कञ्चनपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित
कञ्चनपुर जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले जिल्लालाई एक समारोहका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रममा उनले सबै बालबालिकालाई खोपको सुनिश्चितता गरिएको बताए । स्वास्थ्यमा सबैको पहुँच अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाइएको उनको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गत वर्षदेखि नै जिल्लालाई पूर्णखोप सुनिश्चितताका लागि कार्य अगाडि बढाइए पनि कोरोनाको बढ्दो सङ्क्रमणका कारण घोषणा कार्यक्रम हुन नसकेको बताए ।
बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकाङ्क पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उनले बताए।
कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले १६ महिनादेखि माथि २३ महिनाभित्रका आठ हजार बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको बताए ।