मतदाता नामावली बनाउने होड : भिड बढेपछि राति ११ बजेसम्म फोटो खिचिँदै (फोटो)
मोरङ, सुन्दरहरैंचा–११ का विवश तामाङ मतदाता नामावलीमा नाम दर्ताका लागि फोटो खिच्ने लाइनमा छन् । मोरङ विराटनगरको निर्वाचन कार्यालय अगाडि लाइनमा बसेका उनको पालो कतिखेर आउने कुनै टुङ्गो छैन ।
स्थानीय राजनीतिक अभियानकर्मीहरूले गाडीमा भेला पारेर उनीजस्तै थुप्रै युवायुवती तथा वृद्धवृद्धालाई मतदाता सूचीमा नाम दर्ता गराउन निर्वाचन कार्यालय पठाइरहेका छन् ।
विवशमात्रै होइन, सोही ठाउँका चक्र खवास, ५९ वर्षीय लक्ष्मी सुवेदी पनि मतदाता नामावली सूचीमा नाम दर्ता गर्ने लाइनमा बसिरहेका छन् । सोही ठाउँका ६५ वर्षीय सोमनाथ सुवेदीले बिहानै आएर लाइन बसेर फोटो खिचाएको बताए ।
प्रदेश १ निर्वाचन कार्यालय विराटनगरमा नयाँ मतदाताहरू फोटो खिच्न लाम लागेका छन् । असार १ गतेदेखि सुरु भएको फोटो खिच्ने कार्यमा नयाँ मतदाताहरूको भिड थामिनसक्नु छ । विराटनगरमा मङ्गलबार ३५ डिग्री सेल्सियस तापक्रम भए पनि कार्यालय अगाडि टन्टलापुर घाममा महिला तथा वृद्धवृद्धाहरु पनि लाइनमा बसेका देखिए ।
निर्वाचन कार्यालयमा लाम लागेकाका फोटो खिच्न सोमबार राती ११ बजेसम्म लागेको निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए । ‘सोमबार त राती ११ बजेसम्म फोटो खिच्न लाग्यो,’ अधिकारीले भने, ‘फोटो खिच्नकै लागि ५ वटा स्थान तोकिएको छ ।’
निर्वाचन कार्यालयले असार १ गते यता अन्य कुनै काम गर्न नभ्याएको अधिकारी बताउँछन् । सोमबारसम्म नयाँ मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १२ हजार पुगेको अधिकारीको भनाइ छ । मङ्गलबार पनि १ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गर्ने काम गरेको निर्वाचन कार्यालयको अनुमान छ ।
निर्वाचन कार्यालयमा मतदाता नामावली स्थानान्तरण, नाम सच्याउने, नयाँ फोटो खिच्नेहरू आएका छन् । फोटो खिच्ने कार्य निर्वाचनको मिति घोषणा नभएसम्म हुनेछ । सरकार र निर्वाचन आयोग यही कार्तिक वा मङ्सिरको पहिलो हप्तासम्ममा संघ र प्रदेशको निर्वाचनको तयारीमा छ ।
स्थानीय तहमा मतदानमा भाग लिन नपाएर पछुताएका युवाहरू अहिले लाइनमा बसिरहेका छन् । त्यसबाहेक वैदेशिक रोजगारीबाट आएका, बसाइसराइबाट आएकाहरूको पनि सङ्ख्या उल्लेख्य रहेको अधिकारीले जानकारी दिए ।
यता मोरङको उर्लाबारी–३ स्थित मंगलबारे इलाका प्रशासन कार्यालयमा पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड लागेको छ । उक्त कार्यालयमा फोटो खिचाउनेको भिड बढेको कारण बिहान ७ बजेदेखि नै कार्यालयमा काम सुरु गरिएको सो कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म