शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षीले बहिष्कार गरेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक आज पनि स्थगित

मङ्गलबार, २८ असार २०७९, १७ : ०४
मङ्गलबार, २८ असार २०७९

विपक्षी दल उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक मंगलबार पनि स्थगित भएको छ । सोमबार बसेको प्रदेशसभा बैठक पनि विपक्षी उपस्थित नभएपछि स्थगित भएको थियो । प्रदेश सभाको दशौँ अधिवेशन अन्तर्गत बैठक पाँच पटक सूचना टाँस गरेर, एक पटक गणपूरक संख्या नपुगेर तथा दुई पटक प्रतिपक्षी दल उपस्थित नहुँदा स्थगित भएको छ ।

मंगलबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि गणपूरक संख्या नपुगेकाले बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको बैठक प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिस्कार गरे भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहे । बिहान ११ बजे आह्वान गरिएको बैठकमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुको अनुपस्थिति थियो भने एकीकृत समाजवादी र माओवादी केन्द्रका केही प्रदेश सभा सदस्य पनि सहभागी थिएनन् ।

दिउँसो ३ बजे बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल तथा प्रतिपक्षी दलहरुको सहभागी नहुँदा बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुखले जानकारी गराएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अगाडि बढाउन सरकारभित्रैका प्रदेशसभा सदस्यहरुबीच आन्तरिक द्वन्द्व रहेको नेकपा एमालेका प्रदेशसभा सदस्य एवं प्रमुख सचेतक लिलाधर भट्टले बताए । ‘सत्तापक्षका माननीयलाई सहमतिमा ल्याउन प्रदेश सरकारलाई सकस परिरहेको छ,’ उनले भने, ‘उनीहरुलाई सहमतिमा नल्याएसम्म हामीलाई छलफलमा बोलाउने कुरै हुँदैन ।’

उनले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले वार्ताका लागि बोलाउने भने पनि नबोलाइएको बताए । उनले यो बजेट प्रदेशवासीको हितमा नरहेको दाबीसमेत गरे ।

मंगलबार एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक बसेको थियो । प्रमुख सचेतक दुर्गा विकले आह्वान गरेको बैठकमा बजेट परिस्कृत भएर आएमा मात्र समर्थन जनाउनेबारे छलफल भएको स्रोतको भनाइ छ ।

नेपाली काँग्रेसका संसदीय दलका नेता तथा आन्तरिक मामिला मन्त्री रणबहादुर रावलको अध्यक्षतमा बसेको काँग्रेस संसदीय दलको बैठकमा पनि नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरुले आगामी आर्थिक वर्षको बजेटको विरोध गरेका थिए ।

बजेटमाथि नेकपा माओवादी केन्द्रका एकदुई जना प्रदेशसभा सदस्यहरुको विमति भए पनि अन्य सदस्यहरु भने पारित गराउने पक्षमा रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप