कालज्वरले मरणासन्न स्थितिमा पनि लेखिरहे भानुभक्तले ‘रामगीता’
भानुभक्त आचार्य नेपाली भाषासाहित्यको प्राथमिक कालका केन्द्रीय प्रतिभाका रूपमा स्थापित र सम्मानित छन् । प्राथमिककालीन नेपाली कविताका दुई धारा वीर र भक्तिमध्ये आचार्य भक्ति धाराको प्रतिनिधित्व र नेतृत्व गर्ने स्रष्टा हुन् । त्यसमा पनि उनी रामभक्ति धाराका प्रमुख कवि हुन् । नेपाली भाषासाहित्यको प्रारम्भिक विकास यात्रामा काव्यसिर्जनाद्वारा भानुभक्तले गरेको योगदान निश्चय नै ऐतिहासिक र उत्तरवर्ती चरणका स्रष्टाहरूका लागि प्रेरणादायी पनि रहेको कुरामा कुनै सन्देह छैन । यहाँ उनको सामान्य चिनारी दिदैं उनका जीवनका केही सन्दर्भ र सिर्जनाका बारेमा केही चर्चा गर्ने कोसिस गरिएको छ ।
इतिहासको एउटा विशिष्ट लामो कालखण्डदेखि नेपाली समाजमा तथा अहिले त झन नेपालबाहिर समेत नेपाली भाषा नै धेरै नेपालीहरूको बलियो सम्पर्क भाषाका रूपमा रहेको छ । भानुभक्त आचार्य यही नेपाली भाषाका आदिकवि हुन् । आजभन्दा दुइ सय आठ वर्षअघि वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा बुवा धनञ्जय आचार्य र आमा धर्मावती आचार्यका सन्तानका रूपमा उनको जन्म भएको हो । उनी आचार्य दम्पत्तिका एक मात्र छोरा हुन् भने भानुभक्तकी भैरवी नामकी बहिनी पनि थिइन् ।
भानुभक्तका बुवा धनञ्जय पढेलेखेका मानिस थिए तर पाल्पामा जागिरे भएकाले निकै बेफुर्सदिला थिए । उनका बाजे श्रीकृष्ण संस्कृतका धुरन्धर विद्वान थिए । भानुभक्तले बाजे श्रीकृष्णसँग चुँदी रम्घामै दुर्गा कबज, शप्तशती, रुद्री, वेद, मुहूर्त मार्तण्ड, अमर कोश, रघुवंश, स्तोत्र, मध्य कौमुदीजस्ता संस्कृत भाषाका रचना पढिसकेका थिए । पछि चौध वर्षको उमेरमा बाजेसँग काशी गएका भानुभक्तले पाठशालामै गएर दर्शनशास्त्र आदि विषय अध्ययन गरेका थिए । उनमा ज्यातिषसम्बन्धी थोरबहुत ज्ञान पनि थियो ।
यसरी भानुभक्तले पहिले चुँदी रम्घास्थित घरमै बाजेसँग र पछि बाजेसँगै बनारसमा गएर औपचारिक अध्ययन गरेका थिए । त्यसकै बलमा उनले नेपाली साहित्यको काव्यविधामा मूलतः संस्कृत रामायणलाई नेपालीमा अनुवाद गरी त्यसका माध्यमबाट आफ्नो पृथक छवि निर्माण गरेका हुन् ।
भानुभक्तको रामायण सबैभन्दा पहिले बनारसबाट प्रकाशित भएको हो । त्यसपछि वि.सं. १९५४ मा साहित्यकार सूर्यविक्रम ज्ञवालीले सम्पादन गरी दार्जिलिङबाट यसलाई प्रकाशन गरिदिए । त्यहाँ यसले निकै व्यापकता र लोकप्रियता दुबै प्राप्त गर्यो । भानुभक्तबारे विद्यावारिधि स्तरको शोधकार्य गर्ने दार्जिलिङका व्यक्तित्वहरूमा डा.कमला सांकृत्यायन, डा.कविता लामा र डा.गोकुल सिन्हा गरी तीन जना रहेका छन् ।
मोतीराम भट्टदेखि आजसम्म आउँदा धेरैले उनको जीवनी पनि लेखेर प्रकाशित गरेका छन् । यसबाहेक आजसम्म नेपालभित्र र बाहिरबाट भानुभक्तका बारेमा धेरै अध्ययन र खोजहरू भएका छन् । साँच्चै भन्ने हो भने नेपाली साहित्यमा थोरै कृतिहरू सिर्जना गरेर पनि निकै धेरै चर्चा र सम्मान प्राप्त गर्ने स्रष्टाहरूमध्ये भानुभक्त अग्रस्थानमा रहेका छन् । उनको चर्चा यत्ति धेरै हुनुमा उनलाई दिइएको आदिकविको उपाधि पनि एउटा प्रमुख कारण हो ।
वि.सं. १९४८ मा मोतीराम भट्टले कवि भानुभक्ताचार्यको जीवनचरित्र नामक पुस्तक लेखेर प्रकाशित समेत गरे । यसमा भानुभक्तको जीवनकथा र काव्य सिर्जनाका विविध आयामबारे चर्चा गरिएको छ । त्यस पुस्तकमा सर्वप्रथम भट्टले भानुभक्तलाई आदिकवि भने तर त्यसपछि उनका बारेमा लामो समयावधिसम्म खासै चर्चा भएको देखिदैन ।
पछि वि.सं. १९९७ सालमा जुद्ध शम्शेर राणाले भानुभक्तलाई आदिकवि भने पनि हुन्छ भन्ने हुकुम दिएपछि मात्र धेरैले उनलाई आदिकवि भन्न थालेका हुन् । पछि दार्जिलिङका सूर्यविक्रम ज्ञवाली आदिले उनलाई आदिकविका रूपमा स्थापित गराए । त्यहाँ उनको सालिक पनि निर्माण गरियो र भानुजयन्ती मनाउने परम्परा प्रारम्भ भयो । त्यसपछि भने भानुभक्तका कृति र कीर्तिबारे धेरैले धेरै कोणबाट आफ्ना धारणा प्रस्तुत गरेका छन् ।
उनका बारेमा घाँसीको प्रेरणाजस्ता कतिपय मिथक पनि सिर्जना गरिएका छन् । यादव खरेलले उनको जीवनीलाई आधार बनाएर नेपालीमा कथानक चलचित्र नै बनाइदिए भने म्युजिक नेपालले रामायणका सातै काण्डका सिडीहरू निर्माण गरेको छ । पछिल्लो अवधिमा अन्यले पनि रामायणका विभिन्न काण्ड वाचन गरेर सार्वजनिक गरेका छन् । यी सबै गतिविधिले भानुभक्तलाई जनमानसमा अझै परिचित र लोकप्रिय बनाएका छन् ।
भानुभक्त आचार्यका जीवनयात्राका विविध आयाम छन् । उनको जागिरे जीवन त्यसैको एउटा आयाम हो । यहाँ यसको उल्लेख गर्नुको प्रमुख कारण उनको प्रसिद्ध रामायणको नेपाली अनुवादकथा यही जागिरे जीवनसँग जोडिएकाले हो ।
उनले ३७ वर्षको उमेर पुग्दा सरकारी जागिर प्रारम्भ गरेका थिए । जम्मा दुई वर्ष जति जागिर गरेपछि उनी त्यहाँबाट निकालिए । कारण उनलाई सरकारी रकम हिनामिना गरेको अभियोगमा कुमारी चोकमा थुनियो । उनी पाँच महिना जेलमा बसे । जेल बस्दा उनले संस्कृतमा वाल्मीकिले लेखेको अध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गरे ।
जेलमा छँदा उनले चार महिनाभित्र रामायणका अयोध्या, अरण्य, किष्किन्धा र सुन्दर काण्ड गरी चार काण्डको नेपाली भाषामा अनुवाद गरे । नेपाली भाषामा रामायण नभएका बेला नेपालभरि पुराणहरू पढिन्थे । त्यसबेला संस्कृत पढ्न सबैलाई अनुमति पनि थिएन । यहाँनिर तत्कालीन अपठित नेपाली समाजमा संस्कृत भाषा सबैको पहँुचभित्र नरहेको सन्दर्भ पनि बिर्सन हुँदैन ।
साथै उनले प्रश्नोत्तर, भक्तमाला, वधू शिक्षाजस्ता लघुकाव्यका साथै रामगीता पनि लेखे । रामायण उत्तर काण्डको रामगीता अनुवाद गर्दा भानुभक्त कालज्वरले मरणासन्न स्थितिमा थिए । यो रचना उनले आफूले भन्ने र छोरा रामनाथलाई लेख्न लगाएका थिए । अन्ततः त्यसपछि वि.संं.१९२५ असोज ६ गते उनको देहान्त भयो । यसरी रामगीता उनको अन्तिम सिर्जना हो ।
इस्वीको तीन सयदेखि चार सय वर्षअघि संस्कृत भाषामा लेखिएको मानिएको वाल्मीकि रामायण विश्वको पहिलो रामायण हो । यो महाकाव्य रामको जीवनीबारे लेखिएको प्रथम साहित्यिक कृति पनि हो । यसै कारण यस कृतिलाई आदिकाव्य तथा वाल्मीकिलाई आदिकवि भन्ने गरिएको छ ।
त्यसो त संस्कृत काव्य परम्परामा वाल्मीकि रामायणको प्रेरणा र प्रभाव कवि कालीदासदेखि पछिल्ला धेरै कविहरूमा परेको देखिन्छ । रामायण वा रामको कथालाई आधार बनाएर काव्य लेख्ने प्रचलन संस्कृत भाषामा मात्र नभएर अन्य धेरै भाषामा पनि रहेको पाइन्छ । एघारौं वाह्रौं शताव्दीतिर लेखिएको कम्बको तमिल रामायण, पन्ध्रौ शताव्दीको कृतिवासको बङ्गला रामायण, सत्रौं शताब्दीमा अवधिमा लेखिएको तुलसीदासको रामचरितमानस आदि यसका उदाहरण हुन् । त्यसमा पनि कम्बको तमिल भाषामा लेखिएको रामायणलाई सबैभन्दा लोकप्रिय र सर्वश्रेष्ठ काव्यकृति मानिएको छ । भारतीय भाषाहरूमा उपलब्ध रामायणहरूमध्ये यो सबैभन्दा प्राचीन महाकाव्य पनि हो । त्यसो त मलेसिया, जापान, लाओस, बर्मा, श्रीलङ्का आदि क्षेत्रका भाषामा पनि रामायण वा रामकथामा काव्य लेखिएका छन् । यसै गरी थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, चीन, बाली तथा मालद्वीपमा समेत विभिन्न शीर्षकमा रामकथा प्रचलित र प्रकाशित समेत भएका देखिन्छन् । काश्मिरी, उडिसा, प्राकृत संस्कृत, तामिल, तेलुगु, कन्नड, सन्थाली, मणिपुरी, असमेली, गुजरातीजस्ता भाषामा पनि अनेक प्रकारका रामायण वा रामकथाहरू लेखिएका छन् । ती रामकथा वा रामायणमा आआफ्नै समाज, संस्कृति, भाषा र धर्मपरम्पराको विशेषता रहे तापनि सबै रामकथाहरू एकापसमा सम्बन्धित पनि रहेका छन् ।
यसरी विगत लामो समयदेखि मूलतः दक्षिण वा दक्षिण पूर्वी एसियामा रामायणको फैलिदो प्रभाव छ । कतिपय विद्वानका अनुसार संसारभर करिब तीन सय प्रकारका रामायण वा रामकथा विद्यमान रहेका छन् । वैदिक संस्कृत साहित्यदेखि लिएर वाल्मीकि रामायण हुँदै महाभारतको रामकथादेखि बौद्ध रामकथा र जैन रामकथा सम्मको यसको यात्रा सबैतिर व्याप्त देखिन्छ ।
नेपाली भाषामा भानुभक्तद्वारा रामायणको अनुवाद हुनुअघि नेपालमा पुराणहरू पढ्ने प्रचलन निकै थियो । भानुभक्तको रामायण आइसकेपछि भने धेरै नेपालीका घर घरमा रामायणका श्लोक गुन्जिन थाले । आफ्नो साढे तीन दशक जति लामो सिर्जना यात्रामा भानुभक्तले रामायणको अनुवादका साथै भक्तमाला, प्रश्नोत्तरमाला र वधूशिक्षा गरी चारओटा लघुकाव्य कृतिका साथै उनन्चालिस ओटा फुटकर कविता लेखेका छन् ।
भानुभक्तको रामायण संस्कृत अध्यात्म रामायणको नेपाली भावानुवाद हो । उनले वि. सं. १८९८ देखि १९१० को अवधिमा यसलाई पूरा गरेका थिए । अनुवाद भए तापनि भानुभक्तले यस कृतिलाई आफ्नो सिर्जनशीलताले मौलिक जस्तै बनाएर प्रस्तुत गरेका छन् । यसलाई धेरैले अनुवाद र मौलिकताको दोसाँधमा उभिएको काव्य कृति मानेका छन् ।
तत्कालीन नेपाली समाजमा रामको कथा प्रचार गर्नु यसको प्रमुख उद्देश्य थियो । यसमा उनले आदर्श रामको कथालाई सरल र सुबोध नेपाली भाषामा प्रस्तुत गरेका छन् । उनले रामायण काव्यका माध्यमबाट नेपाली समाजमा मूलतः आध्यात्मिक चेतना र नैतिक जागरण फैलाउन खोजेका छन् ।
पहिले नेपालमा भानुजयन्ती मनाउने प्रचलन थिएन । सर्वप्रथम भानुजयन्ती दार्जिलिङबाट मनाउन थालिएको हो । पछि मात्र नेपालमा मनाउन थालियो । अहिले पनि दार्जिलिङ र सिक्किममा जुन भव्यताका साथ भानुजयन्ती मनाउने गरिन्छ, त्यस स्तरमा नेपालमा मनाइएको देखिदैन । पछिल्लो समयमा भने देशभित्र र बाहिर समेत यसलाई व्यापक बनाउन थालिएको देखिन्छ । साथै भानुजयन्तीका सन्दर्भमा कतिपय संस्थाहरूले आजभोलि विभिन्न सिर्जनात्मक कामहरू पनि गरेको पाइन्छ । तिनले भानुभक्तको परिचयलाई अझै फराकिलो बनाउन सहयोग गरेका छन् ।
नेपाली साहित्यका क्षेत्रमा भानुभक्तका बारेमा कतिपय विवाद अझै विद्यमान छ । उनका जीवनीसँग जोडिएका सन्दर्भ बारेका विवाद त आफ्नै ठाँउमा छन्, त्यसबाहेक उनको आदिकवित्व र ऐतिहासिक भूमिका तथा काव्यचिन्तनका बारेमा समेत विवाद रहेका छन् । ती अस्वभाविक छैनन् र कुनै आपसी सम्झौताबाट समाप्त हुने विषय पनि होइनन् । भानुभक्तको परिचर्चा कुनै नयाँ शक्तिशाली स्रष्टाको जस्तै बारम्बार भइरहनुमा सायद यी विवाद र विमर्शहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।
समग्रमा भन्दा भानुभक्तले नेपाली भाषासाहित्यको एउटा विशेष कालखण्डमा रामायणको नेपालीमा अनुवाद गर्नुका साथै अन्य काव्यकृतिहरूको रचना गरी ऐतिहासिक योगदान गरेका छन् । यस अर्थमा उनी स्मरणीय र आदरणीय रहेका छन् । साथै पछिसम्म पनि विमर्शको केन्द्रमा रहिरहने छन् ।
लेखक नेपाल संस्कृत विश्वविद्यालय, जनता विद्यापीठ विजौरी, दाङमा प्राध्यापनरत छन्