शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

पदक बाँड्दै प्रदेश सरकार

बुधबार, २९ असार २०७९, १४ : १८
बुधबार, २९ असार २०७९

बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ट योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पदक वितरण गर्ने भएको छ । संघीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि विभिन्न विधामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान तथा पदक वितरण गर्ने तयारी गरेको हो ।

प्रदेश सरकारले असार ३० गते एक समारोहको आयोजना गरि पदक वितरण गर्न तयारी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाको प्राङ्गणमा सो दिउँसो १ बजे सो समारोह हुने जनाइएको छ । सरकारले विभिन्न २२ वटा विधामा पदक वितरण गर्न लागेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार ३० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पदक वितरण गर्ने कार्यक्रम तय भएको छ । उक्त निर्णयअनुसार व्यक्ति तथा संघसंस्थालाई पदक वितरण गर्न लागिएको हो ।

प्रदेश सरकारले आन्तरिक मामिला मन्त्रालयको सिफारिसमा गणतन्त्र दिवसका दिन पदक तथा सम्मान प्राप्त गर्नेको नामावली घोषणा गरेको थियो । प्रदेश सरकारले गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सो पदकहरु वितरण गर्ने योजना बनाएको भएपनि समयमा तयारी पूरा नभएकाले रोकिएको थियो ।

गणतन्त्र दिवसको अवसरमा पदक प्राप्त गर्ने व्यक्तिहरुको नामावली भने सार्वजनिक गरिएको थियो । पदक प्राप्त गर्ने व्यक्तिको छनौटका लागि प्रदेश सरकारले छुट्टै समिति नै खडा गरेको थियो । उक्त समितिले विभिन्न बिद्यामा योगदान पुर्‍याएको व्यक्तिहरुको अध्ययन गरेर नामावली तयार गरेको दाबी गरिएको छ ।

प्रदेश सरकारले वितरण गर्ने पदको नामावली सार्वजनिक भए लगत्तै विवाद सुरु भएको थियो ।  समितिले पर्याप्त अध्ययनबिनै पहुँचको आधारमा प्रदेशले विभिन्न क्षेत्रका व्यक्तित्व र संघसंस्थालाई विभूषित गर्ने घोषणा गरिएको भन्दै सरकारको यस निर्णयको सांसदहरुले समेत आलोचना गरेका थिए ।

प्रदेश सरकारले मकवानपुर जिल्ला आसपासका व्यक्ति र संस्थालाई मात्रै मध्यनजर गरी विभूषण घोषणा गरेपछि पहिलो पटक नै सरकारको निर्णय विवादित भएको थियो । प्रदेश सरकारले केही विशिष्टबाहेक अन्य व्यक्तिलाई पहुँचको आधारमा विभूषण वितरण भएको भन्दै टिका टिप्पणी भइरहेको छ ।

प्रदेश सरकारले वितरण गर्ने पदकहरू प्रदेश मातहतकै घरेलु तथा साना उद्योग कार्यालयहरूले तयार गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको छ ।

यस्तो छ पदक पाउनेहरूको नामावली

प्रदेश सरकारले नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुइत र राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनसहित विभिन्न क्षेत्रका ३७ जना व्यक्तिलाई पदक वितरण गर्ने तयारी गरेको छ । त्यस्तै सरकारले व्यक्तिसँगै विभिन्न संस्थालाई पनि पदक वितरणको तयारी गरेको छ । सरकारले प्रदेशका विभिन्न ७ वटा संस्थालाई सम्मान तथा पदक प्रदान गर्ने भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रशासन तथा योजना शाखाका अधिकृत पेशलकुमार पोखरेलका अनुसार प्रदेश सरकारले २२ वटा खण्डमा विभिन्न पदकसहित सम्मान गरिने जनाएको छ ।

प्रदेश परोपकार सम्मानबाट डा. रुइत, सैनिक विरगति परिवार (एकल महिला समूह शसत्तिकरण) रिता कार्की, समाजसेवी राजकुमार ठकुरी, अर्थविद डा. चन्द्रमणि अधिकारी, पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे, इन्दिरा न्यौपानेलाई प्रदेश परोपकार सम्मान प्रदान गर्न लागिएको छ ।

त्यस्तै डा. महावीर पुन र डा. दिनेश भुजुलाई नवप्रवर्तन सम्मान प्रदान गरिने भएको छ । प्रदेश सरकारले प्रहरी सेवामा रहेका रोशन थापालाई शान्तिमाला, शसस्त्र प्रहरीका सुधिर सुवेदीलाई प्रदेश रक्षक, नेपाली सेनाका काजिमान श्रेष्ठलाई शान्तिदिप, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरवंश बैठा, पशुपतिनाथ माध्यमिक विद्यालयका अध्यक्ष माधव गौतम, मानव अधिकारकर्मी बद्रीप्रसाद खतिवडा र रुम टु रिडसंग आवद्ध रहेका दिनेश प्रसाद श्रेष्ठलाई प्रदेश दीप सम्मान प्रदान गरिने भएको छ ।

चितवन मेडिकल कलेजका डा. श्यामराज शेग्मी र नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र बराललाई मृत्यन्ज्य , फुटबल खेलाडी समिर राज थोकर र कराँते खेलाडी मीनकृष्ण महर्जनलाई प्रदेश शान सम्मान प्रदान गरिने भएको छ । मकवानपुरका सञ्चारकर्मी प्रताप विष्ट, कौशलराज पाण्डे र कृष्ण सारु मगरलाई प्रदेशदूत सम्मान प्रदान गरिने भएको छ ।

पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यलाई विकास सेवी सम्मान, मूर्तिकार लक्ष्मण भुजेल, गायक उदय श्रेष्ठ र नविन पौडेललाई कलाकीर्ति, ह्याङ्गिव ह्यान्डीक्राफ्टका राजेश अबाले, उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष भेषराज खड्गी र उद्यागपति रोहित गुप्तालाई उद्यामशिलता सम्मान प्रदान गरिने भएको छ ।

संस्थागतरुपमा ललितपुर महानगरपालिकालाई संस्कृतिदीप, भक्तपुर नगरपालिका, मेलम्ची नगरपालिकालाई विपद्सेवी सम्मान, चितवनको चितवन अर्गानिक मत्स्य फार्म प्रा.लि. र मकवानपुरको सिमलथली एग्रो फार्म÷बाख्रा फर्मलाई कृषि किरण सम्मान, मकवानपुरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी प्रवद्र्धन सम्मान प्रदान गरिने निर्णय भएको छ ।

पर्यटन व्यवसायी केशर बहादुर जिरेललाई प्रदेश द्रष्टा, वातावरण विज्ञ तारा भट्टराईलाई वातावरण संरक्षण, युवा वैज्ञानिक सरोज प्रजालाई अन्वेशण, चेपाङ भाषा विद् आइतसिंह प्रजालाई सुभाषिक, साहित्यकार प्रतिक ढकाललाई साहित्य दिप, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव नारान पोखरेललाई जनसेवा, सम्मान प्रदान गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप