शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश : बजेटमाथिको छलफल अघि बढाउन छलफल सुरु

बुधबार, २९ असार २०७९, १२ : ०२
बुधबार, २९ असार २०७९

सुदूरपश्चिम प्रदेश सरकारले बजेटमाथिको छलफल अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल थालेको छ ।  प्रतिपक्षी दलहरु प्रदेश सभा बैठकमा सहभागि नहुँदा तीन पटक बैठक स्थगित भएपछि बैठकलाई अघि बढाउन सरकारले सहभागीका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल थालेको हो ।

बिहानैदेखि मुख्यमन्त्रीको उपस्थितिमा नेकपा एमालेका संसदीय दलका नेता प्रकाश शाहसहित प्रदेश सभा सदस्यहरुसँग छलफल भइरहेको प्रदेश सभा सदस्य लीलाधर भट्टले जानकारी दिए ।  बजेटमाथिको छलफल अघि बढाउन सत्तारुढ दलसँग मात्र छलफल गरिरहेको थियो । आठ पटक बैठक आह्वान गर्दा पनि बजेटमाथिको छलफल प्रदेश सरकारले सभामा अघि बढाउन सकेको थिएन ।

मुख्यमन्त्री त्रिलोचन भट्ट र आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले बजेटमाथिको छलफलमा सहमति जुटाउन कुनै पहल नगरेको भन्दै लगातार तीन वटा बैठकमा प्रतिपक्षी दलहरुले सहभागिता जनाएका थिएनन् ।

‘यो बजेट असन्तुलित छ । यस बजेटप्रति सत्तापक्षकै सांसदहरू समेत सन्तुष्ट छैनन् । यो बजेटले वित्तीय अनुशासन कायम गरेको छैन । आफ्ना कार्यकर्ता पाल्ने खालको छ । प्रदेश समृद्धिको आधार बोकेको छैन । त्यसैले यो बजेटप्रति हाम्रो विरोध रहेको छ’ नेकपा एमालेका प्रमुख सचेतक भट्टले भने– ‘सत्तापक्षकै सांसदहरूमा पनि असन्तुष्टि छ । सरकारको कमजोरीका कारण अहिलेसम्म बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । हामीसँग सरकारले वार्ता गरेपछिमात्र बजेटमाथिको छलफलमा सहभागि हुने नहुने थाहा हुनेछ ।’

अहिले पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रमुख प्रतिपक्षी दलहरुसँग सरकारका मुख्यमन्त्री भट्ट तथा मन्त्रीहरुको सहभागितामा छलफल भइरहेको छ ।

दलभित्र ह्विप लगाइने
बजेटमाथिको छलफलमा सहमति जुट्न नसकेपछि सत्तापक्षका प्रदेश सभा सदस्यहरूमा ह्विप जारी गरि बैठकमा ल्याउने प्रयास भएको छ । मंगलबार दिनभरी नेपाली काँग्रेस संसदीय दल र नेकपा एकीकृत समाजवादी दलको छुट्टाछुट्टै बैठक भएको थियो । मंगलबार नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक दुर्गा विकले बैठकमा उपस्थित हुन निर्देशन गरेपछि सो पार्टीका प्रदेशसभा सदस्यहरू सहभागी भएका थिए । तर, बैठकमा सहभागी अधिकांश प्रदेशसभा सदस्यहरूले बजेट परिष्कृत गरिए मात्र सहमति जनाइने प्रतिक्रिया दिएका थिए ।

नेपाली काँग्रेसका संसदीय दलका नेता तथा आन्तरिक मामिला मन्त्री रणबहादुर रावलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा काँग्रेसका प्रदेश सभा सदस्यहरूले आगामी आर्थिक वर्षको बजेटमाथि विरोध दोहोर्याएका थिए । 
नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले आर्थिक मामिला मन्त्रीले सभामा बजेटमा भएका त्रुटी सच्याउने, परिष्कृत गर्ने, सन्तुलित बनाउने प्रतिवद्धता गरेमा काँग्रेसले सहमति जनाउने बताए ।

प्रदेश सभा सदस्य भरतबहादुर खडकाले भने बजेट परिष्कृत भएर नआएसम्म दलको ह्विप स्वीकार नहुने बताए । प्रदेशमा बजेटमाथि नेकपा माओवादी केन्द्रका केही प्रदेश सभा सदस्यहरूको अझै विमति रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप