शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

साक्षी होस्टाइल भएकै आधारमा आरोपितलाई सफाइ !

प्रहरीले गायब बनायो अटोमेटिक पेस्तोल
बिहीबार, ३० असार २०७९, ०९ : ५१
बिहीबार, ३० असार २०७९

गोली प्रहार गरी व्यक्तिको ज्यान लिएको घटनामा अभियुक्तलाई सफाइ दिएको भन्दै धनुषा जिल्ला अदालतका न्यायाधीश डा. परशुराम भट्टराई असार २७ सोमबार सर्वोच्च अदालत तानिएका छन् । भट्टराईले असार २१ गते गरेको फैसलाको पूर्णपाठ समेत नआउँदै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायाधीश भट्टराईलाई काजमा तानेर जिम्मेवारीविहीन बनाएका हुन् । 

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–१४ मा ४० वर्षीय मनोजकुमार साहको हत्या अभियोगमा ‘रङ्गेहात’ पक्राउ परेका भनिएका पंकज चौधरी भन्ने दामोदर प्रसाद चौधरीसहितका आरोपीलाई न्यायाधीश भट्टराईले सफाइ दिएपछि उनी विवादमा तानिएका थिए । धनुषा बारले भट्टराईलाई बहिष्कार गर्ने चेतावनी नै दिएका थिए । उनले गरेको फैसलाका सम्बन्धमा अब न्याय परिषद्ले छानबिन गर्ने प्रधानन्यायाधीशको सचिवालयले बताएको छ ।

 के थियो घटनाक्रम ?

२०७६ साल कात्तिक ६ गते बिहान अन्दाजी ९ः५० बजेको समयमा पंकज चौधरी भन्ने दामोदर प्रसाद चौधरीले आफ्नै घरमा बोलाएर मनोज कुमार साहलाई गोली प्रहार गरी घाइते बनाएको सूचना प्राप्त भएपछि प्रहरी पुग्दा साह भुइँमा ढलिरहेको अवस्थामा भेटिएका थिए । प्रहरीले साहलाई तत्कालै उपचारका लागि अस्पताल लगेको थियो । प्रहरी प्रतिवेदनमा लेखिए अनुसार चौधरीको घरको बरण्डामा मसाहको कोखामा गोली लागि घाईते अवस्थामा रहेको र सो नजिकै प्यासेजमा लोड गरेको अवस्थामै रहेको एक थान अटोमेटिक पेस्तोल, पेस्तोलभित्रै म्यागेजिन र त्यहाँ लोड गरेकै अवस्थामा तीन राउण्ड गोलीसमेत भेटिएको थियो । 

गोली प्रहार गर्ने व्यक्तिको खोजी गर्ने क्रममा घटनास्थल नजिकै ब्रम्हदेव यादवको घरमा चौधरी कोठाको ढोका लगाएर लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । चौधरीलाई पक्राउ गर्दा उनको हातमा निलो रङ्गको च्यातिएको कपडा रहेको हरियो रङ्गको झोलामा एकथान नलकटुवा पेस्तोल, सोही पेस्तोलमा फिट हुने चार राउण्ड गोली र अटोमेटिक पेस्तोलमा फिट हुने पाँच राउण्ड गोलीसमेत फेला परेको थियो । 

उता गोली लागेर घाइते भएका साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पुर्‍याउँदा उनको अस्पताल नपुग्दै मृत्यु भएको थियो । साहको मृत्यु भएलगत्तै मनोजका बुवा जिवछ साहले प्रहरीमा चौधरीविरुद्ध किटानी जाहेरी दिए । जिवछको जाहेरीमा आफ्नो छोरा मनोजकुमार साहले लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ४ सपहीमा शिव आयल स्टोर्स सञ्चालन गर्दै आएको उल्लेख छ । उता पंकज चौधरीले ठेक्कापट्टाको काम गर्ने गरेको र त्यसका लागि पम्पबाट उधारोमा इन्धन लाने गरेको तर इन्धनको पैसा माग गर्दा उल्टै गोली हानी हत्या गरिएको आरोप लगाइएको छ । घटनाको दिन पंकजले छोरालाई मार्ने उद्देश्यले ‘पैसा लिन आऊ’ भनी बोलाएको र पैसा लिन जाँदा गोली हानी हत्या गरिएको मनोजका बुबाको आरोप छ । मनोजको हत्यालगत्तै पक्राउ परेका चौधरीले पनि प्रहरीमा दिएको मौकाको बयानमा आफूमाथि कुटपिट भएपछि रिसले गोली हानी हत्या गरेको स्वीकार गरेका थिए । 

अधिकारप्राप्त अधिकारीसमक्ष पंकजको बयान यस्तो थियो :

‘म विगत १२ वर्षदेखि निर्माण व्यवसाय ठेक्कापट्टाको काम गर्दै आएको छु । सोही क्रममा धेरै नै तेलको खर्च हुने गरेकाले विभिन्न पेट्रोल पम्पबाट तेल नगद तथा उधारोमा लिने गरेको थिएँ । सोही क्रममा १ वर्ष अगाडिदेखि साथीहरु मार्फत् मनोज कुमार साहसँग मेरो चिनजान भएको हो । निज साहले सपहीमा शिव आयल स्टोर्स सञ्चालन गर्दै आएको थिए । मेरो पनि विभिन्न साइटमा काम चलिरहेकोले साहसँग आपसी समझदारीमा करिव ३०–३२ लाखको तेलको कारोवार भएकोमा मैले बीच बीचमा रकम दिँदै आएकोमा हाल निज मनोज कुमार साहको करिव रु.२,६०,००० मैले निजलाई बुझाउनुपर्ने बाँकी रहेको थियो । 

हामीबीच कारोबार हुँदै गर्दा साहले मेरो फर्मको नामबाट नै सागरनाथ भन्ने परियोजनामा काठको लागि टेन्डर भरेकोमा सो टेन्टड उनलाई परेको थियो । सो टेन्डरको लागि मनोज कुमार साहलाई २,५०,००० नेपाल बंगलादेश बैंकबाट बैंक ग्यारेन्टी दिएको थिएँ । साहका भिनाजुको फर्मको नाउँमा सोही वन परियोजनामा रु.२,५०,००० को पनि सोही बैंकबाट ग्यारेन्टी मैले गरेको थिए । 

तर उनीहरुले मेरो बैंक ग्यारेन्टीबाट टेन्डर लिएको काठ नउठाएको कारण सो वन परियोजनाबाट काठ उठाउनको लागि पटक–पटक ताकेता हुँदै आएको थियो । करिब १ महिना अगाडि आफ्नो तेलको रकम माग्दा ‘तपाईंहरुले बन परियोजनाबाट काठ उठाउनुस्, मेरो फर्मको नाउँबाट मैले नै बैंक ग्यारेन्टी दिए पश्चात् टेन्डर पाउनुभएको हो, तपाईंहरुले काठ नउठाएमा मेरो फर्मलाई कालो सूचीमा हालिदिन्छ । तपाईहरु काठ उठाउनुहोस्, अनि म तेलको बाँकी रकम दिन्छु’ भनेको थिए । तर निजले मेरो तेलको रकम देऊ अनि मात्र काठ उठाउँछु भनेको थियो । सोही क्रममा हाम्रो लेनदेनको विषयमा हाम्रै साथीहरुसँग बसी छलफल समेत गरेको थियौँ । त्यस पश्चात् साहले मलाई पटक पटक फोन गरी पैसा मात्र माग्ने गरेको तथा धम्कीपूर्ण कुरा गर्ने गरेकोमा करिब एक महिनादेखि साहको फोन उठाउने गरेको थिइनँ । 

मिति २०७६ कात्तिक ६ गते बिहान जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित म आफ्नो अफिस भएको घरमा मेरो ड्राईभर ललित उराउसँगै बसिरहेको बेला करिव ९ः२० बजेको समयमा सोही टोल बस्ने सुशील यादवले मेरो डोरी फिर्ता गर्नको लागि बच्चा सहित मेरो घरमा आउनु भएकोमा सुशील यादवलाई चिया खान जानु भनेपछि मेरो चालकले चिया पकाइ खान दिएको र नुहाउन भनी कपडा लिई मेरो घरको कम्पाउन्डमा रहेको धारा कलमा गएको थिएँ । त्यसको केही बेरमा मनोज कुमार साह र निजको साथी अमित कुमार साह मेरो घरमा आइपुगे । मेरो रकम किन दिँदैनौ भनी मनोजले जोर जोरले बोल्न थालेपछि म धाराबाट आई कपडा लगाई बाहिर बरण्डामा सुशिल यादव बसेको खाटमा नै बसेँ । मनोज र अमित पनि बरण्डामा नै थिए । हामीबीच कुराकानी हुँदै गर्दा मनोज एक्कासी आवेशमा आई मलाई एक मुक्का मेरो आँखीभौँमा प्रहार गर्नुका साथै र झापड गालामा हानेपछि हामी दुबैबीच हात हालाहाल, कपडा समाती तानातान हुन थाल्यो । सोही क्रममा मनोजले लगाएको भेष्ट च्यातिएपछि उनले आफ्नो च्यातिएको भेष्ट मेरो बरण्डामा नै फालेको थियो । सो स्थानामा रहेका सुशील र अमितले हामीलाई छुट्याउन प्रयास गरेपनि हामी दुबै जोर लगाई एक अर्कालाई समात्न खोजिरहेका थियौँ ।  सुशीलसँगै आएको बच्चा रुन थालेकोपछि उनले मेरो बच्चा रोयो, तपाईंहरु शान्त हुनुहोस् म गएँ भन्दै बच्चालाई बोकेर मेरो घरबाट बाहिर निस्की गएकोमा सोही बखत घरभित्रबाट मेरो चालक ललित उराउपनि बाहिर निस्कियो । ललितले मनोजलाई समातेकोमा अमित साहले मलाई समाती घरभित्र रहेको गेट छेउमा नै रहेको मेरो अफिस कोठामा लग्यो । 

मेरो घरमा आएर मलाई कुट्ने म प्रहरीलाई फोन गर्छु भन्दै मैले आफ्नो मोबाइल निकाली साथी सञ्जिव कुमार अधिकारीलाई फोन गरी मनोज मेरो घरमा आई झगडा गर्दैछ भनेर बताए । बाहिरबाट मनोज कुमार साहले ढोकामा हान्दै गरेकोले म फोन काटी बाहिर प्यासेजमा आई ‘तिनीहरु मेरो घरमा आई मलाई कुट्ने, अफिसमा राखेको हतियार ल्याऊ, म यिनीहरुलाई देखाउँछु’ भनी आफ्नो चालक ललित उराउलाई भन्ना साथ उनी मेरो अफिस कोठामा राखिएको हतियार गोलीसहितको झोला निकाली ल्याई सो झोलाबाट म्यागजिनमा गोली लोड रहेको अटोमेटिक पेस्तोल निकाली ललित उराउले मेरो हातमा दिए । मैले पेस्तोल कक गरी मनोजतर्फ ताक्दा उनले गोली फायर नगर भनी मेरो हात समातेकोमा मैले अमितबाट आफ्नो हात छुटाई उक्त गोली लोड रहेको अटोमेटिक पेस्तोल मनोज कुमार साहतर्फ ताकेर एकपछि अर्को दुई राउण्ड गोली फायर गर्दा निज मनोज कुमार साहको छाती तथा कोखामा लागेकोमा सोही बखत अमित सो स्थानबाट भागेका थिए । 

त्यस पश्चात् पनि गोली लागेका मनोज मतर्फ आई मेरो हातमा रहेको पेस्तोल समात्न खोज्दा मेरो चालकले उनलाई धक्का दिएपछि मनोज मेरो घरको प्यासेजमा लडेका थिए । मैले प्रहार गरेको पेस्तोल सोही स्थानमा फालेर झोलामा बाँकी रहेको हातहतियार तथा गोलीसमेत रहेको झोला ल्याएर मनोजको च्यातिएको भेष्टमा बेरी ललितले दिई ‘तपाईं यहाँबाट जानुस्’ भनेपछि म सो हातहतियार लिई आफ्नो घरको पछाडिबाट मेरो घरको छेउमा नै रहेको सुनिता यादवको छतमा चढी र सो छतबाट छेउमा रहेको टालीरहेको घरको छानोमा ओर्ली सो छानोबाट पछाडीको बाटो हुँदै छेउमा रहेको ब्रम्हदेव यादवको घरमा पुगेँ । निजको श्रीमती र छोरी मात्र रहेकोमा मेरो घरमा गोली चल्यो । मलाई फोन दिनु भनी निज ब्रम्हदेव यादवको श्रीमतीबाट फोन मागी सुरुमा म आफ्नो हजुरवुवालाई फोन गर्दा फोन नउठेपछि मैले आफ्नो साथी प्रवीण मिश्रालाई फोन गरी प्रहरी पठाइदिनू भनी बताएकोमा म हातहितयार लिई निज ब्रम्हदेव यादवको घरमा बसिरहेकोमा करिब दश मिनेटपछि प्रहरी टोली आई सो स्थानमा बरामदी मुचुल्कामा उल्लेखित हातहतियार गोली सहित मलाई पक्राउ गरेको हो । म ठेक्का पट्टाको काम गर्ने गरेकोले आफ्नो सुरक्षाको लागि हात हतियार तथा गोली खोजिरहेको बेलामा करिव २ वर्ष अगाडी नेकपा विप्लव समूहको कार्यकर्ता माष्टर भन्ने गौरी मण्डलसँग रु. एक लाख भारुमा उल्लेखित अटोमेटिक पेस्तोल नाल–१, सोको म्यागजिन थान–२, सोमा फिट हुने गोली राउन्ड २१, कटुवा पेस्तोल नाल–१ र सोमा फिट हुने गोली राउण्ड ४ समेत दिएको थियो । सोही बखत निजले नै पेस्तोलको एउटा म्यागजिन र गोली लोड गरिदिएको थियो र गोली सहित म्यागजिन पेस्तोलमा राखिदिएको थियो । सो हातहतियारमा खरखजाना आफ्नै घर रहेको आफ्नै अफिसको र्‍याकमा राखेको थिएँ । मैले आफ्नो घरको बरण्डामा मनोजलाई गोली प्रहार गरेको कारण गोलीका खोकाहरु मेरो घरको बरण्डाको दक्षिण साइड भुइँमा खसेको थियो ।’

यसरी मौकाको बयानमा अभियुक्त पंकज चौधरीले आफूलाई कुटपीट गरेको कारण आफूले गोली चलाएको र सोही गोलीका कारण मनोजको ज्यान गएको साबिती बयान दिएका थिए । साहको सोही बयानलाई समर्थन गर्नेगरी मौकाको बयानमा सरकारी साक्षीका रुपमा राखिएका सुशील यादव, सीतादेवी यादव, प्रतीमा यादव, अमित कुमार साह, विवेक भगत, मिथिलेश साह, रामबली साह, दीप नारायण साह भन्ने दिपलाल साह समेतले पंकजको बिरुद्धमा साबिती बयान दिँदै हदैसम्मको सजायको मागदाबी लिएका थिए । 

सोही प्रकृतिको घटनास्थल मुचुल्का, साबिती बयान, साक्षीको बयान, बरामदी सामान आदिका आधारमा प्रहरीले धनुषा जिल्ला अदालतमा आजीवन कारावासको मागदाबी लिएर मुद्दा दायर गरेको थियो । त्यसलगत्तै पंकज चौधरी पुर्पक्षका लागि थुनामा पुगेका थिए । 

...त्यसपछि भए सबै साक्षी होस्टाइल

तर जब मुद्दा अदालतमा पुगेर चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाइयो, त्यसपछि सुरु भएको अदालती प्रक्रियामा सबै साक्षीहरू होस्टाइल भएका छन् । घटनास्थलमा प्रत्यक्ष रहेका सुशील यादवले मनोज नै आउँदा हरियो झोला बोकेर आएको र उक्त झोलामा अटोमेटिक पेस्तोल बोकेर आएको र पंकजलाई हान्न लाग्दा पंकजले प्रतिकार गरेको र प्रतिकारका क्रममा मनोजको ज्यान गएको बयान दिए । 

त्यसैगरी सीतादेवी र प्रतीमा यादवले पनि पंकज आफ्नो घरमा आउँदा खाली हात आएको र कुनै हातहतियार नल्याएको भन्दै अदालतमा बयान दिए । पेस्तोल किनिएको भनिएका व्यक्ति गौरी मण्डलले पनि आफूले कुनै हतियार कसैलाई नबेचेको र घटनाबारे केही थाहा नभएको बयान अदालतलाई दिए । सरकारी साक्षी रहेका अमित कुमार साह अदालतमा बयान दिनै आएनन् । अन्य सरकारी साक्षीहरू पनि अदालतमा बयान दिन आएनन् । 

यता अदालतमा बयान दिने क्रममा अभियुक्त पंकज चौधरीले आफूले गोली नहानेको, गोली मनोज आफैँले ल्याएको र आफूमाथि कुटपिट गर्दै गोली चलाउन लाग्दा हात बटारिएको र त्यही क्रममा मनोज आफैले प्रहार गरेको गोली उनीलाई लागेको बयान दिए । त्यसपछि आफू शून्य भएको र डरले सीतादेवी यादवको घरमा गएर प्रहरीलाई खबर गरेको बयान दिएका छन् । 

...जब बरामदी पेस्तोल नै परिवर्तन भयो

प्रहरीले घटनास्थलबाट पेस्तोल बरामद गर्दा अटोमेटिक पेस्तोल एक थान र नलकटुवा पेस्तोल एक थान बरामद गरेको बताएको थियो । त्यो हतियार प्रहरीकै सुरक्षामा थियो र उक्त हतियार परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको थियो । तर जब ती हतियारहरू परीक्षणका लागि काठमाडौँ पठाइयो, हतियार एकाएक परिवर्तन भयो । प्रहरीले बरामदी मुचुल्कामा राखेको भन्दा फरक पर्ने गरी एक थान अटोमेटिक पेस्तोल र एक थान नलकटुवा पेस्तोलको स्थानमा दुई थान नलकटुवा पेस्तोल परीक्षणका लागि पठाइयो । 

फैसलाको ठहर खण्डमा लेखिए अनुसार प्रहरीले बरामदी मुचुल्कामा राखेकोभन्दा फरक पेस्तोल परीक्षणका लागि पठाइएको छ । ठहर खण्डमा भनिएको छ,

‘... प्रतिवादीले मेरो हातमा पेस्तोल थिएन भनेको र पेस्तोलमा लागेको फिङ्गर प्रिन्टको ट्रिगर र प्रतिवादीको पञ्जा छाप विशेषज्ञबाट जाँच हुँदा यकिन भन्न नसकिने भन्ने जवाफ आएको देखिन्छ । बरामदी पेस्तोल प्रतिवादीको साथबाट बरामद भएको देखिँदैन भने दुईवटा बरामदी मुचुल्का भएकोमा एकवटा बरामदी मुचुल्कामा पेस्तोलमा एकवटा अमेरिकन र एकवटा नलकटुवा जाँच गर्न पठाएकोमा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालावाट दुईवटा नलकटुवा बन्दुक फिर्ता आएको पाइन्छ । अमेरिकन पेस्तोलमा ५ वटा गोली लोडेड भएकोमा २ वटा प्रहार भई ३ वटा बाँकी रहेको र नलकटुवा लोडेड देखिँदैन । मृतकलाई मार्नुपर्ने सम्मको पूर्व रिसिइवी मनसाय खुलेको देखिदैन । तत्काल आत्मरक्षाको लागि शरीर रक्षा गर्दा उल्टो पेस्तोल पड्केको भन्ने देखिन्छ ।’

यसरी फैसलामा ज्यान मार्ने उद्योग वा योजना भन्दा पनि पंकजले आफ्नो प्रतिरक्षा गर्दा मनोज कुमार साह आफैँले ल्याएको पेस्तोल पड्केर ज्यान गएको ठहर अदालतले गरेको छ । अदालतको ठहर खण्डमा अपराधको मनसाय र अपराध कार्य नमिलेको भनिएको छ । तथ्य र प्रमाण नमिलेको कारण अभियुक्तले शंकाको सुविधा पाउने अदालतको ठहर छ । फैसलामा भनिएको छ, 

‘ ...यसरी हेर्दा, इन्टेन्सन र एक्सनको मेल देखिन आएन । तसर्थ, प्रतिवादीको मौकाको साबिती अन्य प्रमाणबाट पुष्टी भएको देखिन आएन । शंकारहित स्वतन्त्र प्रमाणले कसूर प्रमाणित नहुँदा शंकाको सुविधा अभियुक्तले पाउने देखियो । जाहेरवाला र प्रत्यक्षदर्शी भनिएका मृतकसँगै जाने अमित साह पटक पटक अदालत समक्ष झिकाउँदा पनि उपस्थित भइ घटनाको बारेमा अदालतसमक्ष उपस्थित गराई वादी नेपाल सरकारले बकपत्र गराउन सकेको अवस्था देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार आफ्नो अभियुक्त कसुर प्रमाणित गर्ने भार अभियोजन पक्षमा रहन्छ । प्रस्तुत मुद्दामा जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, शारीरिक परीक्षण प्रतिवेदन, विभिन्न व्यक्तिको घटना विवरण कागजको आधारमा यी प्रतिवादी उपर प्रस्तुत अभियोग वादी पक्षले लगाएको देखियो । प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार अनुसन्धानको क्रममा तयार भएका वादीले अभियोगको आधार बनाएका प्रमाणको रुपमा पेश भएका कागजमा आफ्नो ब्यहोरा उल्लेख गर्ने व्यक्तिले सो आफ्नो मौकाको भनाईलाई अदालतमा आई बकपत्र गरी समर्थन गरेको अवस्थामा मात्रै प्रमाणमा ग्राह्य मानिन्छ । प्रतिवादीले आफूले जाहेरी लगायत अभियोग पत्रमा उल्लेख भएका प्रमाण तथा सो प्रमाणको आधारमा वादीले लगाएको अभियोग सुनेर सो अभियोगका सम्बन्धमा आफ्नो प्रतिउत्तर सरहको बयान गरेको हुन्छ । निजलाई आफूउपर जाहेरी दिने तथा आफूलाई अभियोग लगाउन आधार तयार गर्ने गरी मौकामा कागज गर्ने व्यक्तिलाई इजलासको रोहवरमा जिरह गर्ने अधिकार रहन्छ । प्रतिवादीहरु आफूले जिरह गर्न नपाएको प्रमाणको आधारमा प्रतिवादीहरुलाई दोषी ठहर गर्नु स्वच्छ सुनुवाइको सिद्धान्त विपरित हुन जान्छ ।’

फैसलाको ठहर खण्डमा बरामदी भनिएको पेस्तोल नै परिवर्तन हुनु, साक्षीहरुले बयान परिवर्तन गर्नु, हत्याको मनसाय नहुनु र आत्मरक्षाका क्रममा मनोज कुमार साहको ज्यान गएको भन्दै अभियुक्तले शंकाको सुविधा पाउँदै सजायबाट उन्मुक्ति पाउने फैसला गरिएको छ । 

ठहर खण्डमा भनिएको छ,

... तसर्थ, उपरोक्त तथ्य विश्लेषणबाट यिनै प्रतिवादीकै प्रहारबाट मृतकको मृत्यु भएको भन्न ठोस, युक्तियुक्त, भरपर्दो र स्वतन्त्र प्रमाणको अभावमा भन्न नसकिएको हुँदा वादी नेपाल सरकारको अभियोग दावी पुष्टी हुन सकेन । सरकारी फौजदारी मुद्दामा अभियोग पूर्वका कागजातहरुको अदालत समक्ष पुनः परीक्षण हुनुपर्छ । अनुसन्धानमा भएका कागजातहरु अदालतसमक्ष परीक्षण हुँदा फरक देखिएका छन् । तसर्थ, सर्वोच्च अदालतबाट प्रतिपादित नजिर ने.का.प. २०७१, अंक ९, नि.नं. ९२४३ समेतको आधारबाट अभियोग दावी नेपाल सरकारको मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१), ऐ. संहिताको दफा १३०(१) र ऐ. संहिताको दफा १३३(४) बमोजिम कसूरमा ऐ. संहिताको दफा १७७(२) ऐ. संहिताको १३०(२) र ऐ. संहिताको दफा १३३(५) बमोजिम अभियोग दाबी पुग्न नसकी प्रतिवादी मध्येका पंकज चौधरी भन्ने दामोदर प्रसाद चौधरीले सफाइ पाउने ठहर्छ ।’

यसरी धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईले ‘फौजदारी कानुन’को ब्याख्या गर्दै प्रमाण नपुगेको भनेर अभियुक्तलाई सफाइ दिएका छन् । सोही सफाइ यतिबेला विवादित बनेको छ । 

न्यायाधीश परशुराम भट्टराई फौजदारी कानुनको व्याख्यतासमेत हुन् । उनले भर्खरैमात्रै फौजदारी कानुनमा पीएचडीसमेत गरेका छन् । तर फौजदारी कानुनको ब्याख्या गर्दा उनले सामाजिक परिस्थिति, वस्तुस्थिति आदि नबुझेको र पीडित परिवारलाई थप पीडा हुनेगरी फैसला दिइएको भन्दै चर्को आलोचनासँगै उनी सर्वोच्च अदालत तानिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप