राजदूतहरुले निर्यात प्रबर्द्धन र लगानी भित्र्याउन पहल गर्नुपर्छः उद्योगमन्त्री बडू
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालका राजदूतहरु निर्यात प्रबर्द्धनमा भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल निर्यात व्यवसायी महासंघले आज आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बडूले नेपालका राजदूतहरुले विदेशमा निर्यात बढाउन प्रत्यक्ष भूमिका खेल्नुपर्ने बताएका हुन् ।
महासंघले विभिन्न २० वटा देशका लागि नवनियुक्त राजदूतहरूसँग नेपालको निर्यात बढाउने विषयमा आज अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा बोल्दै मन्त्री बडूले भने, ‘राजदूतज्यूहरूले नेपालको निर्यातलाई प्रबद्र्धन गर्ने र विदेशी लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’ नेपाल सरकारले विभिन्न देशका लागि नियुक्त गरेका राजदूतहरु यी काममा सफल बन्नुपर्ने मन्त्री बडूको भनाइ छ ।
‘सरकारले नीति तथा कार्यक्रममार्फत आयात न्यूनीकरण गर्दै व्यापारघाटा घटाउने र निर्यात बढाउने लक्ष्य लिएको छ,’ उनले भने, ‘यसका लागि केही नीति परिवर्तन गरिएको छ । राष्ट्रिय उत्पादन बढाउने र विशेषरूपमा अभियानकारूपमा दशकव्यापी अभियान सुरू गरिएको छ ।’ यो अभियान सफल पार्न सकेमा आयात घटाएर व्यापार घाटा न्यूनीकरण गर्न सकिने मन्त्री बडूले बताए । यसका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ ।
निजी क्षेत्रले पनि आफ्नो उत्पादन बढाउने गरी नेपाली वस्तुको उत्पादन र उपभोग बढाउने अभियान अघि बढाएको मन्त्री बडूले बताए । ‘निर्यात बढाउनका लागि आवश्यक कार्यविधि बनाएर अघि बढ्छौं,’ उनले भने, ‘कृषि व्यवसाय अहिले हाम्रो प्राथमिक्ताको क्षेत्रमा परेको छ । यसको उत्पादन र उत्पादकत्व बढाउनुपर्छ ।’ यसैगरी, राजदूतहरूले नेपालमा विदेशी लगानी भित्र्याउन सकेमा जलविद्युत र पर्यटन क्षेत्र पनि प्राथमिकतामा राख्नुपर्ने मन्त्रीको भनाइ छ ।
सरकारले उद्योग र उत्पादन बढाउनका लागि जुत्ता र सिमेन्ट लगायतका वस्तुको निर्यातमा ८ प्रतिशत अनुदान दिने व्यवस्था बजेटमार्फत गरेको छ । यसैगरी, वार्षिक १० करोड रुपैयाँसम्म विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने व्यवस्था ल्याइएको छ । यसक्रममा नेपालमा लगानीको वातावरण र नीति गत सुधार गर्न आवश्यक परेमा हामी निजी क्षेत्रसँग बसेर थप योजना बनाउन सकिने उनले बताए ।
यसैगरी, पूर्व मूख्य सचिव लीलामणि पौडेलले राजदूतावासमा जनशक्ति अभावका कारणले राजदूतहरुले नेपालको निर्यात वृद्धिमा समय दिन नसक्ने बताए । पूर्व राजदूत समेत रहेका उनले गल्फ मुलुकका राजदूतले विशेषगरी निर्यात प्रबद्र्धनमा भूमिका खेल्न नसक्ने बताए । थोरै जनशक्ति हुनु र धेरै कामको बोझ हुँदा नेपालको निर्यात वृद्धि र व्यापार घाटा न्यूनीकरणमा उनीहरूको जोड नपुग्ने पौडेलको भनाइ छ ।
निर्यात व्यवसायी महासंघका अध्यक्ष रामबहादुर गुरुङले नेपालका राजदूतहरूले निर्यात प्रबद्र्धनमा भूमिका खेल्नुपर्ने बताए । उनले विदेशमा जाने राजदूतले नेपालका विशेष उत्पादनबारे प्रचार प्रसार गर्नुपर्ने र यसको निर्यात प्रबर्द्धनमा जोड दिनुपर्ने बताए । ‘राजदूतावासहरूले नेपालको पहिचान बोकेका र हस्तकला तथा अन्य विभिन्न प्रकारका वस्तुको निर्यातमा भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘ती देशमा पुगेर नेपालमा उत्पादन हुने वस्तुको प्रचारप्रसार गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी