मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठकको दोस्रो दिन : गठबन्धनको पक्षमा एकमत !

मङ्गलबार, २८ असार २०७९, २० : ३२
मङ्गलबार, २८ असार २०७९

नेपाली काँग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गरेर जाने प्रस्ट सङ्केत देखाएको छ । सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश नेताहरू गठबन्धनको पक्षमा उभिएका छन् । सोमबार र मंगलबार गरी ४५ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन् ।

सोमबारको बैठकमा धारणा राखेका अधिकांश नेताले गठबन्धनको विपक्षमा मत राखेका थिए । सात प्रदेशका सभापतिहरू पनि गठबन्धनको पक्ष विपक्षमा विभाजित भएका थिए । पार्टीको संस्थापन पक्षकै केही नेताले सोमबारको बैठकमा गठबन्धन भन्दा पार्टीलाई एकताबद्ध बनाएर जानुपर्नेमा जोड दिएका थिए । तर पनि मंगलबारको बैठकमा गठबन्धनको पक्षमा जबरजस्त माहौल देखिएको छ ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि प्रकाश रसाइलीसम्मले गठबन्धनको पक्षमा मत राखेका थिए । पौडेलले भने, ‘गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा राम्रो परिणाम आएको छ । गठबन्धन गरेर केही नराम्रो भएको छैन । गठबन्धनका बारेमा तथानाम नबोलौँ ।’ पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएको जिकिर गरे । ‘गठबन्धन गर्नुपर्छ गठबन्धन आवश्यक छ । अहिले सिद्धान्तको द्वन्द्व होइन, राष्ट्रमा स्थायित्व चाहने कि नचाहने भन्ने हो ।’

अहिले काँग्रेस र कम्युनिस्टको द्वन्द्व नभई संविधान बचाउन चाहने कि नचाहने बीच भएको पौडेलको भनाइ छ । ‘अहिले कम्युनिस्ट र काँग्रेसको द्वन्द्व होइन । देशमा स्थायित्व चाहने र नचाहने ?,’ उनको प्रश्न छ, ‘यो संविधान बचाउन चाहने कि नचाहने बीचको द्वन्द्व हो । संविधान बचाउनेहरूलाई दिएर हामी अगाडि बढ्ने हो ।’

सोमबारको बैठकमा नेता शेखर कोइराला गठबन्धन गर्दा पार्टीले बढी सिट जिते पनि सिद्धान्त खोज्नुपर्ने अवस्था आएको बताएका थिए । तर पौडेलले कोइरालाको भनाइलाई काउन्टर हुने गरी स्थायित्वका लागि गठबन्धन आवश्यक भएको बताए ।

यस्तै केन्द्रीय सदस्य रमेश लेखकले गठबन्धन गर्दा स्थानीय निर्वाचनले राम्रा परिणाम दिएको भन्दै गठबन्धनमा जानुपर्ने बताए ।

‘गठबन्धन हुनुपर्छ । किन भने सबै कम्युनिस्टको मत जोड्दा दुई तिहाइ हुन्छ । हामीसँग दुई वटा विकल्प छ । कि त त हामी एक्लै लडेर पनि दुई तिहाइभन्दा बढी मत ल्याउन सक्छौँ भन्ने कुराको कार्य योजना ल्याऔँ र त्यसमा छलफल गरौँ,’ लेखकले बैठकमा भने, ‘होइन भने अहिलेको गठबन्धनलाई निरन्तरता दिएर पहिलो पार्टी बन्ने बाटोमा लागौँ ।’

यस्तै लेखकले केन्द्रीय समिति बैठकबाट गठबन्धनको पक्ष विपक्षमा मत विभाजन नहुने गरी निर्णयमा पुग्नुपर्नेमा सभापतिको ध्यानाकर्षण गराए ।

‘केन्द्रीय समिति बैठक सकेर बाहिर जाँदै गर्दा एकथरी मानिसले गठबन्धन गर्नुपर्छ भन्ने र अर्को थरी मानिसले गठबन्धन गर्नु हुँदैन भन्ने मत विभाजन हुनु भएन । सभापतिजीले गठबन्धन गर्नुहुन्न भन्ने विचारलाई पनि गम्भीरता पूर्वक लिएर, सोचेर, साथीहरूसँग व्यापक छलफल गरेर गठबन्धन गर्ने गरेर पार्टीलाई एक ढिक्का बनाउनुपर्छ,’ उनी भन्छन् ।

गठबन्धन मापदण्ड स्थानीय निर्वाचनको मत परिणामका आधारमा बनाउनुपर्नेमा जोड दिएका थिए । पार्टीको प्रभाव र जित्न सक्ने उम्मेदवारलाई टिकट दिनुपर्ने केही केन्द्रीय सदस्यको जोड थियो ।

काँग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले आगामी निर्वाचनमा आफ्नो सिट सुरक्षित हुने गरी गठबन्धन हुनुपर्ने बताएका छन् । उनले तालमेल गर्दा आफ्नो सिट सुरक्षित नभए विद्रोह गर्ने चेतावनी समेत दिए ।

बैठकमा उनले गठबन्धनको नाममा आफूहरूको चुनावी क्षेत्र खोसिन नहुने उनको भनाइ थियो । उनले भने, ‘सिन्धुपाल्चोकमा चलखेल नहोस् । यहाँ चलखेल गर्न खोजिएको छ । यो मलाई स्वीकार्य छैन । सिन्धुपाल्चोकमा बारेमा मैले निर्णय लिन पाउनुपर्छ ।’ केन्द्रीय सदस्य रमेशजंग रायमाझीले भोजपुरमा गठबन्धन गर्न नहुने बताए । माओवादी केन्द्रका नेता सुदन किरातीसँग पराजित भएका रायमामाझीले आफ्नो टिकट सुरक्षित नभए विद्रोह हुने बताए ।

यस्तै केन्द्रीय सदस्य योगेन्द्र चौधरीले गठबन्धनका नाममा ०७४ मा जितेको दललाई सोही क्षेत्र दिन नहुने बताए । उनले भने, ‘०७४ मा जितेको दललाई सोही क्षेत्र दिने कुराले राम्रो गर्दैन । त्यहाँ कुन पार्टीको प्रभाव के छ ? मूल्याङ्कन गरेर सिट बाँडफाँट गरिनुपर्छ ।’

नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकासमन्त्री मेटमणि चौधरी र योगेन्द्रको निर्वाचन क्षेत्र एउटै हो । दाङको क्षेत्र नम्बर एकमा चुनाव लड्ने तयारी गरिरहेका योगेन्द्रले मेटमणिलाई टिकट दिँदा चुनाव जित्न नसकिने बताए ।

शंकर भण्डारीले पनि गठबन्धन गरेर जानुपर्ने बताए । उनले भने, ‘ गठबन्धन गरेर जाने कुरामा विमति छैन । एकीकृत समाजवादी शीर्ष नेताहरूले नै गठबन्धनबारे जथाभावी बोलेको सुनिन्छ । गठबन्धन गर्दै गर्दा शीर्ष तहबाट यस्तो कुरा आउनु भएन ।’

उनले गठबन्धन काँग्रेसको मात्र आवश्यकता नभई पाँच दलकै लागि आवश्यक रहेको बताए । पाँच दलीय गठबन्धनमा सबैले आवश्यकता अनुसार जिम्मेवारी वहन गर्नुपर्ने बताए । यस्तै हिन्दु राष्ट्रको विषयमा एजेण्डा बनाएर जानुपर्ने उनको भनाइ थियो ।  बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले  पनि ‘काँग्रेसको भोट बैंक के हो ?’ भन्दै प्रश्न गरे । उनले हिन्दु धर्मको विषय लिएर निर्वाचनमा जाने कि नजानेबारे पनि छलफल हुनुपर्ने बताए ।

यस्तै रसाइलीले पाँच दलीय गठबन्धन बाहिर पनि गठबन्धनको बाटो खुला राख्नुपर्ने बताए । माओवादी केन्द्र र एकीकृत समाजवादीले वाम एकताको बाटो खुला राखेको उल्लेख गर्दै रसाइलीले काँग्रेसले पनि सबैका लागि गठबन्धनको बाटो खुला राख्नुपर्ने बताए।

उनले भने, ‘जसरी माओवादी र एकीकृत समाजवादीले काँग्रेसका कारण निर्वाचनमा अपेक्षित परिणाम नआएको भनेर पार्टीको बैठकमा राखेर वाम एकताको बाटो खुला राखेका छन्, हामीले पनि  सबैका निम्ति बाटो खुला राख्नुपर्छ।’  

मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, उदयशम्शेर राणा, जीतजंग बस्नेत, गोविन्दबहादुर शाह लगायतले पनि गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखेका थिए । सोमबारको बैठकमा गठबन्धन गर्न नहुने मत राख्ने नेताहरूलाई सभापति देउवाले एक्लै चुनाव जितेर देखाउन चुनौती दिएपछि आजको बैठकमा माहौल नै फेरिएको एक केन्द्रीय सदस्यले बताए ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवा गठबन्धन भन्दा दायाँ बायाँ गर्ने मुडमा नभएको पाएपछि केन्द्रीय सदस्यहरू पनि सोही अनुसार प्रस्तुत भएको नेताहरू बताउँछन् । ती नेताका अनुसार गठबन्धन गरेर जाँदा आफ्नो टिकट खोसिने भयले केही नेताले सामान्य विरोधको स्वर सुनिए पनि गठबन्धनको खिलाफमा भने कोही नेता पनि उभिएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप