किन लोकप्रिय भए आदिकवि भानुभक्त ?
‘भानुभक्त आचार्य’ नेपाली भाषीका लागि साँच्चिकै सम्झनलायक र सम्मानयोग्य नाम हो । आजसम्मको खोजअनुसार नेपाली भाषाको उत्पत्ति इसाको दसौँ शताब्दीतिर कर्नालीको सिन्जामा भएको हो । नेपाली भाषामा साहित्य लेखनको व्यवस्थित सुरुआत आधुनिक नेपालको स्थापना (वि.सं १८२५ पछि) सँगै भएको हो । आजसम्मको खोजअनुसार वि.सं १८२५–२६ तिर लेखिएको सुवानन्ददासको पृथ्वीनारायणसम्बन्धी कविताबाट नेपाली लेख्य साहित्य अगाडि बढेको हो ।
आधुनिक नेपालको स्थापनासँगै दरबार नजिकका पढेलेखेका व्यक्तिहरुले राजा महाराजाहरुका वीरता, स्तुतिका कविता लेख्न थाले । महाभारत, कृष्णचरित्रहरुका कथाको अनुवाद हुन थाले । यही पृष्ठभूमिमा भानुभक्त आचार्यले नेपालीमा रामको कथालाई श्लोकबद्ध गरे । सरल तथा बोलचालको ठेट नेपाली भाषामा लेखिएकाले भानुभक्तको ‘रामायण’ लोकप्रिय भयो ।
समकालीन अरु कविहरुभन्दा सरल र सरस ढङ्गमा नेपाली भाषामा कविता लेखेकै कारण भानुभक्त तत्कालीन समयका लोकप्रिय कवि बने । हरेक कुराको समयको मोल हुन्छ । समयकै कारणले भानुभक्त लोकप्रिय भएका हुन् । अहिले भानुभक्तका जस्ता कृतिको अनुवाद गरेर लोकप्रिय हुन सकिँदैन । अँध्योरामा जुनकिरीको महत्त्व भए जस्तै भानुभक्त अँध्यारोका जुनकिरी जस्ता हुन् ।
भानुभक्तको ख्यातिलाई उचाइमा पुर्याउन मोतीराम भट्टले सक्दो मद्दत गरे । मोतीरामले भानुभक्तको ‘रामायण’लाई प्रकाशनमा ल्याउने काम त गरे नै । साथसाथै उनको जीवनी लेखेर प्रशंसाको पुल बाँधीदिए, आदिकविको दर्जा दिए । भानुभक्तको भक्ति धारभन्दा भिन्न शृङ्गारिक धारमा कलम चलाएका मोतीरामले भानुभक्तले सुरु गरेको शास्त्रीय छन्दलाई नै रोजे ।
मोतीरामका ‘पिकदूत’, ’प्रह्लाद भक्ति कथा’ जस्ता कृति भानुभक्तीय ‘रामायण’मा बहुप्रचलित शार्दूलविक्रीडित छन्दमै रचिएका छन् । यही पृष्ठभूमिमा जन्मिएका लेखनाथ, माधव घिमिरे हुँदै अहिलेका थुप्रै कविहरुले भानुभक्तको धारलाई समातेर कविता लेखे, लेख्दै छन् । नेपाली साहित्यमा भानुभक्तको लोकप्रियताको मुख्य आधार यही नै हो । यसबाट भानुभक्तलाई नेपाली भाषाका जनकका रुपमा स्थापित हुँदै गए ।
नेपालबाहिर खास गरी भारतमा रहेका नेपालीहरुले भानुभक्तलाई नेपालीहरुको एकताको सूत्रका रुपमा लिन थाले । राज्य सत्ता र समालोचकहरुले पनि उनलाई उचाले । हुँदाहुँदै उनलाई नेपाली भाषाको एकीकरण कर्ताका रुपमा चर्चा गर्न थालियो ।
भानुभक्त लोकप्रिय हुनाको अर्को कारण नेपाली समाजमा रहेको रामकथाको प्रभाव हो । भानुभक्तले अध्यात्म रामायणलाई नेपालीमा अनुवाद गर्नुअगावै नेपाली समाजमा अनेक लोक रामायण प्रचलित थिए, रामको कथामा आधारित बालुन र भजन लोकप्रिय थिए । भानुभक्तले सजिलो भाषामा रामायणको अनुवाद गरिदिएपछि त्यो तलसम्म पुग्यो । भानुभक्त पनि तलसम्म पुगे । भानुभक्तको कवित्वको शक्ति भनेको सरलता र स्पष्टता हो । “भोकी मैलि निन्याउरी न त कपाल् कोर्‍याकि सब् केश् उसै” जस्ता ठेट भाषाको प्रयोगले उनी लोकप्रिय भएका हुन् ।
भानुभक्तलाई स्थापित गराउने अर्को पक्ष सत्ता पनि हो । नेपाली सत्ता नेपाली भाषाको पक्षपाती त थियो नै, साथसाथै भानुभक्तले बोकेको विचार, आस्था, संस्कृतिको वाहक पनि थियो । यसले पनि भानुभक्तको सत्तालाई स्थापित गरिदियो । दुनियाँभर हुने यस्तै नै हो । कवि, कलाकारहरु आफ्नो कर्मले बन्छन् । तर तिनलाई ठुला, महान् र चर्चित बनाउन सत्ताको पनि ठुलो हात हुन्छ । सत्ताको साथ नहुँदो हो भने भानुभक्त यति चर्चित हुने थिएनन् ।
नेपाली कवितामा मुख्यतः तीन ओटा धार छन् । भानुभक्तले सुरु गरेको धार, ज्ञानदिल दासहरुले सुरु गरेको धार र आधुनिकतासँगै अलिपछि जन्मिएको तेस्रो धार । भानुभक्तले स्थापित गरेको शास्त्रीय धारमा टेकेर त्यसमा केही नयाँ बनाउने प्रयत्नसहित लेखनाथ र माधव घिमिरेहरु आए, त्यही धारको निरन्तरतामा अहिलेका छन्द कविहरु कसरत गरिरहेका छन् ।
ज्ञानदिल दासहरुले सुरु गरेको लोकधारमा टेकेर लक्ष्मीप्रसाद देवकोटा उदाए । तर उनी त्यसमा अडिएनन्, भानुभक्तको धारतिर पनि लोभिए, पश्चिमा धारतिर पनि लहसिए । अन्ततः जे भए पनि देवकोटाको शक्ति भनेको ज्ञानदिल दासहरुले सुरु गरेको लोकधार नै हो । देवकोटाका ‘मुनामदन’, ‘कुञ्जिनी’ हरु लोकधारकै कारण सफल भएका हुन् । ‘शाकुन्तल’ र ‘पागल’ शास्त्रीय, लोक वा आधुनिक धारका कारणले नभएर देवकोटामा रहेको कल्पनाशक्ति समयले जन्माएको काकताली हो ।
गोपालप्रसाद रिमालहरुसँगै नेपाली कवितामा जन्मिएको तेस्रो धार समकालीन नेपाली कविताको मूल धार हो । यो धार वैचारिक रुपमा सन्त ज्ञानदिल दासहरुकै निरन्तरता हो ।
नेपाली कवितामा रहेका शास्त्रीय, लोक र आधुनिक धारमध्ये आधुनिक धार मूल प्रवाहमा छ । भानुभक्तीय धार अर्थात् परम्परागत धार दोस्रो क्रममा छ भने लोकधार प्रशस्त सम्भावना भएर पनि गुमनाम जस्तै छ । त्यही भएर आज पनि भानुभक्त चर्चामा छन्, ज्ञानदिल दासहरु गुमनाम छन् ।
छन्द कविताको धारको मूल श्रेय भानुभक्तलाई जाने भएकाले भानुभक्त चर्चामा छन् । कवित्वका दृष्टिले भानुभक्तभन्दा धेरै माथि रहेका देवकोटा, लेखनाथ, माधव घिमिरेभन्दा भानुभक्त किन लोकप्रिय रहे त ? उत्तर स्पष्ट छ, नेपाली छन्द कविताको मियो त्यही भानुभक्तीय रामायण हो । आजको नेपाली छन्द कविताको जाँतो त्यही रामायणको मानो वरपर घुमिरहेको छ ।
नेपाली साहित्यमा नेपाली समाजको प्रतिबिम्बन गर्ने कार्यको थालनी जोसमनी सन्त समुदायका कविहरुबाट भएको हो । ज्ञानदिल दास यसमा मुख्य हुन् । यदि उनका पक्षमा सत्ता हुन्थ्यो भने नेपाली साहित्यका भानुभक्त जस्तै हाई हाई हुनुपर्ने पात्र हुन् ज्ञानदिल दास ।
धर्म, संस्कृतिविशेषको आलोचना गर्यो भने आज पनि अनेक खप्की खानुपर्ने अवस्था छ । आजभन्दा डेढ सय वर्षअघि ज्ञानदिल दासहरुले धर्म, संस्कृतिका नाममा हुने विकृति, आडम्बर, शोषण आदिको तीव्र आलोचना गर्दै कविता लेखेका थिए । समय चेतका दृष्टिले, समाजबोधका दृष्टिले र विज्ञानलाई आत्मसात् गर्ने दृष्टिले भानुभक्तभन्दा ज्ञानदिल दासहरु धेरै अगाडि थिए ।
तर नेपाली साहित्यमा ज्ञानदिल दासहरु कुनामा थन्किएका छन्, भानुभक्त मूल प्रवाहमा छन् । यसो भनिरहँदा भानुभक्तको सम्मान गर्नु हुँदैन भन्ने अर्थ नलाइयोस् । भानुभक्तको सम्मान गर्नुपर्छ, उनी परम्परागत धारका अगुवा कवि हुन् । त्यसरी नै ज्ञानदिलदासहरुको पनि सम्मान हुनुपर्छ, उनीहरु आधुनिक धारका अगुवाहरु हुन् ।
भानुभक्त आदिकवि हुन् कि होइनन् ? यो बहस पुरानो भइसक्यो । स्पष्ट छ, भानुभक्त आदिकवि होइनन् तर हामीले उनलाई आदिकविको सम्मान दिँदै आयौँ, दिइसकेको सम्मान फिर्ता गरिँदैन । भानुभक्तले नारीका बारेमा जे लेखे, त्यति बेलाको चिन्तनको पृष्ठभूमिमा ठिकै हो भनेर पन्छिन सकिन्छ तर उनले ठिक लेखेका होइनन् ।
भानुभक्तले लेखेको भनिएको “घाँसी दरिद्र घरको तर बुद्धि कत्रो ? मो भानुभक्त धनी भैकन आज यस्तो ।” कवितांश भानुभक्तले नै लेखेका हुन् कि मोतीरामले लेखिदिएका हुन् भन्ने बारेमा प्रश्न छ, यसमा शङ्का गर्ने ठाउँ पनि छ । दुनियाँमा सबै कुराको निष्कर्ष निस्कँदैन, आआफ्ना मत रहन्छन्, वादविवाद भइरहन्छ तर समय अघि बढिरहन्छ ।
त्यसैले, भानुभक्त र घाँसीको कथालाई पनि अहिलेलाई त्यतिकै बहसमै छाडिदिएर अघि बढ्नु वेश हुन्छ, कोही भानुभक्तलाई घाँसीको चेला मानुन्, कोही नमानुन्, उनीहरुकै खुसी । म चाहिँ त्यसलाई मोतीरामले बनाएको रोचक कथा मान्छु, आफूलाई चित्तमा लागेको कुरा बोल्न, लेख्न पाउने मेरो पनि हक छ, कृपया गाली नगर्नु होला । भानुभक्तले लेखेको “भोलि भोलि हुँदैमा सब घर बितिगो....” वाला कविता चाहिँ मलाई खुब मन पर्छ । मेरो विचारमा यस्ता केही कविताले भानुभक्त कवि भएका हुन् ।
लेखक पाटन संयुक्त क्याम्पसमा नेपाली विषय प्राध्यापनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने