बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एउटा विषयमा मात्र काँग्रेससँग सहकार्य, बाँकीमा प्रतिस्पर्धा र संघर्ष : भट्टराई

मङ्गलबार, २८ असार २०७९, १५ : ००
मङ्गलबार, २८ असार २०७९

काठमाडौं । जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काँग्रेससँग एउटा विषयमा मात्र सहकार्य हुने प्रस्ट पारेका छन् । जडीबुटीमा आयोजित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले काँग्रेसबारे विस्तृत टिप्पणी गरेका हुन् ।

डा. भट्टराईले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा काँग्रेससँग आफूहरुको सहकार्य हुन सक्ने, बाँकी प्रश्नमा प्रतिस्पर्धा र संघर्ष हुने राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले वैचारिक दृष्टिकोणले नेपाली काँग्रेस उदारवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल रहेको प्रस्ट पारेका छन् । काँग्रेसले दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेख्ने गरे पनि उसको नीति, कार्यक्रम र व्यवहारमा ‘समाजवाद’ अहिलेसम्म कहीँ कतै नदेखिएको भट्टराईले उल्लेख गरेका छन् ।

काँग्रेसले भन्ने गरेको ‘प्रजातन्त्र’ पनि पुरानो, ठिमाहा वा खच्चड, संसदीय र औपचारिक लोकतन्त्रमात्र रहेको उनको ठहर छ । उनले प्रतिवेदनमा भनेका छन्, ‘लोकतन्त्रको अझ बढी विकास गर्ने, लोकतन्त्रलाई सहभागितामूलक, प्रत्यक्ष, समावेशी, समानुपातिक, संघात्मक, पूर्ण र शुद्ध ( परफेक्ट एण्ड पियोर) ढाँचा वा प्रारुपमा विकास गर्न यो पार्टीको कुनै रुचि देखिँदैन ।’ २०४६ साल यता काँग्रेसका सबै नीति र व्यवहार नवउदारवादी उदारीकण, निजीकरण र भूमण्डलीकरणबाट प्रभावित रहेको उनले जनाए ।

‘यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो । जनताको बद्लिँदो चेतना र दबाबले गणतन्त्रसम्म स्वीकार गर्न थाल्यो,’ राजनीतिक प्रतिवेदनमा उनले भनेका छन्, ‘तर, संघवाद र समावेशी लोकतन्त्रलाई अझै यसले जिवन्त, ठोस र मूर्त ढंगले स्वीकार गरिसकेको छैन ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप