शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका दुई गुटको बैठक दुईतिर : बाबुरामलाई पार्टी पुनर्गठन गर्न सुझाव

बुधबार, २९ असार २०७९, १४ : ४२
बुधबार, २९ असार २०७९

फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा) को दुई गुटको बैठक दुईतिर चलिरहेको छ । डा बाबुराम भट्टराई पक्षको काठमाडौँको जडिबुटी र उपेन्द्र यादव पक्षको मधेश प्रदेशको वीरगञ्जमा बैठक चलिरहेको हो । 
जसपा भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक हिजोदेखि काठमाडौँमा चलिरहेको हो भने यादव पक्षको केन्द्रीय समितिको बैठक वीरगञ्जमा आजदेखि सुरु भएको हो । 

भट्टराईले हिजो जडिबुटीमा सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आजबाट छलफल सुरु भएको छ । राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि हिजो ११ वटा समूह बनाइएको थियो । सो समूहमा छलफल भइसकेपछि आज ती समूहका लिडरले राजनीतिक प्रतिवेदनमाथि आआफ्नो धारणा राखिरहेका छन् । हालसम्म पाँचवटा समूहबाट राजनीतिक प्रतिवेदनबारे धारणा आइसकेको एक नेताले जानकारी दिए ।  

आफ्नो कुरा राख्ने क्रममा अधिकांश नेताले जसपा नेपाल पुनर्गठन हुनुपर्नेमा जोड दिएका छन् । पार्टीलाई समावेशी बनाउनका लागि पुनर्गठन नै गर्नुपर्ने कुरामा जोड दिएको बैठकमा सहभागी जसपाका नेता दीपक महतोले बताए । जसपामा देखिएको अहिलेको विवाद समावेशी र नेतृत्वको भएको भन्दै उनले त्यसका लागि पार्टीलाई पुनर्गठन नगरे त्यहाँ काम गर्न गाह्रो हुने अधिकांशको धारणा रहेको जानकारी दिए ।  

यादवले जसपा एकलौटी चलाउन खोजेका निष्कर्षका साथ पार्टी विभाजन गर्नुभन्दा पनि सोही पार्टीलाई पुनर्गठनका लागि प्रयास गर्नुपर्ने सुझाव दिएको नेता महतोले बताए ।  हिजो उद्घाटन सत्रमा पनि अध्यक्ष भट्टराईले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका थिए ।  त्यसका लागि यादव सुध्रिएर आउनुपर्ने उनको धारणा थियो ।  उनले जसपालाई एकीकृत राख्नका लागि छलफल गर्न उनले उपेन्द्र यादवलाई आह्वान गरेका थिए । कार्यकारिणी सदस्य महिन्द्र राय यादवले पनि पार्टी विभाजन नभई एकताका लागि बैठक बसेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप