शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

हेटौँडामा गुञ्जियो जनवादी गीत, जीवन शर्माको गीतमा नाचे मुख्यमन्त्री (तस्बिरहरु)

बुधबार, २९ असार २०७९, २३ : ३७
बुधबार, २९ असार २०७९

बुधबार हेटौंडाको रोयल पार्टी प्यालेस जनवादी गीतहरूले गुञ्जायमान बन्यो । एक हिसावले त्यहाँ जनताका पीडाहरु समेटिएको गीतहरूले सबैलाई पुराना इतिहास झल्काइरहेको थियो । इतिहास नसम्झिउन् पनि कसरी ? एक इतिहास बोकेका जनवादी गायक जीवन शर्मा गुञ्जिएका थिए । बुधबार प्रगतिशिल लेखक संघ मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिकाको विषेश सहयोगमा जनवादी गायक शर्माको एकल साँझ कार्यक्रम आयोजन गरिएको थियो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता भएको सो कार्यक्रममा जनताको दुःख, पीडाका शब्दलाई संगीतवद्ध गरेर परिवर्तनका लागि गीत गाउँदै हिँड्ने जनताका गायक शर्मा पोखिएका थिए ।

चार दशकभन्दा लामो समयदेखि अनवरत रूपमा जनताका पक्षमा गीत गाउँदै आएका शर्माले हेटौँडामा पहिलो एकल गायन प्रस्तुति दिँदै आफ्ना गीतहरु प्रस्तुत गरेका थिए । 
‘तराई हाम्रो मुटु हो, पहाड हाम्रो छाती, हिमाल हाम्रो उच्च शिर संसारकै माथि । थरिथरि भेषभुषा भाषा थरिथरि, हामी सबै समान हौँ, हक बराबरी’ भन्दै स्टेज चढेका शर्माले कार्यक्रमको माहोल तताए । एउटा गीत सकिएपछि अर्को गीत सुरु गर्नु पूर्व बीचको समयमा उनी विभिन्न बहनाका गरेर दर्शकलाई हँसाउन खोज्दैथे ।

जनताको पीडाका गीत गाउने भएरै होला बुधबार करिव ६÷७ सय जना अट्ने कार्यक्रम स्थलको सो हल भरिएको थियो । उनले परदेशी फर्कि आउ तिमी बोलको गीत गाउँन सुरु गर्दा हलभित्रको माहोल नै स्तब्ध बनेको थियो । कर्णप्रिय संगीत र विदेशिनुको पीडाका शब्दहरू समेटिएको उनको गायनले माहोल नै स्तब्ध बनाएको थियो ।

उनले ‘आकाशमा बदलु छैन पानी पर्‍यो तरेली झदैन, सामन्तको नाइके छैन कसले पार्‍यो माकुरी जालैमा’ बोलको गीत गाउँदा हलभित्रका दर्शकहरुले तालीको गड्गडाहटले स्वागत गरे । दर्शकको ताली चल्दै गर्दा मुख्यमन्त्री राजेन्द्र पाण्डेले पनि ताली रोक्न सकेनन् । उनले पनि ताली बजाइरहे । त्यसपछि शर्माले ‘चाहिँदैन मलाइ सिसाको महल’ बोलको गीत सुरु गरे । सो गीत सुन्दै गर्दा भने  मुख्यमन्त्री पाण्डे मौन बसे ।

कार्यक्रममा शर्माले ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ बोलको गीत दोहोर्‍याएर गाए । उनले सो गाउँदा स्टेजमा मुख्यमन्त्री पाण्डेसहित बागमती प्रदेश सभा सदस्य, मुनु सिग्देल, माधवप्रसाद पौडेल, पार्वती सिलवाल, मीना ज्ञवाली लगायत छमछमी नाचेका थिए । 

शर्माले ‘झरनाको चिसो पानी, ‘फोकल्याण्डको टापुबाट..’ आधी रातमा हुरी चल्दा..’ लगायतका गीतहरु पनि प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप