शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कर्णालीका स्थानीय तहले करारका कर्मचारी धमाधम हटाउँदै

बुधबार, २९ असार २०७९, १४ : ३७
बुधबार, २९ असार २०७९

कर्णाली प्रदेशका स्थानीय तहले धमाधम करारका कर्मचारी हटाउन थालेका छन् । दैलेखको ठाँटीकाँध गाउँपालिकाले मंगलबार करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयसहित सूचना जारी गरेको छ । यसअघि कालिकोटको शुभकालिका गाउँपालिकाले साउन ४ देखि करारका कर्मचारीको सम्झौता नवीकरण नहुने सूचना जारी गरेको थियो । स्थानीय तहको कार्यालय, अस्पताल तथा विद्यालयमा कार्यरत करारका कर्मचारीको करार सम्झौता नवीकरण नहुने सो पालिकाले जनाएको हो ।

ठाटीकाँध गाउँपालिकाले भने पोषण शाखादेखि प्राविधिक शाखाका करार कर्मचारीलाई हाजिर नहुन सूचना नै जारी गरेको छ । शुभकालिका र ठाटीकाँध मात्र होइन, कर्णालीका अन्य पालिकाले पनि धमाधम करार कर्मचारीलाई हटाउन थालेका छन् । वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आन्तरिक आयस्रोतबाट तलब भत्ता खाने गरी राखिएका कर्मचारीले पालिकाको आर्थिक व्ययभार बढाएको भन्दै हटाउन थालेका हुन् ।
ठाटीकाँध गाउँपालिकाले पहिलो चरणमा ७ जना कर्मचारीलाई हटाउने बताएको छ । पालिकाका अध्यक्ष रक्षबहादुर शाहीले कामभन्दा पनि राजनीतिमा बढ्ता संलग्न हुने गरेका त्यस्ता कर्मचारीले पालिकामा आर्थिक भार थोपरेको बताए ।

उनले भने, ‘हामीले पहिलो चरणका ७ जनालाई हटाउने निर्णय गरेका छौं । पछि अन्य कर्मचारीलाई पनि हटाउँदै जानेछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप