व्यवस्थापन गर्नु, तीन महिनाका लागि नै भए पनि नयाँ मन्त्री बन्ने नाङ्गो दौडमा निस्किनु, पार्टीले फिर्ता बोलाउँदा पनि आलटाल गर्नु, नयाँ पद सिर्जना गरेर नै भए पनि व्यक्तिलाई व्यवस्थापन गर्ने काम भइरहेको छ । त्यस्तै, जन्मदर्ता प्रमाणपत्र पाउनेवित्तिकै पद खोज्नु वा भ्रूणबाटै अवसर रोज्नु, केन्द्रदेखि स्थानीय तहसम्म पार्टी कमिटी भद्दा बनाउनु, महाधिवेशन भएको महिनौँपछिसम्म पनि साङ्गठानिक संरचना पूर्ण नहुनु अनि विभागहरू गठन गर्न नसक्नु पदलोलुप एवं स्वार्थी राजनीतिक संस्कृतिको उपज हो । यस्तो रवैयाले सही राजनीतिक पद्धति स्थापित हुँदैन । सही पद्धतिबिना राजनीतिक आन्दोलनको प्रक्रियालाई चाहेको गन्तव्यमा पु¥याउन सकिँदैन ।

आज एकातिर राजनीतिप्रति सबैले प्रश्न उठाइरहेका छन् । यसप्रति वितृृष्णा र असन्तुष्टि व्यक्त गरिरहेका छन् । यहाँसम्म कि ‘राजनीतिको काम छैन’ समेत भन्न थालिएको छ । यद्यपि यसो भन्दै गर्दा उनीहरू नै राजनीतिप्रति एकाएक आकर्र्षित भइरहेको देखिन्छ । सबैको महत्त्वाकाङ्क्षी स्वार्थको भारी विसाउने चौतारी बनेको छ राजनीति । पद, पावर, प्रतिष्ठा र पैसा जस्ता बहुपहिचान कमाउने बहुआयमिक अस्त्र बनेको छ राजनीति ।

व्यापारीले व्यापार, ठेकेदारले ठेक्का, प्राध्यापकले प्राध्यापन, विश्लेषकले विश्लेषण, शिक्षकले शिक्षण, डाक्टरले उपचार, वकिलले वकालत, न्यायाधीशले न्याय निसाफ, अभिनेता र अभिनेत्रीले अभिनय, हास्य–व्यङ्ग्यकारले हास्यव्यङ्ग्य, पुजारीले पूजा, पत्रकारले पत्रकारिता, कृषकले खेती, मजदुरले मजदुरी, उद्योगी व्यवसायीले व्यवसाय अनि भरियाले भारी सबै सबैले आआफ्नो एकल विधा वा क्षेत्रमा काम गरिरहेका छन् । यी औसत सामान्य प्रक्रिया नै हुन् ।

तर यता राजनीतिमा भने एकैचोटि पद, पावर, प्रतिष्ठा र पैसा आर्जन हुने हुँदा सबैको अत्यधिक आकर्षण बढेको प्रष्टै अनुमान गर्न सकिन्छ । यसमा एउटै ढुङ्गाले चारवटा चरा मार्न सकिने अवस्था देखिन्छ अर्थात् अन्य पेसा व्यवसायमा मात्रात्मक स्वार्थ मात्र प्राप्ति हुन्छ भने राजनीतिमा गुणात्मक स्वार्थ प्राप्ति हुन्छ ।

अन्य विधामा एकल आयामिक स्वार्थ हुन्छ भने राजनीतिमा बहुआयामिक स्वार्थको सम्भावना छ । हाम्रो राजनीतिमा व्याप्त यही गलत चरित्रको कारण सिङ्गो सामाजिक भाष्य वा मनोविज्ञान नै एकल स्वार्थमा नभएर बहुआयामिक स्वार्थमा बढी झुम्मिएको छ ।

राजनीतिको बहुआयामिक स्वार्थगत रवैयामा लोभिएको देखिन्छ । तर यस्तो लोभ्याइ विकृत राजनीतिलाई रूपान्तरण गर्ने मनसायमा देखिँदैन । यो केवल गुणात्मक स्वार्थ प्राप्तिमा लालायित देखिन्छ । यो नै हाम्रो अर्थराजनीतिक विडम्बना र अभिशाप हो, जसले हामीलाई पुस्ताँैसम्म पिरोल्ने खतरा छ । 

    तब सम्पूर्ण गैरराजनीतिक क्षेत्रमा क्रियाशील जनशक्तिहरू यो वा त्यो नाम र बहानामा नितान्त नयाँ राजनीतिक जीवनमा प्रवेश गर्दैछन् । वास्तवमा राजनीति सेवा थियो, त्याग थियो, तपस्या थियो, बलिदान थियो, परिवर्तन र न्यायको आन्दोलन थियो, महान् उद्देश्य पूरा गर्ने कष्टसाध्य प्रक्रिया थियो । अनि उन्नत साध्य प्राप्तिको अस्त्र थियो भने सबैमा यस्तो निरपेक्ष बनिबनाउ चाहना, आकाङ्क्षा र महत्त्वाकाङ्क्षाजन्य भावनाका खहरे भेलहरू उर्लंदैनथे । स्वप्नलोकमा यति सजिलै गगनचुम्बी महल बन्दैनथे । सायद आपूmलाई यति विघ्न योग्य पनि ठानिदैनथ्यो ।

त्यस्तै, स्वतन्त्र व्यक्ति अनि पार्टीहरू रातारात खुल्दैनथे । सिद्धान्त, विचार र बलियो सङ्गठन भएका पार्टीहरूलाई चुनौती दिँदैनथे । पार्टीहरू केही होइन भनेर नजरअन्दाज गर्दै भटाभट उम्मेदवारी घोषणा गदैनथे । लामो ऐतिहासिक सङ्घर्षको प्रक्रियाबाट स्थापित पार्टी र नेताहरूलाई कमजोर आँक्ने कमजोर वातावरण आउँदैनथे । तर राजनीति पद, पावर, प्रतिष्ठा र पैसाका लागि गुणात्मक स्वार्थ आर्जनको साधन मात्र बनाइयो । त्यसपछि मात्रात्मक उपार्जनमा लागेका व्यक्ति व्यक्तित्वहरूमा एकाएक गुणात्मक लालची बढेको तथ्य दिन जस्तै छर्लङ्ग छ । 

    त्यसैले राजनीतिलाई रूपान्तरण गर्ने हो भने यसलाई पद, पावर, प्रतिष्ठा र पैसाको सेरोफेरोमा राख्नु हुँदैन । राजनीति स्वार्थ प्राप्तिको त्रिपाशा खेल बनाउनु हुँदैन । यो नितान्त उन्नत समाज व्यवस्था प्राप्तिको सैद्धान्तिक आन्दोलन, सेवा, त्याग, बलिदान र प्रतिबद्धताद्वारा निर्देशित हुनुपर्छ । न्याय, समानता र समृद्धिको चालक शक्ति बन्नुपर्छ । तब मात्रै राजनीति आदर–सम्मानको विषय हुनेछ । साथै सकारात्मक मनोविज्ञान बन्नेछ अनि साथ सहयोग बढ्नेछ ।

सम्मानित राजनीतिमा मात्र राजनीतिक मूल्य र औचित्य स्थापित हुनेछ । होइन भने राष्ट्रिय राजनीति स्वतन्त्र, युवा, जुझारु अनि निष्ठावानको पुरानै ढर्रावादी विशेषण र उपमाहरूको पुरानै चक्रव्यूहमा फस्नेछ, जुन नेपाली राष्ट्रिय राजनीतिको वस्तुवादी विकल्प होइन । यसमा हामी सबैले सचेत चिन्तन–मनन गर्न जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराँती
राजेन्द्र किराँती
लेखकबाट थप