राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा
एजेन्सी । आफ्नो शक्तिको उचाइमा, श्रीलङ्काको शक्तिशाली राजनीतिक वंश राजापाक्ष परिवारका चार दाजुभाइहरू एकै समयमा राष्ट्रपति, प्रधानमन्त्री, अर्थ मन्त्री र गृह तथा रक्षा मन्त्री थिए ।
तर जुन समय राजापाक्ष वंश अजय देखिएको थियो त्यही समयमा तिनकै कारणले सिर्जित आर्थिक सङ्कट तिनको पतनको मार्ग खन्दै थियो । तर के यही सङ्कटले दक्षिण एसियाको सबैभन्दा शक्तिशाली राजनीतिक परिवार सधैँ राजनीतिबाट बाहिर रहन्छ ?
सन् २०२० अगस्ट १२ मा देशका प्राचीन राजाहरूको राजनीतिक राजधानी क्यान्डीको केन्द्रस्थ्ति श्रीलङ्काको सबैभन्दा पवित्र बौद्धस्थल टेम्पल अफ सेक्रेड टुमा राजापाक्ष पारिवारिक शक्ति प्रदर्शनको झलक देखिएको थियो । मन्दिरमै राजापाक्ष परिवारका चार सदस्यले सरकारका उच्च पदका लागि शपथ लिएका थिए ।
अगस्टमा सम्पन्न चुनावमा भारी मतले विजय भएपछि श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्ना दुई दाजुभाइ र दुई भतिजा समावेश गरी मन्त्रिपरिषद् गठन गरेका थिए ।
राजापाक्ष परिवारले पहिलेदेखि शपथ ग्रहण बौद्ध मन्दिरमा गर्ने गरेका छन् । यो सिन्हाली बौद्ध जनसङ्ख्यालाई आकर्षित गर्ने तिनको रणनीति पनि हुनसक्थ्यो ।
परिवारको राजनीतिक शक्ति विस्तारित हुँदै जाँदा सरकारी कर्मचारी, कूटनीतिज्ञ र मिडिया यो पवित्र मन्दिरमा हुने राजापाक्षको सपथको साक्षी बस्ने गर्थे । शपथ ग्रहण पवित्र स्थलमा भए पनि शक्तिको केन्द्रीकरण र त्यसको कुव्यवस्थापन अपवित्र थियो ।
नयाँ मन्त्रिपरिषद्को उद्घाटनमा राष्ट्रपतिले रक्षा मन्त्रालय पनि आफैसँग लिएका थिए । यस क्रममा उनले राज्य प्रमुखले मन्त्रिपरिषद्को कुनै पनि पद धारण गर्न नपाउने संवैधानिक व्यवस्थालाई उल्लंघन गरेका थिए ।
राजापाक्ष परिवारमा राजनीतिक रूपमा सबैभन्दा शक्तिशाली मानिने गोटाबायाका दाइ महिन्दा राजपाक्षे देशका नयाँ प्रधानमन्त्री बनेका थिए । तिनलाई अर्थ, शहरी विकास तथा बौद्ध मामिला गरी तीन मन्त्रालयको जिम्मा दिइएको थियो ।
राष्ट्रपतिले आफ्ना जेठा दाजु चमल राजापाक्षलाई सिँचाइ, आन्तरिक सुरक्षा, गृह तथा विपद् व्यवस्थापन मन्त्रीको शपथ ग्रहण गराए । चमलका छोरा शशिन्द्रलाई कृषि मन्त्री बनाइएको थियो भने प्रधानमन्त्रीका छोरा नमललाई युवा तथा खेलकुद मन्त्री बनाइएको थियो ।
एक वर्षपछि गएर परिवारका अर्का एक सदस्य बसिल राजापाक्षेलाई अर्थमन्त्री नियुक्त गरियो । आफ्नो शक्तिको उचाइमा ठुलठुला परियोजनाहरू हस्ताक्षर गर्दै ठेकेदारहरूबाट निश्चित रकम असुल्दै धन कमाइरहेका थिए । अल्पसङ्ख्यक तथा पत्रकारहरूमाथि धरपकड गर्दा पनि उनीहरू उम्किरहेकै थिए । उनीहरूले राज्यका उत्तरदायित्व पन्छाउँदै जवाफदेहीतालाई सफलतापूर्वक बेवास्ता गरिरहेका थिए ।
वर्षौँसम्म मानव अधिकारकर्मीहरूले दक्षिण एसियाको सबैभन्दा शक्तिशाली राजनीतिक वंशले मच्चाएको नरसंहार, धरपकड, भ्रष्टाचार र आसेपासेवादको निन्दा गरिरहे । मानव अधिकारकर्मीको विरोधलाई मतदाताहरूले बेवास्ता गरिरहे । जसका कारण स्वतन्त्रता खियाउँदै लगेका राजापाक्षेहरु पटक–पटक चुनिइरहे ।
यसबेलासम्म श्रीलंका स्वतन्त्रयताकै सबैभन्दा खराब आर्थिक संकटमा फसिसकेको थिएन । तर अहिले त्यसैका कारण यो मुलुकले चरम इन्धन अभाव, विद्युत् कटौती र महँगी सामना गरिरहेको छ । यही सङ्कट नै राजापाक्षको वंशको विनाशको कारण बन्यो । आफैँले चुनेको सरकारविरुद्ध जनता सडकमा उत्रिए ।
आर्थिक सङ्कट घट्नुको साटो बढ्दै गएपछि राजपाक्षे परिवार नै प्रदर्शनकारीको मुख्य निशाना बने । दुई वर्षअघिसम्म यस्तो दृश्य कल्पना पनि गर्न सकिँदैनथ्यो ।
मे ९ मा आक्रोशित भीडले कोलम्बोमा प्रधानमन्त्री महिन्दा राजपाक्षको सरकारी निवास ‘टेम्पल ट्री’मा आक्रमण गरेपछि सेनाले राजापाक्षे र उनको परिवारलाई उद्धार गर्न एकाबिहानै विशेष अपरेसन गर्न बाध्य भयो ।
त्यसपछि महिन्दा राजापाक्षले आफ्नो कान्छो भाइ राष्ट्रपतिलाई राजीनामा बुझाएका थिए । यसबीच दक्षिणी प्रान्त हम्बन–टोटामा भीडले परिवारको पुर्ख्यौली गाउँ मेदमुलानामा रहेको राजपाक्ष संग्रहालयमा आक्रमण गरिसकेका थिए ।
राजापाक्षेका बाबुआमाको दुईवटा मैनको मूर्तिलाई लडाउँदै मूर्ति नजिकको राजापाक्ष परिवारको पुर्खाको घरमा फोहोर फ्याँकियो । यो आक्रमण औपनिवेशिक कालदेखि शक्तिमा रहँदै आएको एक परिवारमाथिको आक्रमण थियो, जसले सत्तामा नजिक रहँदा हासिल गरेको संरक्षण र विशेषाधिकार प्रयोग गरेर स्थानीयबाट राष्ट्रिय शक्तिमा उदाएको थियो ।
दाइले राजीनामा दिए पनि प्रदर्शनकारीको निरन्तरको मागको बाबजुद बहिर्गमन गर्न नमानिरहेका राष्ट्रपति गोटाबायाको आवासीय निवासमा पनि जुलाई ९ मा प्रदर्शनकारीले हमला गरे । प्रदर्शनकारीले निवास घेरेपछि उनी अज्ञातस्थल भागेका थिए । अहिले उनले देश छाडेका छन् ।
ग्रामीण शक्तिदेखि राष्ट्रिय शक्तिसम्म
राजापाक्ष परिवार पहिले दक्षिणी श्रीलङ्कामा ग्रामीण जमिनदार थिए । स्वतन्त्रतादेखि नै यस परिवारले राज्य र क्षेत्रीय सभाहरू आफ्नो जन्मभूमि हम्बनटोटाको प्रतिनिधित्व गर्दै आएका छन् । श्रीलङ्काको राजनीतिमा स्वतन्त्रतापछि केही सीमित परिवारहरू हातमा रहे पनि सुरुका दशकौँसम्म राजापाक्ष परिवार यस राजनीतिक वंशमा पर्दैनथ्यो ।
देशका तीन जना प्रधानमन्त्री र एक राष्ट्रपति उत्पादन गर्ने बन्दरनायकेजस्ता परिवारहरूले राष्ट्रिय परिदृश्यमा प्रभुत्व जमाइरहँदा राजापाक्षहरू देशको दक्षिणी केन्द्रको ग्रामीण सम्भ्रान्त मै सीमित थिए ।
वर्तमान राष्ट्रपति गोटाबायाका पिता डी.ए. राजापाक्ष हम्बनटोटा जिल्लाको प्रतिनिधित्व गर्ने सांसद थिए । उनका माइला छोरा महिन्दाले परिवारलाई जिल्लाको राजनीतिबाट राष्ट्रिय राजनीतिमा उठाए ।
सन् १९७० मा पहिलो पटक सांसद बनेका महिन्दा झण्डै तीन दशकपछि सन् २००२ मा विपक्षी नेता बन्न पुगे । विपक्षी गठबन्धनाबाट सन् २००४ मा प्रधानमन्त्रीमा उठेका महिन्दाले सो निर्वाचन जिते र राजापाक्ष परिवार पहिलो पटक देशको सर्वोच्च पदमा पुग्यो ।
एक वर्षपछि महिन्दाले सन् २००५ को राष्ट्रपतिको निर्वाचनमा साँघुरो मतान्तरले विजय हासिल गरे । तत्कालीन विद्रोही समुह लिट्टे (लिबरेशन टाइगर्स अफ तमिल इलम) अर्थात् टमिल टाईगर्सले निर्वाचन बहिष्कार गर्दा उनलाई सहयोग पुगेको विश्लेषकहरू बताउँछन् ।
यो एक प्रकारले श्रीलङ्काको उपेक्षित उत्तरमा अवस्थित तमिल टाइगर्सविरुद्धको लडाइँमा महिन्दा राजापाक्षको पहिलो जित थियो । पछि महिन्दाले विद्रोहीलाई पूर्ण दमन गर्न सफल भएका थिए ।
दाजुलाई भाइको सहयोग
राष्ट्रपति बनेपछि महिन्दाले यस्तो नेतृत्वको ढाँचा सुरु गरे जसले उनको परिवारको राजनीतिक विरासतलाई टेवा पुर्याउँथ्यो । विधिमा आधारित व्यवस्थाको पारिवारिक सञ्जालमा आधारित व्यवस्थातर्फको सङ्क्रमणको सुरुवात महिन्दाले सन् २००५ मा राष्ट्रपतिको शपथ लिएबाटै भएको थियो ।
भनिन्छ, महिन्दाले पद सम्हालेको कोठा बाहिर निस्किदाँ उनका कान्छा भाइ गोटाबाया पर्खिरहेका थिए । पूर्व सेना अधिकारी गोटाबाया आफ्नो भाइको चुनावी अभियानमा सघाउन त्यही वर्ष मात्रै अमेरिकाबाट फर्किएका थिए ।
महिन्दा राजापाक्षको जीवनी लेखकका अनुसार नयाँ राष्ट्रपतिको पदभार लिएर बाहिर निस्किएका महिन्दाले भाइ गोटाबायाको काँधमा धाप मार्दै उनी देशको नयाँ रक्षा सचिव हुने घोषणा गरे । गोटाबायाले पहिले लेफ्टिनेन्ट कर्णेलको रूपमा सेना छाडेका थिए ।
सेनाभित्र राजापाक्ष परिवारको प्रभाव विस्तार यही समयबाट सुरु भएको थियो । चुनावी अभियानमा महिन्दाले तमिल टाइगर्सलाई ‘अन्त्य गर्ने’ युद्ध सुरु गर्ने वाचा गरेका थिए ।
‘टर्मिनेटर’को प्रवेश
महिन्दा राष्ट्रपति निर्वाचित हुँदासम्म, तमिल टाइगर्सले उत्तरी भेगलाई अलग मुलुक बनाउनुपर्ने तिनको माग त्यागेर नर्वेको मध्यस्थतामा भएको युद्धविरामको सहमति अनुरूप बृहत्तर स्वायत्तताको माग गर्न थालेका थिए ।
सम्झौताले देशमा शान्ति स्थापना गर्ने आशा गरिएको थियो । यसलाई दुई दशकमा दसौँ हजार मानिसहरूको ज्यान लिने क्रूर गृह–युद्धको अन्त्य गर्ने सम्झौताका रूपमा व्याख्या गरिएको थियो ।
राजापाक्षे दाजुभाइ भने सम्झौतालाई बेवास्ता गर्दै तमिल टाइगर्सलाई परास्त गर्ने उद्देश्यले सैन्य अपरेशनको तयारी गर्न थालेका थिए । यसले गृहयुद्धबाट आतङ्कित र आजित श्रीलङ्कालीहरूको समर्थन वृद्धि हुने तिनको आँकलन थियो ।
तर देशको तमिल अल्पसङ्ख्यकका लागि भने राज्य हिंसाको अवधि सुरु हुने वाला थियो । तमिल टाइगर्सविरुद्धको अपरेसनका क्रममा तामिल टाइगर्सको समर्थक भएको आशंकाकै भरमा हजारौँ तमिल अल्पसङ्ख्यक अपहरणमा परे, बेपत्ता भए ।
तमिल अल्पसङ्ख्यकको अतिरिक्त कैयौँ पत्रकार, अभियन्ता र राजनीतिक विरोधीसमेत ‘सेतो भ्यानमा हिँड्ने सैन्य दस्ताको’ सिकार भए । त्यस अवधिमा सेतो भ्यान राजनीतिक आतङ्कको प्रतीक बनेको थियो ।
संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय मानवअधिकार समूहहरुले यस अवधिमा भएको राज्यहिंसाको अझै निन्दा गर्ने गर्छ । सन् २००९ मा तमिल टाईगर्सका कयौँ सदस्य र तिनका परिवारले संयुक्त राष्ट्र संघ, रेडक्रस र पश्चिमी सरकारहरूलाई सम्पर्क गरेर आत्मसमर्पण गर्न सहमति जनाएका थिए । ‘सेतो झण्डा प्रकरण’ भनिने यो घटनामा आत्मसमर्पण गर्न सहमति गरेका ती सबैलाई सेनाले मारेको थियो ।
यो घटनाको लागि विशेषत गोटाबायालाई जिम्मेबार मानिन्छ । राजापाक्ष दाजुभाइले नागरिकहरू बेपत्ता पारिएको घटनाको पटक–पटक खण्डन गर्दै आएका छन् । उनीहरूले सन् २००९ को सेता झण्डा प्रकरणमा पनि आत्मसमर्पण गरिसकेकालाई गोली हान्ने आदेश नदिएको बताएका छन् ।
वैदेशिक ऋणको भार
सुरक्षाको मामिलामा कठोर हुने गोटाबायाको अडानका कारण कायम लोकप्रियता नै सन् २०१९ मा उनको जितको कारण बन्यो । गोटाबायाको जितले अर्को वर्ष भएको चुनावमा उनीभन्दा राजनीतिक रूपमा अनुभवी उनको दाइ महिन्दाको जितलाई सघाउ पुर्यायो ।
तर यो शक्तिशाली परिवारको पतनको कारण सुरक्षा होइन, अर्थशास्त्र बन्न पुग्यो । श्रीलङ्कामा भएको घोर मानवअधिकार उल्लङ्घनका घटनालाई देखाउँदै पश्चिमी सरकारहरूले श्रीलङ्कालाई सहायता वितरण सूचीबाट हटाउन थालेका थिए ।
सहायता र सहुलियतपूर्ण ऋणको मार्गहरू सुक्दै जाँदा, सरकारले राष्ट्रिय बजेटको वित्तपोषण्का लागि व्यावसायिक ऋणमा धेरै भर पर्नु पर्ने स्थिति आयो ।
राजापाक्षले चीनमाथिको ऋणमा निर्भरता बढाउँदै लगेका थिए । परिवारको गृहनगर हम्बनटोटामा बनेको एउटा ठूलो बन्दरगाह परियोजना चाँडै नै असफल परियोजना साबित भयो ।
त्यति ठूलो बन्दरगाहमा फाट्टफुट्ट मात्र जहाज आउने स्थिति बनेपछि सञ्चालन आयले ऋण तिर्न नसक्ने भन्दै सरकारले सो बन्दरगाह चीनलाई नै बेच्यो । यसलाई देखाएर कतिले चीनले श्रीलङ्कामा सफल ‘ऋण पासो रणनीति’ अपनाएको आरोप पनि लगाए ।
राजापाक्षको शासनमा बनेका धेरै जसो ठूला परियोजना तिनकै गृहनगर हम्बनटोटामा बनेका छन् । विशाल वैदेशिक ऋणले बनेका परियोजनाले कुनै प्रतिफल नदिँदा ऋणको किस्ता मात्र बढिरह्यो त्यसलाई तिर्ने आय बढेन ।
बिस्तारै मुलुक चरम वैदेशिक मुद्राको कमीतर्फ धकेलिँदै थियो । देशको सार्वभौम ऋण धान्नै नसक्ने गरी बढ्दासमेत राजापाक्षले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको (आईएमएफ) सम्झौता र ऋण पुनर्संरचनाको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय आह्वानहरूको बेवास्ता गरिरहे । उनीहरूले मुलुकले तिर्नुपर्ने ऋण फिर्ता गर्नसक्ने बताइरहे ।
यसैबीच, सन् २०२० मा अर्थमन्त्री बनेका बासिल राजापाक्षे ‘मिस्टर टेन पर्सेन्ट’ का नामले चिनिन थाले । पहिले नै भ्रष्टाचार मुद्दा रहेपनि अर्थमन्त्री बनाइएका बासिलले हरेक ठेक्कामा दश प्रतिशत माग्ने गरेको आरोप छ ।
गोटाबायाका जेठा दाइ चमल राजापाक्षेका छोरा शशिन्द्रले हठात् रासायनिक मलको आयातमा प्रतिबन्ध लगाइदिए । यस दुर्भाग्यपूर्ण प्रतिबन्धले देशको महत्त्वपूर्ण कृषि क्षेत्रलाई असर गर्यो ।
कोरोना महामारीले देशको विदेशी मुद्राको महत्त्वपूर्ण स्रोत रहेको पर्यटन उद्योग बन्द प्राय रह्यो । बिस्तारै श्रीलङ्कालीहरूमा पनि राज्यकोषको कुव्यवस्थाको असर पर्न सुरु भएको थियो ।
श्रीलङ्कालीहरू तिनको देशको हर क्षेत्रमा प्रभाव बनाएर बसेका वंश शासकबाट निराश हुन थाले । मे ९ मा जब राजापाक्षे समर्थकहरूले कोलम्बोमा भेला भएका शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि आक्रमण गरे तब शक्तिशाली राजनीतिक वंशविरुद्ध दबिएको क्रोध विस्फोट भयो ।
हिंसात्मक झडपको एक दिन पछि, महिन्दाका छोरा र तत्कालीन खेलकुद मन्त्री नमलले परिवार सामान्य खराब अवधिबाट गुज्रिरहेको जिद्दी गरिरहे । ३६ वर्षको उमेरमा नमललाई राजपक्षेको प्रमुख उत्तराधिकारीको रूपमा प्रस्तुत गरिएको आम विश्वास थियो । तर गोटाबायाको बहिरगमनपछि यो परिवारको राजनीतिक भविष्य सकिएको आँकलन गर्न थालिएको छ ।
तर श्रीलङ्काको राजनीतिक वंश परम्परासँग परिचित विश्लेषक भने भविष्यमा राजपाक्ष परिवार पुनः राजनीतिमा फर्किने सम्भावना रहेको बताउँछन् । ‘एउटा राजपाक्ष ब्रान्डको सिंहाली बौद्ध जनतामा अझै पनि समर्थन छ,’ एसिया सोसाइटी नीति संस्थानका अखिल बेरीले भने,‘अहिले समस्या तात्तातो भएकाले धेरै दोष राजापाक्षलाई लगाइएको छ । तर पछि आउने राजनीतिज्ञले पनि अहिलेको समस्यालाई रातारात हटाउन सक्ने छैनन् । त्यसले तत्कालीन नेतृत्वसँग निम्त्याउने असन्तुष्टिलाई प्रयोग गरेर राजापाक्षले आफूलाई पुनः राजनीतिक रूपमा सान्दर्भिक देखाउन सक्छन् ।’
फ्रान्स२४ लागि लीला जासिन्तोको रिपोर्ट