शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टीविरुद्ध नबोल्न नेता कार्यकर्तालाई राप्रपाको कडा निर्देशन

बुधबार, २९ असार २०७९, १९ : ५८
बुधबार, २९ असार २०७९

राप्रपाले पार्टीको हित विपरीत एवं नेतृत्व पंक्तिको मानमर्दन हुने गरी कुनै किसिमको गतिविधि र सामाजिक सञ्जालमा जथाभावी प्रचार नगर्न नगराउन नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।  पार्टीभित्र विवाद बढ्दै गएपछि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

‘पार्टीको हित विपरीत एवं नेतृत्व पंक्तिको मानमर्दन हुने गरि कुनै किसिमको गतिविधि र सामाजिक सञ्जालमा जथाभावी प्रचार नगर्न नगराउन पार्टीका सबै तहलाई बैठकले आग्रह गरेको छ । यस्तो गतिविधिमा संलग्न भएको पाइएमा कडा कारवाही गर्ने निर्णय गरिएको छ’, प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, पदाधिकारीहरु, कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकले राप्रपाको बृहत्तर हित र एकतामा आँच आउने गरि केही व्यक्तिले पार्टीको नाम दुरुपयोग गर्दै भेला, छलफल र बैठक गरेको विषयलाई पार्टीले गम्भीर रुपमा लिएको श्रेष्ठले जानकारी दिए । पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने कार्यमा संलग्न भएकालाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको पनि उनले बताए । 

पार्टीको केन्द्रीय सचिवालयले उक्त गतिविधिमा संलग्न भएकाहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठलाई आज नै स्पष्टीकरण सोध्ने निर्णय गरेको उनको भनाइ छ ।  राप्रपाले पार्टीको नेतृत्व पंक्ति पूर्ण रुपले एकताबद्ध रहेको पनि स्पष्ट पारेको छ । असार २६ गते राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सम्बद्ध महिलाहरूका बीच उत्पन्न विवाद र उक्त विवादमा पार्टीका महामन्त्रीद्वय कुन्तिकुमारी शाही र राजेन्द्र गुरुङ समेतको नाम जोडिएको भन्दै बैठकले ध्यानाकर्षण भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप