शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक बस्दै, एमालेका सांसद् उपस्थित नहुने

बुधबार, २९ असार २०७९, ०८ : ५१
बुधबार, २९ असार २०७९

बागमती प्रदेशसभा बैठक आज बस्दै छ । गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गरे लगत्तै अनिश्चित कालका लागि स्थगित गरिएको प्रदेशसभाको चालु दशौं अधिवेशनको २५ औं बैठक आज बस्ने भएको हो । 

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । आजको प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकहरु माथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार बैठकमा मुख्यतः संसद्मा संशोधनका लागि पेश भएको केही प्रदेश ऐन संशोधन विद्येयक–२०७९ माथि छलफल हुने कार्यसूची रहेको छ । सचिवालयले बैठकमा सहभागि हुन सबै सांसदहरुलाई सूचना जारी गरिसकेको जनाएको छ ।

एमालेका अधिकांश सांसद् अनुपस्थित हुने

आजको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अधिकांश सांसदहरु अनुपस्थित हुने भएका छन् । पूर्व निर्धारित कार्यतालिका अनुसार पार्टीको आन्तरिक कार्यक्रम र बैठक राखिएकाले प्रदेश सभाको बैठकमा एमालेका सांसदहरु अनुपस्थित हुने भएका हुन् ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको बैठकमा उपस्थित हुनुपर्ने भएकाले अधिकांश सांसदहरु हाउसमा उपस्थित हुन नसक्ने जानकारी दिए ।

एमालेले आधिकारिक रुपमा संसद् बैठक बहिस्कार नगरेको तर बहुमत सांसदहरु पार्टीको बैठक र कार्यक्रममा सहभागि हुनुपर्ने भएकाले अनुपस्थित रहने उनले बताए । समय अनुकुल हुने एमालेका सांसदहरु बैठकमा सहभागि हुने उनको भनाइ छ ।

प्रदेशसभा सदस्य एवम् नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले पार्टीको बैठक राखिएकै दिन सभामुखले संसद् बैठक आह्वान गरेपछि समय प्रतिकुल भएको र अधिकांश सांसदहरु संसद्मा उपस्थित हुन नसक्ने बताए । उनले बैठकको समय प्रतिकुल भएको भन्दै संसद् बैठक सार्न सभामुखलाई आग्रह गरिएपनि त्यसतर्फ कुनै सुनुवाइ नभएकाले अनुकुल हुन सांसद् मात्र उपस्थित हुने बताए ।

‘हामीले समय जुधेपछि सभामुखलाई जानकारी गराएका थियौ । हामीले संसद् बैठक सार्न आग्रह पनि गरेको हो । तर, सुनुवाई भएन ।’ उनले भने, ‘प्रदेशको प्रमुख प्रतिपक्षको कुरा सभामुखले सुन्न चाहनु भएन । उहाँले हाम्रो कुरा सुन्नु पथ्र्यो । अहिले संसद् भन्दा महत्वपूर्ण पार्टीको बैठक रहेको छ । त्यसैले हाम्रा अधिकांश साथीहरु संसद्मा उपस्थित हुन सक्नुहुन्न ।’

एमालेले असारमा बैठक नराख्न आग्रह गर्दै साउन २ गतेका लागि बैठकको मिति प्रस्ताव गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप