बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नागरिकता विद्येयक पास भए ९ लाखले नयाँ नागरिकता पाउँछन् : उपेन्द्र यादव

बुधबार, २९ असार २०७९, २१ : ०२
बुधबार, २९ असार २०७९

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संसदबाट नयाँ नागरिकता विद्येयक पास भए मधेशमा ९ लाखले नयाँ नागरिकता पाउने बताएका छन् । वीरगञ्जमा आजदेखि शुरु भएको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले नागरिकता सम्बन्धि नयाँ विद्येयक संसदबाट पारित गर्न लागिपरेको जनाएका छन् । ‘संसदबाट नयाँ नागरिकता विद्येयक पारित भए ८÷९ लाख व्यक्तिहरुले नागरिकता पाउनेछन्, जस्मा ठुलो संख्या जन्मसिद्ध नागरिकता रहेका छन्’ अध्यक्ष यादवले भने । 

आजदेखि शुरु भएको पार्टीको केन्द्रिय समिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपाका अध्यक्ष यादवले पार्टीको संसदीय दल ,कार्यकारीणी समिति र केन्द्रिय समिति सबैमा आफनो बहुमत भएको जिकिर गरेका छन् । ‘काठमाडौमा डाक्टर साबले बोलाएको बैठकमा दुई जना मात्र सांसद, ६ जना कार्यकारणी सदस्य र २/३ जना  केन्द्रिय सदस्य सहभागी भएको देखियो, अब डाक्टर साबले के गर्नु हुन्छ ? कता जानु हुन्छ ? मलाइ थाह छैन’ यादवले भने ।

बहुल राष्ट्रवाद र क्षेत्रीयताका विरोधी डाक्टर भट्टरार्ईले मधेसी र जनजातिलाई क्षेत्रीयता र जातिवादको मात्रै कुरा गर्ने समुदाय भनेर आरोप लगाएको र आफूमाथि राष्ट्रवादी भएको डम्फु बजाउने गरेको यादवले टिप्पणी गरेका छन् । ‘डाक्टर साबको मानसिकता नै गडबड भएको छ , झुठ बोल्ने उनको बानी माओवादीमा छँदा देखिकै हो’ भट्टराईमाथि खनिँदै यादवले भने । 

जसपालाई फुटाउन भट्टराइले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली, नेकपा एसका अध्यक्ष माधव नेपाल र देश बाहिरको शक्ति केन्द्रलाई भेटेर गुहार्दा पनि कुनै उपाय नलागेपछि अहिले विधान विपरित काठमाडौंमा छुट्टै गुटको बैठक गरेको यादवले बताए । ‘म विरुद्ध डाक्टर साबले हस्ताक्षर अभियान त चलाए तर उक्त हस्ताक्षर लिएर मकहाँ आउँदै आएनन्, यदि बहुमतको हस्ताक्षर लिएर आएको भए म अध्यक्ष छाडिहाल्थे नि’ उनले भने । 

वीरगञ्जमा आजदेखि शुरु भएको बैठकमा ४ जना मन्त्री र ३२ मध्ये २६ जना केन्द्रिय कार्यकारिणी सदस्य र ४९९ केन्द्रिय सदस्यमध्ये २८० भन्दा बढि सहभागी भएको यादव पक्षले दावी गर्दै काठमाडौमा भट्टराई पक्षको बैठक अवैधानिक भएको आरोप लगाएको छ । केन्द्रिय समितिको बैठक भोलिसम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप