विज्ञका कुरा

अल्ट्राफास्ट ‘बीए.५’ ओमिक्रोनले ग्राफलाई उकालोतिर धकेल्दै

person explore access_timeअसार २९, २०७९ chat_bubble_outline0

हाल विश्वमा ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ताका उपप्रजातिहरू बीए.४ र बीए.५ ले अघिल्लो पुस्ताका उपप्रजातिहरूलाई तीव्र विस्थापित गर्दैछ । केही हप्ता अगाडी भारतमा पनि यी दुई ओमिक्रोन भेरियन्टका उपप्रजातिहरू देखिएका समाचारमा जनाएका थिए । नेपालमा पनि केही दिन अगाडी ओमिक्रोनको बीए.५ उपप्रजाति पहिलो पटक पुष्टि भएको छ । पछिल्लो चार दिनको अन्तरालमा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको देखिन्छ । बीए.५नेपालमा पुष्टि हुनु र केही हप्ता देखि स्थिर जस्तो देखिएको सङ्क्रमितको सङ्ख्यामा अचानक वृद्धि हुनुमा सम्भवतः ओमिक्रोन भेरियन्टको पछिल्लो र नयाँ उपप्रजाति बीए.५ जिम्मेवार हुनसक्ने देखिन्छ । विश्व र भारतमा बीए.५सँगै देखिँदै आइरहेको बीए.४ नेपालमा पनि आगामी दिनमा पुष्टि भए लेखक अचम्मित भने हुने छैन । वैज्ञानिकहरूले अनुसन्धानको आधारमा बीए.५ लाई हालसम्मकै सबैभन्दा तीव्र गतिमा फैलने सक्ने भाइरसको कोटिमा राखेको छ । अर्थात् लेखकले यहाँ यो भाइरसलाई "अल्ट्राफास्ट भाइरस" को उपनाम दिएको छ ।  


नेपालमा अल्ट्राफास्ट "बीए.५" को पुष्टि भएसँगै सङ्क्रमित हुने र परामर्श लिनेहरूको सङ्ख्या पनि बढ्दै गएको छ । तर लेखकसँग सम्पर्कमा आएका सङ्क्रमितहरूमा जटिल अवस्था सिर्जना भएको देखेको भने छैन । उनीहरू युवा, वृद्ध वा दीर्घ रोगीहरू नै थिए । र अधिकांश कोरोना पुष्टि भएकामा मूल ओमिक्रोनमा देखिने गरेका लक्षणहरू नै देखिने गरेका थिए । दक्षिण अफ्रिका, युरोप, अमेरिकामा पनि बीए.४ र बीए.५ सङ्क्रमित अधिकांशमा मूल ओमिक्रोनमा देखिने गरेका लक्षणहरू (तेस्रो लहरमा देखिने गरेको) देखिएको भनिएका छन् । तसर्थ यसै कारणले पनि होला बीए.४ र बीए.५ ले सङ्क्रमणको तीव्रतालाई बढाउँदै लगेको भएता पनि त्यही अनुपातमा जटिल अवस्था भने देखिने गरेको छैन ।  



अल्ट्राफास्ट "बीए.५" कति घातक छ त ? यो हाम्रो लागि महत्त्वपूर्ण प्रश्न बनेर खडा भएको छ । डेल्टाको लहरले (दोस्रो लहर) नेपालको स्वास्थ्य संरचना नै ध्वस्त बनाएको र बिरामी निरीह भनेर अस्पताल शय्याको लामो पर्खाइमा बस्नु परेको लेखकलाई आजै जस्तो लाग्दछ । लेखकको अस्पतालले शय्यालाई अस्पताल बाहिर विस्तार गरेर र थप अपुग हुँदा आकस्मिक कक्ष बाहिर भुईँमा राखेर भए पनि उपचार गर्नु परेको तितो सम्झना छ । त्यसमा पनि अक्सिजन अभाव अर्को पीडादायी समस्या थियो । हुन त यस्तो समस्या नेपालले मात्र नभई विकसित भनिने देशहरूले पनि सामना गर्नु परेको थियो । बीए.४ र बीए.५ पहिलो पटक दक्षिण अफ्रिकामा देखिदा सानो लहरको (पाँचौ लहर) निर्माण भएको देखिन्छ । तर अस्पताल भर्ना हुने र मृत्युको तुलना गर्दा अघिल्लो बाकी सबै लहरहरू भन्दा सङ्ख्या कम देखिएको थियो । अर्थात् यी पछिल्ला उपप्रजातिहरू अल्ट्राफास्ट देखिए पनि त्यसको अनुपातमा अस्पताल भर्ना अथवा मृत्यु गराउने क्षमता भने कम देखियो ।



विगत केही हप्ता अगाडी देखि कोरोना सङ्क्रमितको सङ्ख्या सानो तर स्थिर रहँदा अ-आफ्ना दैनिकीमा फर्किसकेको अवस्थामा छौँ । र यो स्वाभाविक पनि छ । पछिल्लो समयमा जमघट बाक्लिँदै जाँदा, जनस्वास्थ्यका मापदण्डमा बेवास्ता गर्दा र बीए.५​ अल्ट्राफास्ट भइदिँदा सम्भवतः आगामी दिनमा लहरको ग्राफलाई भाइरसले केही माथि धकेल्ने सम्भावना भने देखिन्छ । किनभने हाल कोरोना प्रति बिस्तारै चासो बढ्दै जाँदा परीक्षण गर्नेहरू बढ्ने र परीक्षण गर्दा पुष्टि भए त्यो राष्ट्रिय तथ्याङ्कमा जोडिनेछ र तथ्याङ्कमा जोडिँदा ग्राफले केही उचाइ लिनेछ ।र सम्भवतः दक्षिण अफ्रिकामा देखिए जस्तो सानो ग्राफको निर्माण हुनसक्ने सम्भावना देखिन्छ । यद्यपि ग्राफको उचाइ नागरिकको परीक्षण गर्ने चासोमा भर पर्नेछ । किनभने धेरैले लक्षण कडा भएर वा आफू काम गर्ने कार्यालयले परीक्षण अनिवार्य गरे वा विदेश जानु पर्दा मात्र परीक्षण गर्ने गरेको देखिन्छ । अधिकांशले खोप लगाएकाले आफूमा जटिलता नआउने विश्वासमा पनि परीक्षण गर्न आउने सम्भावना धेरै कम देखिन्छ । यसकारण पनि आगामी दिनमा सङ्क्रमितको यकिन तथ्याङ्क आउने सम्भावना धेरै कम देखिन्छ ।  

दुई वर्ष देखि नजिकबाट नियाल्दै र विश्लेषण गर्दै गर्दा कोरोना भाइरसले सहजै/सजिलै काँचुली फेर्न सक्ने (नयाँ नयाँ स्वरूपमा देख्ने) क्षमता भएको भाइरसको रूपमा लेखकले हेरेको छ । यसर्थ सम्भवतः बीए.५ नै अन्तिम भाइरसको रूपमा देखिने सम्भावना न्यून देखिन्छ । आगामी दिनहरूमा कोरोनाले आफू अनुकूल काँचुली फेर्दै नयाँ स्वरूपमा देखिने र "ब्रेक थ्रु केशको" सानोतिनो उकालो ओरालो लहरले निरन्तरता पाउन भने सक्नेछ । तर पहिलो र दोस्रो कडा लहरको जस्तो हुबहु महाविपत्ति ल्याउन सक्नेमा भने लेखक विश्वस्त छैन ।  

डा शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका  संयोजक हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।