बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नागरिकता संशोधन विधेयकलाई पारित गर्न सहयोग गर्न गृहमन्त्रीको आग्रह

बुधबार, २९ असार २०७९, १४ : १६
बुधबार, २९ असार २०७९

गृहमन्त्री बालकृष्ण खाँणले संसद्‍मा पेश गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ लाई पारित गर्न सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका छन् । लाखौँ नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित हुन नदिन सरकारले संविधान अनुसार सो विधेयक ल्याएको उल्लेख गर्दै त्यसलाई पारित गर्न सहयोग गर्न उनले सांसदहरूलाई अनुरोध गरेका हुन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयक मुलुकको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरू डा. भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । मन्त्री खाँणले संविधानको प्रावधान अनुसार अघि बढाएको सो विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढ्नुको विकल्प नरहेको पटकपटक दोहोर्‍याए । 

गृहमन्त्री खाँणले संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गराउन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै सोही अनुसार सो विधेयक सरकारले ल्याएको बताए । उनले भने, ‘संविधानको प्रावधान अनुसार नै सरकारले यो विधेयकलाई अघि बढाएको हो । त्यसकारण सरकारको नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ लाई अगाडि बढाएर यसलाई पास गर्न सकियोस् । र, पारित विधेयकलाई हामीले ऐन बनाउन सकौँ । नागरिकता प्रदान गर्ने कामलाई हामीले अगाडि बढाउन सकियोस् उद्देश्यका साथ नै ल्याइएको कारणले म माननीयज्यूहरूलाई आफ्नो विरोधको सूचना फिर्ता गरेर त्यो नागरिकता विधेयकलाई अघि बढाउने र पास गर्ने क्रममा सहयोग पुर्‍याउन हार्दिक आग्रह गर्न चाहन्छु । र, अहिले यो विधेयकलाई अगाडि बढाइसकेपछि विधेयकमा भएका बुँदाहरूमा, दफाहरूमा छलफल हुने नै छन् ।’ मन्त्री खाँणले आफ्नो विरोधको सूचना फिर्ता गरेर पनि सो विधेयकलाई संसद्‍बाट पारित गराउन सांसदहरूले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप