आखिर काँग्रेसभित्र नेविसंघको आवश्यक नभएकै हो त ?
लामो समयदेखि काँग्रेसका १० भातृसंगठन नेतृत्वविहीन वा जाम भएर खिया लागेर बसेका छन् । पार्टीभित्र लामो समयदेखि भातृसंगठनको पुनर्जीवनको बिषयमा कुरा उठेको छ । तर युवा नेतृत्व उच्च तहमा आए भने आफ्नो राजनीतिक स्थान धरापमा पर्न सक्ने भनी बारम्बार एउटै व्यक्तिलाई एउटै पदमा राख्ने र काम नगर्ने चलन पार्टीमा पहिलेबाट चलिआएको छ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनपछि काँग्रेसले सम्पूर्ण भातृसंगठन संघठनलाई खारेज गरी ६ महिनाभित्र गर्नुपर्ने प्रावधान भएता पनि ८/९ महिना बित्दा पनि कुवाको भ्यागुता कुवामा झैं छ । स्थानीय निकायको निर्वाचन सकिएर प्रदेश तथा संघीय निर्वाचन नजिकिँदै छ । यस्तोमा काँग्रेसको तल्लो तहमा अग्रणी भूमिका भातृसंगठनहरुको रहेको जगजाहेर छ । १० वटा भातृसंगठनको कार्यबिस्तार फागुन महिनाभित्र गर्ने भनेता पनि ४ महिना बित्दा नेताहरु आफू उम्किन नेविसंघ र तरुण दलको टाउको मात्र ल्याई शरीर र पुच्छर टाँस्न सकेका छैनन् ।
काँग्रेस भातृसंगठनहरुको हरेक दुई वर्षमा अधिवेशन गर्नुपर्ने व्यवस्था विधानमा छ । यी ५१ वर्षमा नेविसंघका २६ वटा अधिवेशन सम्पन्न भइसक्नुपर्ने थियो । तर नेविसंघले १२औं अधिवेशन समेत अझै गर्न सकेको छैन ।
नेपाल विद्यार्थी संघको स्थापना २०२७ वैशाख ७ मा भएको थियो । २४ वर्षको उमेरमा विपिन कोइराला यसका अध्यक्ष भएका थिए । नेविसंघ हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन हो । यो नेता उत्पादन गर्ने कारखाना हो । विडम्वना लामो समयदेखि विभिन्न क्याम्पस, स्थानीय निकाय, क्षेत्र, प्रदेश र केन्द्रमा गुट उपगुटले गर्दा अभिभावकविहीन अवस्थामा छ ।
काँग्रेसको नेता उत्पादनको थलो भनेर चिनिने नेपाल नेविसंघ उच्च नेतृत्व तहको लापरवाही तथा उच्च राजनीतिक नेतृत्वको गुटको झगडाको चपेटामा परेका कारण तथा विद्यार्थीको हक, हित र अधिकार प्राप्तिका लागि अग्रणी भूमिका खेल्ने नेविसंघको स्थिति नाजुक अवस्थामा छ ।
नेविसंघबाट राजनीति गरेर १४ औँ महाधिवेशनमा निर्वाचित सभापति एवम् सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवा २७ वर्षको उमेरमा नेविसंघको सभापति बन्नुभएको थियो । त्यसै गरी उपसभापति धनराज गुरुङ ३२ वर्ष, महामन्त्रीहरु विश्व प्रकाश शर्मा, गगन कुमार थापा लगायत सहमहामन्त्रीहरु तथा धेरैजसो केन्द्रीय समितिमा रहेका नेताहरु २६/२७ वर्षमा नै नेविसंघको प्रमुख पदाधिकारी रहे । उहाँहरु आज पार्टी नेतृत्व तहमा पुग्दै गर्दा नेविसंघको बिषयमा गहिरो ढंगले सोच्न जरुरी छ ।
पहिला अरुलाई दोष लगाएर उम्किने नेताहरु अहिले पधाधिकारी र केन्द्रीय कार्यसमितिमा पुग्नुभएको छ, अब अरुलाई दोष दिएर पुग्दैन । पार्टीको विधानभन्दा माथि कोही पनि नहुने हुँदा विधानलाई टेकेर नेविसंघसहित अन्य भातृसंगठन तुरुन्त पूर्णता दिनु आवश्यक छ ।
११ औँ महाधिवेशनबाट नेविसंघको अध्यक्ष भएका नैन सिंह महरको विधानले प्रष्ट भनेको छ कि १२ औँ महाधिवेशनमा ६ महिना भित्रबाट ३२ वर्ष मुनिको उमेरको मात्र नेविसंघको सदस्य हुनेछन् । १२ औँ महाधिवेशन गराउने भनेर २०७७ सालमा ३२ मुनिकोले महाधिवेशन गर्न सक्दैनन् भनी विधानलाई मिचेर ४६ वर्षीय राजीव ढुंगानाको अध्यक्षतामा ६ महिनाभित्र महाधिवेशन गराउने भनेर पधाधिकारी सहितको कमिटी आयो । तर एक वर्ष बित्यो, यसले केही माखो मार्न सकेन र धमिरा लागेर गयो ।
२०७८ चैत्रमा पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघलाई पूर्णता दिने भनि दुजाङ्ग शेर्पालाई अध्यक्ष ल्याए । तर तीन महिना बित्दा पनि नेविसंघको अपूर्णता जहाँको त्यही छ । यसरी लोकतन्त्रको फरक अभ्यास टिकेतन्त्रमा नेविसंघ पनि डुबेको छ । विद्यार्थीको अधिकारको लागि लड्ने नेविसंघ विद्यार्थी नेता नभएर नेताको चाकरी गर्ने अवस्था आज सिर्जना भएको छ ।
सभामा बोल्न नजान्ने, ५/१० वर्ष पहिले नै विद्यालय छोडेका, शिक्षालाई व्यापारीकरण गर्न लागेकाहरु आज नेविसंघका नेता छन् । त्यसैले, नेविसंघको मूल पहिचान विद्यार्थी संगठन हो या होइन भन्ने विषयमा शंका उत्पन्न हुन थालेको छ । नेविसंघका तरुणहरु सामुन्ने उभिएको प्रमुख चुनौती भनेकै ‘जय नेपाल दाजु’ भनेर साखुल्ले बन्दै पदीय हैसियत बढाउने कि, आफ्नो विवेकको वैचारिक अभ्यास गरेर वैकल्पिक नेतामा आफूलाई विकास गर्ने भन्ने हो ।
संगठनको सन्देशलाई व्यावहारीकरण गर्ने त कार्यकर्ताले नै हो, स्थानीय संगठनहरुले नै हो । कार्यकर्ताको आचरणले नै कुनै पनि पार्टी वा समूह जनस्तरमा भिन्न हुन्छन् । हरेक पार्टीका सङ्गठन शैली, आचार, विचार र व्यवहार एकै प्रकारको नेपाली पाराकै छ । निर्णय प्रक्रिया पनि एउटै तरिकाले हुन्छ । यसबाट काँग्रेस पनि अछुतो रहेन, जसको मारमा नेविसंघलगायत भातृसंगठन परेका छन् ।
पहिला गुट, उपगुटका अँध्यारो कोठामा बैठक हुन्छ । त्यहाँ रस्साकसी हुन्छ । तब पार्टी सिन्डिकेट बैठक बस्छ । त्यहाँ शक्ति, सुविधा र अवसरको मोलमोलाई हुन्छ । अनि शक्तिको पाइन, तर्क र तथ्य अगाडि सार्दै मोलतोल भएर गुटहरुबीच एउटा सम्झौतामा पुगिन्छ । त्यसलाई विधिसम्मत लोकाचार पुर्याउन कानुनी जामा लगाइएर ‘पार्टी मिटिङ’ भन्दै प्रस्ताव पेस हुन्छ । प्राविधिक नेतृत्वका हैसियतमात्र बनेका ठप्पाजनले त्यसमा ल्याप्चे लगाउँछ । तर्क गर्ने या त उनीहरुसँग हैसियत हुँदैन या विवेक बन्धकी राखेर अनुमोदनकर्ता मात्र बन्छन् । अनि त्यसलाई ‘पार्टी निर्णय’ भनेर कार्यकर्ता र जनतालाई तामेली गर्ने हुकुम हुन्छ । यसरी नेपाली प्रजातान्त्रिक, समाजवादी, लोकतान्त्रिक र जनवादी तौरतरिका आफ्नै काइदाको अभ्यास हरेक पार्टीमा भइरहेको छ ।
काँग्रेस, एमालेका सङ्गठनको आफ्नै हविगत छन् भने मधेसकेन्द्रीत दलहरूको पार्टी गठन, फुट र नयाँ सिर्जना र बैठकको आफ्नै संस्कृति छँदैछ । युद्धबाट आएको, नेतृत्व चेन अफ कमान्ड र जनवादी केन्द्रीयता भन्ने माओवादी घटक पनि सोही अवस्थाबाट गुज्रिरहेका वा अस्तव्यस्त नै छ । सिद्धान्तका ओठे रटानभन्दा आचार, विचार र व्यवहारको कुन अर्थमा भिन्न छौँ भनेर आदर्शको दावी गर्ने हैसियतमा पार्टीहरु देखिएका छैनन् ।
पार्टीहरुलाई लोकतन्त्रको गुणगान गाउँदा अब अप्ठ्यारो पर्न सक्छ । नौ वर्षसम्म महाधिवेशन नगर्ने कस्तो लोकतन्त्र हो ? नेपाल विद्यार्थी संघ आज विद्यार्थीभन्दा पनि कलेज छोडेका युवाको संगठनमा परिणत भएको छ । नौ वर्षसम्म महाधिवेशन नहुँदा नेतृत्वमा आठ वर्ष पहिलेकै विद्यार्थी नेताहरु छन् ।
नेविसंघभित्र रही काम गरी आज पार्टीका उच्च पदमा रहेका आदरणीय अग्रज नेताहरू तथा दाईहरुलाई आग्रह गर्न चाहन्छु कि तपाईं साँच्चै विद्यार्थी आन्दोलनका पक्षमा हुनुहुन्छ भने आफ्नो समर्थनमा अहिलेका विद्यार्थीलाई नेतृत्व गर्न सहयोग गर्नुहोस् । केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनु नै विद्यार्थी आन्दोलन र नेविसंघको भविष्य निहित हुनेछ ।
नेपाली काँग्रेसको आयु बढाउन तथा इतिहास कायम राख्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले तुरुन्त पार्टीको नर्सरी नेपाल विद्यार्थी संघजस्ता भातृसंगठनको तुरुन्त देशभरिका क्याम्पस, वडा, नगर, क्षेत्र, प्रदेश र केन्द्रमा बिस्तार गर्न आवश्यक मात्र हैन, अपरिहार्य छ । यसमा नै नेपाली काँग्रेस, लोकतन्त्र र विद्यार्थी आन्दोलनको भविष्य देखिन्छ ।
लेखक नेपाली विद्यार्थी संघ, रामपुर कृषि क्याम्पसका सचिव हुन्