गुरुपूर्णिमाको विशेष महत्व
भारतीय उपमहाद्वीपमा विद्यमान सनातन धर्मका जति पनि शाखाहरु छन् तिनमा हिन्दुहरुको अनेक प्रशाखाहरु, बौद्ध, जैन र शिख धर्महरु हुन् । पश्चिममा विकास भएका इसाई र इस्लाम धर्म यहुदी धर्मको पृष्ठभूमिमा विकास भएका धर्महरु हुन् । गुरुपूर्णिमा हिन्दु, बौद्ध, जैन र शिख सबैले मनाउने पर्व हो । यी धर्महरुमा गुरुको विशेष महत्व छ ।
१५ हजार वर्षपूर्व उच्च हिमाली क्षेत्रमा शिव तपस्या गरिरहनुभएको थियो । उहाँ गहन तपस्यामा लीन हुनुहुन्थ्यो । तपस्याबाट बाहिर आएपछि उहाँले आफ्नो वरिपरी आफुसँगै साधनामा बसका ७ शिष्यहरुलाई योगको अमर ज्ञान र दीक्षा दिई यो आरोग्यदायी रुपान्तरणकारी ज्ञानको विश्वभरी प्रचार गर्नका लागि सप्तऋषिहरुलाई चारै दिशामा पठाउनुभयो । यी ७ ऋषिहरुले आजैका दिन आदिगुरु शिवबाट दीक्षा प्राप्त गरेको यो पावन दिन पूर्णिमामा परेकोले यस दिनलाई गुरु पूर्णिमाको रुपमा मनाउने चलन थालियो । यी सप्तऋषिहरु दक्षिण भारत देखि म्याक्सिकोसम्म पुगी योगको प्रचार गरेका थिए । त्यहाँ पाइएका प्रमाणहरुले यो तथ्यलाई पुष्टि गरेका छन् । यसरी गुरुलाई पूजा गर्ने, अहोभाव व्यक्त गर्ने गुरु पूर्णिमा पर्व शिष्यहरुका लागि अति महत्वपूर्ण छ ।
करिब ५ हजार वर्षपूर्व पराशर ऋषि थिए । उनी महान योगी, ज्योतिषका ज्ञाता थिए । उनी भ्रमणमा रहन्थे । उनी एक पटक यमुना नदी तर्न आए । उनले सत्यवतीलाई त्यहाँ देखे । नदीको किनारमा पाइएकी मत्स्यगन्धा नामक बालिका एक मुछुआराको परिवारमा एक अपूर्व रुप र यौवनले परिपूर्ण सत्यवती नामक युवतीको रुपमा हुर्किसकेकी थिइन् । कहिलेकाही आफ्ना पिता नभएको बेला आफै यात्रुहरुलाई यमुना पार गराउन डुंगा चलाउँथिन् । त्यसदिन सत्यवतीले नै डुंगा चलाएकी थिइन् । पराशर डुंगामा बसे र सत्यवतीले उनलाई नदी पार गराउन थालिन् । सत्यवतीको अद्भूत रुप लावण्य देखेर ऋषि उनीप्रति अत्यन्त आकर्षित भए र ती स्त्रीप्रति कामभोग गर्ने इच्छा उन्पन्न भयो जुन स्वभाविक मानिने गुण हो । ऋषिले सत्यवतीलाई प्रणय निवेदन गरे । ऋषिले गरेको प्रणय निवेदन सत्यवतीले स्त्रीजन्य लज्जाले अस्वीकार गरिन् । उनले भनिन्, “डुंगामा कामसम्भोग गरेको अरुले देखेमा मेरो इज्जत बच्दैन र समाजमा बाँच्न गाह्रो हुन्छ” । ऋषिले आफ्नो योगबलले वरिपरी अन्धकार बनाइदिए र भने, “अब कसैले देख्दैन” । ऋषिले तुरुन्तै यस्तो शक्ति देखाएपछि अरु २ वरदान दिन आग्रह गरिन् । सत्यवतीको देहबाट माछाको गन्ध आउथ्यो । उनले आफ्नो देहबाट आउने माछाको गन्धलाई बन्द गरिदिन आग्रह गरिन् । त्यसलाई ऋषिले आफ्नो तपोवलले कस्तुरीको सुगन्धमा परिणत गरिदिए । तेस्रो सत्यवतीले मागेको वरदान यो प्रणय सम्बन्धबाट जन्मेको सन्तान विश्वविख्यात ऋषि होस् भन्ने थियो जुन ऋषिले “अवश्य” भनी मानिदिए । ऋषिले यी सबै सर्तहरु पुरा गरिदिए । पराशर ऋषि र सत्यवतिबाट एक महान आत्मज्ञानी व्यास ऋषिको जन्म भयो । यी महान ऋषिको जन्म असार पूर्णिमा कै दिन भएकोले असार पूर्णिमालाई गुरुपूर्णिमाको रुपमा मनाउने चलन चल्यो । यिनै व्यासले वेद लेखे । उपनिषद, योग, ब्रह्मसुत्र र महाभारता जस्ता कालजयी धार्मिक शास्त्रको विपुल भण्डारको रचना गरे ।
त्यस्तै बौद्ध धर्ममा असार पूर्णिमाको उत्तिकै महत्व छ । बुद्धले ६ वर्षको कठीन तपस्याबाट निर्वाण प्राप्त गरे । भोजनको त्याग र कसैको संसर्गमा नआउने अठोट लिएर शरीरलाई जर्जर बनाउँदा कमजोर भई सानो निरञ्जना नदीले बगाएपछि सिद्धार्थले आफ्नो साधना पथलाई सम्यक बनाए । जति गर्नु थियो त्यो सबै गरेर सिद्धार्थ थाकिसकेका थिए । बेलुका सुजाता नाम गरेकी स्त्रीले दिएको खीर खाएपछि पूर्ण विश्रान्तिको अवस्थामा उनी सबै कामना मुक्त भए । विहानको मिर्मिरेमा उनले बोधिज्ञान प्राप्त गरे र बुद्ध भए । तर उनीसँगै साधना गरेका अरु पाँच साधक जसलाई पञ्चभद्र भनिन्छ, ले रात्रि भोजन ग्रहण गरेको र राति युवतीसँग वार्ता गरेकोले सिद्धार्थ साधना मार्गबाट च्युत भएको निष्कर्ष निकाली सिद्धार्थ निर्वाण हुने रात उनलाई छोडेर गए । निर्वाण प्राप्त भएपछि ७ हप्तासम्म बुद्ध मौन रहे । मौनको गहिरो प्रतीतिमा उनलाई बोल्ने कुनै इच्छा थिएन । देवताहरुले “तिम्रो जस्तो चेतना यो पृथ्वीमा विरलै हुन्छ । तिमीमा गहन शान्ति र असीम करुणा छ । तिमीले दुःखको भवचक्रमा फसेकाहरुलाई मद्दत गर्नुपर्छ” भनेर बुद्धलाई शिक्षा दीक्षा दिन मनाउने प्रयास गरे । बुद्धले “जागरणको इच्छा भएका सच्चा साधकले आफ्नो मार्ग खोजिहाल्छन्, जागरणको इच्छा नभएकाहरुले मार्ग खोज्दैनन् । मैले बोलेपनि नबोलेपनि केही फरक पर्दैन” भनी तर्क गरे । देउताहरूले पुन बुद्धलाई भने “हो तिनलाई केही फरक पर्दैन तर बीचमा सानो संख्यामा यस्ता व्यक्तिहरु छन् जसले उचित बाटो पाएभने जागरणको मार्गमा लाग्नेछन्” भनी बुद्धलाई राजी गराए ।
बुद्धलाई आफुलाई छोडेर गएका पञ्चभन्द्रको याद आयो र ध्यानदृष्टिले उनीहरु सारनाथमा भएको कुरा देखे । उनले सारनाममा पुगी पञ्चभद्रलाई दुःख, दुःख मुक्ति, उपाय र दुःख मुक्तिको स्थितिको बारेमा चार आर्यसत्यको ज्ञान दिए । बुद्धको पहिलो धर्मचक्र प्रवर्तन यसलाई मानिन्छ । असार पूर्णिमाकै दिन सारनाथमा बुद्धले पञ्चभद्रलाई चार आर्यसत्यको उपदेश र दीक्षा दिई भिक्षु संघको स्थापना गरे । यसै महान दिनलाई बौद्धहरु विशेष श्रद्धाका साथ मनाउँछन् ।
जैन धर्म तीर्थंकर महावीरले यसै दिन गान्धारबाट आएका गौतम स्वामीलाई आफ्नो प्रथम शिष्य बनाएका थिए । गुरुका रुपमा दीक्षा दिएको यो दिन जैनहरुका लागि विशेष महत्वको छ ।
भक्ति आन्दोलन भारतमा १४ देखि १६ औ शताब्दीमा शिखरमा पुगेको थियो । समाजका अनेक जातजाति र तप्काहरुबाट आएका भक्तिका गुरुहरुले यो पर्वलाई साधारण जनसम्म पु-याए र अझ महत्वपूर्ण र सार्वभौम बनाए ।
हिन्दुहरुका चार वर्ण छन् । ब्राह्मणहरुको मुख्य चाड जनैपूर्णिमा हो । क्षत्रीहरुको दशैं, वैश्यहरुको तिहार र शुद्रहरुको चाड होली मानिन्छ । गुरु थापेका साधक र संन्यासीहरुले यो दिनलाई विशेष पर्वका रुपमा मनाउँछन् ।
गुरु नानकले भन्नुभयो – ने गुरुए का दर्शन बुरा । जसको गुरु छैन उसको बिहानै दर्शन भयो भने दिनै बिग्रिन्छ । मनुष्यको अहंकाररुपी रोग सार्वभौम हो । व्यक्तिको अहंकारले के भन्छ भने ऊ जतिको जान्ने बुझ्ने कोही छैन र ऊ सबैलाई सिकाउन तत्पर हुन्छ तर आफु सिक्न तयार हुँदैन । त्यसकारण गुरुले शिष्यको अहंकारलाई विसर्जन गर्ने हर उपाय गर्छ । मनुष्यको अहंकार विसर्जनको लागि गुरु एक महान औषधी हुन् । गुरु थापेको व्यक्तिले कमसेकम एक व्यक्तिलाई आफूभन्दा माथि राख्छ र उसको कुरा सुनेर आफूलाई सुधार गर्ने प्रयास गर्छ । गुरु नहुनेहरुको बुद्धिले ठूलो उपद्रव, विनाश र युद्ध ल्याउन सक्छ । त्यसकारण हिन्दुहरुको परम्परा थियो – परेको बेला उचित सल्लाह लिन खाली खुट्टा वनमा पुगी ऋषि कुटीमा पुग्थे र विनम्र भएर ऋषिका सल्लाह सुन्थे । त्यसकारण गुरु पूर्णिमाको यो पूनित पर्वमा आफ्नो गुरुप्रति श्रद्दा निवेदन गर्ने र आफ्ना कमीकमजोरी विसर्जन गर्ने दिन हो । आज यस पावन दिन बडो उत्साह, ध्यान र नृत्यका सा सबै गुरुहरूलाई सम्झेर गुरु पूर्णिमा मनाइयो ।