सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
सन्दर्भः गुरु पूर्णिमा

फेसबुकमा दुई चार शब्द लेख्दैमा गुरुप्रति सम्मान हुँदैन

बुधबार, २९ असार २०७९, १२ : २०
बुधबार, २९ असार २०७९

   मानव जीवन निकै संघर्षपूर्ण छ । मानिसको जन्म क्रमदेखि मृत्युको काखमा नपुगेसम्म हर पाइलामा जो कोहीले पनि अनगिन्ती संघर्षका पहाडहरू चढेको हुन्छ । जीवनका ती उकाली ओरालीहरुमा एक विश्वासिलो साथीको रुपमा हामी गुरुलाई  मान्दछौँ । हाम्रो पहिलो गुरुको रुपमा हामी आमा बुबालाई मान्दछौँ र माया आदर सत्कार गर्दछौ । 

जब अलि उमेर पुगेपछि हामी स्कुल जान्छौ, त्यहाँ हामीलाई शिक्षा दीक्षा दिने शिक्षकलाई गुरुको रुपमा मान्दछौँ । जीवनको अप्ठयारो बाटोलाई सहज बनाउने कार्य गुरुहरूले गर्नु भएको हुन्छ । त्यसैले पनि नेपाली समाजमा गुरु पूर्णिमालाई एक विशेष उत्सवको रुपमा मनाइने गरिन्छ ।

गुरु पूर्णिमा पर्व एक भए पनि यसको अनेक स्वरुप रहेको छ । सामान्य मानिसले गुरु पूर्णिमा भनेको स्कुल, कलेज पढ्नेहरूले मात्र मनाउने पर्व हो भनेर सोचेका हुन्छन् तर हाल आएर यसको महिमा सबैतिर फैलिदै गएको महशुस हुन्छ । आफ्नो जीवनमा सही बाटो देखाउने व्यक्तिहरुलाई यस दिन आदर सम्मान गर्ने चलन पनि बढ्दै गएको छ । दिदी दाई, साथीहरूबाट पनि हामीले धेरै कुरा सिकेका हुन्छौ ।

गुरुको सावधिक अर्थ खोज्दा “गु”को अर्थ अन्धकार र “रु” को अर्थ उज्यालो हुने र यसको संयोजन गर्दा अन्धकारबाट उज्यालोतिर लैजाने व्यतिmलाई नै गुरु भनिएको छ । वास्तवमै गुरुको महिमा वर्णन गरेर सम्भव छैन । हाम्रो समाजमा गुरुलाई भगवानभन्दा पनि उच्च स्थानमा राखेर पुजिन्छ । गुरुबाट प्राप्त ज्ञानबाट नै हरेकको जीवनले गति पाउने गर्दछ । त्यसैले त हाम्रो जीवन नै गुरुमय रहेको छ । 

गुरुहरूले आफ्ना शिष्यहरुको हितको लागि हरसम्भव प्रयास गरेका हुन्छन् ।  त्यसैले त गुरुब्रह्मा गुरुविष्णु गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।। भनिन्छ ।  यसको अर्थ  गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु  हुन्, गुरु नै महेश्वर हुन् र गुरु नै साक्षात् परब्रह्म हुन् भनी वर्णन गरिएको छ ।  यसरी वेद पुराणमा वर्णन गरिएजस्तै हाम्रो जीवनमा पनि गुरुको विशेष महत्व रहेको हुन्छ ।

     गुरु त्यस्तो ज्योति हो, जसको उज्यालोले सम्पूर्ण जगतलाई झलमल पारेको हुन्छ । सही र गलतको ज्ञान गराएको हुन्छ । मानव भैकन अरुको हकहित र भलाईको बारेमा नसोचेमा उसले जन्म लिएको सार्थक हँुदैन भन्ने धार्मिक विश्वास रहेको छ ।

संसारमा अनेक दुःख र पीडा छ, त्यसलाई निराकरण गर्ने उपाय पनि हामी गुरुहरुबाटै सिक्ने गर्दछौ । गुरुले नै राम्रो र नराम्रो बाटोका साथै पाप, धर्मको बारेमा जानकारी दिनु हुन्छ । साथै हाम्रो कर्तव्यबारे पनि जानकारी गराई दक्ष र सक्षम बनाउने कार्यको श्रेय पनि गुरुलाई नै जान्छ ।

वास्तवमै गुरु विनाको संसार हामी कल्पनै गर्न सक्दैनौ । जसरी छाँयाले हामीलाई पाइलैपिच्छे साथ दिएको हुन्छ । जसरी सूर्यले सम्पूर्ण लोकलाई प्रकाश र ताप प्रदान गर्दछ, त्यसरी नै गुरुले पनि आफ्ना शिष्यहरुलाई उत्तम ज्ञान र शिक्षा दिएर उनीहरुको जीवनलाई सफल पार्ने कार्य गरिरहेका हुन्छन् ।

गुरु पूर्णिमा मनाउने तौरतरिका पनि दिनानुदिन फरक फरक भैरहेको छ । पहिले पहिले शिष्यहरुले गुरुहरुलाई यसै दिन यथासक्य दक्षिणा दिएर पूजाआजा गरी मनाउने गरिन्थ्यो । गुरुदक्षिणाको कुरा गर्दा एकलव्यले आफनो औला नै काटेर गुरुदक्षिणा दिएको कुरा पनि पौराणिक कथामा पढ्न पाइन्छ ।

हाल आएर यसको स्वरुप परिवर्तन आएको छ । कतिपय विद्यार्थीहरु यसै दिन आफ्ना आदरणीय गुरुहरुलाई फूलमाला टीका लगाई गुरुबाट आर्शिवाद लिने गर्दछन् भने कतिपय टाढा भएकाहरु विभिन्न मास मिडिया मार्फत आफ्ना गुरुहरुलाई सम्झने गर्दछन् ।

समयअनुसार हाम्रो धर्म संस्कृति र व्यवहारमा पनि परिर्वतन आइरहेको छ ।  आफूले प्राप्त गरेको ज्ञानको सही सदुपयोग गरी देश र जनताको हकहितमा लाग्नु पर्दछ ।  सत्कर्म गरे मात्र सवत्र्र शान्ति फैलिन्छ । त्यसैले हरेक गुरुहरुले सत्कर्म, सत्ज्ञान र प्रगतिको पाठ पढाएका हुन्छन् । गुरुप्रति कृतज्ञता ज्ञापन गर्ने यो दिन सबैको लागि विशेष रहने गरेको छ  ।

गुरु पूर्णिमालाई व्यास जयन्ती पनि भनिन्छ । गुरुपूजाको परम्परामा व्यास अग्रस्थानमा पुजिन्छन् । व्यासगुफामा रहेको व्यासको मूर्तिमा आज  विशेष किसिमले पूजाआजा गरिन्छ । 

     जीवनका हरेक पाइलामा हाम्रो सफलताको कामना गर्ने गुरुहरुप्रति श्रद्धाभाव व्यक्त गदै आफूले सिकेका ज्ञानलाई फैलाउँदै जानु नै आफ्ना गुरु प्रतिको सच्चा सम्मान हो । आजको दिन फेसबुकका एउटा फोटो राखेर केही शब्द लेख्दैमा गुरुप्रति सम्मान हुँदैन । यसका लागि त हामीले गुरुले सिकाएको ज्ञान ३६५ दिनै मनन गरी  अरुको हितको लागि लाग्नु पर्दछ । यसो भए मात्र हाम्रो समाजमा व्याप्त कुसंस्कारको जालो हट्दै जानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप