शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

बीआरआई अघि बढाउन ढिलाइ गर्नुहुँदैन : नेपाली काँग्रेस

मङ्गलबार, २८ असार २०७९, १९ : ४०
मङ्गलबार, २८ असार २०७९

नेपाली काँग्रेसले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानछाओसँग सोमबार भएको भेटघाटमा  चीन सरकारसँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्न नहुने कुरा राखेको छ ।  चीन सरकारले अघि सारेको द बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्नेमा काँग्रेस स्पष्ट रहेको धारणा पार्टीले चिनियाँ नेतासमक्ष राखेको हो ।

भेटघाट कार्यक्रममा नेपाल र चीनबीचको विशिष्ट सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भएको महामन्त्री गगन थापाले जानकारी दिएका छन् |  नेपालको आफ्नो राष्ट्रिय हितमा हुने गरी सबै मित्र राष्ट्रहरूबाट विकास सहायता लिनुपर्छ भन्ने काँग्रेसको धारणा रहेको र नेपालको विद्यमान आर्थिक अवस्था र विकासको जुन चरणमा नेपाल आज उभिएको छ त्यस चरणबाट अघि बढ्न सबै मित्र राष्ट्रहरूबाट प्राप्त हुने स्रोतको व्यवस्थापन आवश्यक रहेको कुरा काँग्रेसले चिनियाँ नेता समक्ष राखेको थापाको भनाइ छ।

भेटवार्तामा निम्न विषयहरूमा चर्चा गरिएको उनले जानकारी दिएका छन्:
१. नेपाली काँग्रेस, नेपाल-चीनबिचको चिरकालदेखि रहेको विशिष्ट सम्बन्ध र नेपाल-चीन सम्बन्धलाई विशिष्ट बनाउन पार्टीका संस्थापक नेता बिपी कोइरालाले पुर्‍याउनु भएको योगदानप्रति गौरव र स्मरण गर्दछ।

२. नेपाली काँग्रेस एक चीन नीतिमा प्रतिबद्ध छ। नेपाली भूभाग छिमेकी मित्र राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने कुरामा प्रस्ट, संवेदनशील र सचेत छ।

३. नेपाल काँग्रेस चीन लगायत अन्य छिमेकी, शक्ति राष्ट्र तथा मित्र राष्ट्रहरूसँग सम्मानपूर्ण, मित्रवत् तथा सुमधुर सम्बन्ध राख्छ, राख्न चाहन्छ। साथै, शक्ति राष्ट्रहरूबीच समान, सम्मानपूर्ण र सुमधुर सम्बन्ध होस भन्ने अपेक्षा पनि गर्दछ। तर, शक्ति राष्ट्रहरूबीच हुने कुनै पनि रणनीतिक, सामरिक, सैन्य गठबन्धन वा अन्य प्रकारका प्रतिस्पर्धामा नेपाल सहभागी हुँदैन, हुनुहुँदैन भन्नेमा नेपाली काँग्रेस प्रस्ट छ।

४. नेपाली काँग्रेस नेपालमा विद्यमान विकासको आवश्यकता, उत्कट चाहना र त्यसका लागि आवश्यक स्रोतको अभाव र अन्तर (gap) लाई परिपूर्ति गर्न सबै छिमेकी तथा मित्र राष्ट्रहरूबाट नेपालको राष्ट्रिय हित अनुकूल सहयोग र सहायता लिनुपर्छ भन्ने ठान्दछ। नेपालको आफ्नो राष्ट्रिय हितमा हुने गरी सबै मित्र राष्ट्रहरूबाट विकास सहायता लिनुपर्छ भन्ने नेपाली काँग्रेसको धारणा हो । नेपालको विद्यमान आर्थिक अवस्था र विकासको जुन चरणमा नेपाल आज उभिएको छ त्यस चरणबाट अघि बढ्न सबै मित्र राष्ट्रहरूबाट प्राप्त हुने स्रोतको व्यवस्थापन आवश्यक रहेको छ।

५. यस परिवेशमा नेपाल चीनको निकटतम छिमेकी तथा मित्र राष्ट्र भएकोले नेपाली काँग्रेस, चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता र सहयोगको उच्च कदर गर्दै, भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख्दछ। यस सन्दर्भमा चीन सरकारले अघि सारेको The Belt and Road Initiative (BRI) परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्दछ । साथै चीन सरकारसँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नु हुन्न भन्नेमा नेपाली काँग्रेस प्रस्ट छ।

६. नेपाली काँग्रेस, नेपाली लोकतन्त्र र राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण, पुरानो, र परिपक्व राजनीतिक शक्ति हो। अतः चीनप्रतिको नेपाली काँग्रेसको धारणा र दृष्टिकोण चुनावी परिणाम वा सरकारमा नेपाली काँग्रेसको उपस्थितिको बनोटबाट निर्देशित हुँदैन । नेपाल र चीनको न्यानो र ऐतिहासिक सम्बन्ध छ । नेपाली काँग्रेस चीनलाई नेपालको महत्त्वपूर्ण मित्रराष्ट्रको रूपमा लिँदै आएको छ र भविष्यमा पनि लिने छ । साथै निकटतम छिमेकी समेत भएकाले चीन नेपालको विकास प्रक्रियाको महत्त्वपूर्ण साझेदार हो भन्ने बुझाई नेपाली काँग्रेसको हो।
७. चीनको,नेपाल र नेपालका दलहरूसँगको सम्बन्ध र व्यवहार पनि सधैँ समान रहन्छ, कुनै विशिष्ट विचार मध्यनजर रहँदैन भन्ने अपेक्षा र विश्वास राख्दछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप