बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संसद्‍मा गभर्नरमाथि प्रश्न : महाप्रसाद अधिकारीले शेयर मार्केटका ४० लाख मानिसलाई आतङ्कित बनाए

बुधबार, २९ असार २०७९, १२ : १७
बुधबार, २९ असार २०७९

प्रतिनिधि सभाको बैठक राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष दलका सांसदहरुले प्रचलित कानुन विपरित गभर्नर अधिकारी एमालेको पार्टीभित्रको विभागमा रहेको बताउँदै छानविन गर्न आग्रह गरे । 

नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले गभर्नर जस्तो मान्छेले कुनै पार्टीको सल्लाहाकार भएर अहिलेको सरकारलाई सहयोग नगरी यो सरकार श्रीलंका जस्तो हुन्छ, अब टाट पल्टिन्छ भनेर निजी क्षेत्रलाई हतोत्साही बनाएको बताए । उनले शेयर मार्केटका ४० लाख मानिसहरुलाई हतोत्साही गर्ने, शेयर मार्केटलाई आतंकित पार्ने काम गभर्नर अधिकारीले गरेको बताए । 

उनले गभर्नर अधिकारीको जथाभावी बोल्ने र नागरिकहरुलाई आतंकित बनाउने काम रोक्न सभामुख अग्नि सापकोटालाई रुलिङ गर्न माग गरे । उनले राज्यको जिम्मेवार व्यक्तिले व्यापारी, नागरिक सबैलाई आतंकित गरेकोले त्यसलाई बन्द गर्न माग गरे । 

अर्थतन्त्रको पुरै जिम्मेवारी लिएको गभर्नर आफैले मुलुक श्रीलंका तर्फ जाँदैछ भनेको प्रति आपत्ति जनाए । उनले जिम्मेवार व्यक्तिले छिमेकी देशको नाम लिएर नेपालको अवस्था चित्रण गर्न खोज्नु कुटनीतिक हिसावले पनि ठिक नभएको बताए । 

यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्रबैँक जस्तो देशको अर्थतन्त्र सम्हाल्ने संस्थाको प्रमुख गभर्नर महाप्रसाद अधिकारी एमालेमा आवद्ध हुनु राष्ट्र बैंक ऐन, कर्मचारी नियमावलीका विपरित रहेको बताइन् । 

उनले भनिन्–‘एकातर्फ हामी देशको अर्थतन्त्र बिग्रियो भनेर चिन्ता गरिरहेका छौँ अर्कोतिर कसका कारणले यस्तो भएको भनेर आरोप प्रत्यारोपमा लागिरहेका छौँ । त्यसले गम्भीर रुप पनि लिएको छ । अर्कोतिर राष्ट्र बैंकका प्रमुख राजनीतिक दलमा आवद्ध भएका छन् । कुनैपनि ब्यक्ति राजनीतिक दलमा लागेपछि सो पार्टीको निर्देशन मान्नुपर्छ, दलको आलोचना अनुशासन पालना गर्नुपर्छ । गभर्नर जस्तो व्यक्ति कुनैपनि दलको सदस्यको रुपमा बस्दा उहाँले यो सरकारको निर्देशन पालना गर्नुहुन्छ कि प्रतिपक्षी दल एमालेको ?’ 

उनले अहिले अर्थतन्त्रमाथि नियोजित ढंगले प्रहार भइरहेको बताउँदै गभर्नर अधिकारीमाथि गम्भीर ढंगले छानविन गर्न माग गर्दै दोषी उपर कारवाही गर्न माग गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप