सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा कृषि र पशुपालनको पकेटै पकेट

तालिम, गोष्ठी र कार्यक्रम गरेरै बजेट सकियो
बिहीबार, ३० असार २०७९, १० : ३०
बिहीबार, ३० असार २०७९

प्रदेश १ मा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार प्रदेशभरका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका ६०५ वटा पकेट क्षेत्र छन् । यस्तै ७७ वटा ब्लक र १४ वटा जोन तथा एउटा ‘सुपरजोन’ छन् ।

प्रदेश १ का विभिन्न जिल्लालाई उत्पादन सम्भाव्यता र क्षमताको आधारमा जोन, सुपरजोन आदिमा वर्गीकरण गरी कृषि क्षेत्रको विकास र विस्तारका लागि प्रयास गरिरहेको उक्त आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । तर, कार्यक्रम अनुसार परिणाम भने उल्लेख्य नरहेको विज्ञहरु बताउँछन् ।

‘परिकल्पना गरिए अनुसार कार्यक्रम नै छैन । यसले कृषि उत्पादनमा आत्मनिर्भर बनाउने परिकल्पना गरेको छ । पकेट क्षेत्र, ब्लकमा विस्तारै उद्योग स्थापना गर्ने लक्ष्य पनि लिइएको छ,’ कृषि विज्ञ तथा प्रदेश १ कृषि मन्त्रालयका पूर्व उपसचिव राजेन्द्र उप्रेतीले भने, ‘ब्लक बढाएर जोन, जोन बढाएर सुपरजोन बनाउने भन्ने उद्देश्य हो । तर, कार्यक्रम चाहिँ राम्ररी चलेको छैन ।’

प्रविधि बढाउने, उद्योगमा विकास गर्ने कुरामा पनि ध्यान दिएको नदेखिएको उनको भनाइ छ ।

उप्रेतीको कुरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी हिक्मतकुमार श्रेष्ठ सहमत छैनन् । ‘राम्ररी कार्यक्रम चलाएको ठाउँमा परिणाम राम्रो आएको छ, कार्यक्रम नै गर्न नसकेको ठाउँमा त परिणाम आउँदैन नि,’ श्रेष्ठको भनाइ छ । हालसम्मको प्रगति विवरण साउनको दोस्रो हप्ताभित्रमा सार्वजनिक हुने उनले जानकारी दिए ।

कुन जिल्लामा कति पकेट क्षेत्र ?

प्रदेश १ मा झापामा कृषितर्फ ४५ र पशुपालनतर्फ २० वटा पकेट क्षेत्र छन् । यस्तै सबैभन्दा बढी पकेट क्षेत्र मोरङमा छ । मोरङमा कृषिका ५२ र पशुपालनका २४ वटा पकेट क्षेत्र छन् ।

ताप्लेजुङमा ४१, पाँचथरमा ३२, सुनसरीमा ५२, धनकुटामा ३३, तेह्रथुममा २४, संखुवासभामा ४५, भोजपुरमा ३९, सोलुखुम्बुमा ४०, ओखलढुंगामा ३५, खोटाङमा ४४, इलाममा ४१ र उदयपुरमा ३८ वटा पकेट क्षेत्र निर्धारण गरिएको छ ।

ब्लकमा हालसम्म झापा, ताप्लेजुङ र ओखलढुंगामा ६-६ वटा, मोरङ र उदयपुरमा ८-८ वटा, इलाम, पाँचथर, सुनसरी, धनुकटा, भोजपुर, खोटाङ र सोलुखुम्बुमा ५÷५ वटा, तथा तेह्रथुम र संखुवासभामा ४-४ वटा ब्लक छन् । १४ वटा जिल्लामा विभिन्न २८ वटा जोन छन् भने झापा जिल्लामा एउटा मात्रै धानको सुपरजोन घोषणा गरिएको छ ।

वर्गीकरण गरिए अनुसार झापामा धानको सुपरजोन छ भने रबर, सुपारी र मकैको जोन छ । यस्तै इलाममा किबी र गाई, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर र संखुवासभामा अलैंची जोन, मोरङमा धान र माछा जोन, सुनसरीमा अदुवा÷बेसार, तरकारी, माछा, धान र बंगुर, धनकुटामा तरकारी, उदयपुरमा सुन्तलाजातका फलफूल, अदुवा-बेसार, बहुबाली धान, मकै र आलु, ओखलढुंगामा आलु, खोटाङमा मकै÷मकै बिउ र सोलुखुम्बुमा सुन्तला जात फलफूल, अदुवा÷बेसार र किबी जोनमा राखिएको छ ।

पकेट क्षेत्र, ब्लक, जोन र सुपरजोनमा के फरक छ ?

अहिलेसम्म जोन, सुपरजोन संघीय सरकार कृषि मन्त्रालयले हेर्छ । ब्लक प्रदेश अन्तर्गत छन् भने पकेटको कार्यक्रम स्थानीय तहले हेर्छन् ।

पकेट कार्यक्रमबाट साना तथा मझौला कृषक समूहहरु लाभान्वित हुनेछन् । प्रत्येक पकेटले पकेट क्षेत्र आसपासका कम्तीमा १० जना कृषकलाई सेवा पु¥याउने छन् । पकेट क्षेत्र १० हेक्टरमा हुनेछ ।

यस्तै व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम अन्तर्गत राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली-वस्तुमा न्यूनतम १०० हेक्टर क्षेत्रफलमा हुनुपर्ने उल्लेख छ ।

यस्तै व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम अन्तर्गत राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरू भएको र तोकिएको बाली र वस्तुमा न्यूनतम ५०० हेक्टरमा सञ्चालन भएको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका रुपमा जोनहरु रहन्छन् ।

यस्तै वृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपर जोन) विकास कार्यक्रममा भने तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली र वस्तुमा न्यूनतम १ हजार हेक्टरमा सञ्चालन भएको वृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र रहने परिकल्पना गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप