सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

सिमेन्ट उद्योगले पालना गरेनन् सहमति, सडकको दुर्दशा

मङ्गलबार, २८ असार २०७९, १४ : ४०
मङ्गलबार, २८ असार २०७९

दाङ । सडकभरि जताततै खाडल, तिनै खाडलमा कतै ढुुङ्गामाटो, कतै रातो माटोको थुप्रो छ । तलदेखि माथिसम्म ट्रयाक्टरले लगातार सडकमा माटो थुुपारिरहेका छन् । सिमेन्ट उद्योगका सयौँ टिपरले महिनादिनमै कालोपत्रे सडक भत्काएपछि खाल्डो पुर्न यसरी सडकमा माटो थुपारिएको हो ।

सडक तथा खानी प्रभावितदेखि स्थानीय सरकारसम्मले सडक मर्मतसम्भार, धुलोधुँवा नियन्त्रणको माग राख्दै सो सडकमा टिपर सञ्चालनमा रोक लगाए । सुरुमा स्थानीयवासी र स्थानीय सरकारको मागप्रति बेवास्ता गरेका सिमेन्ट उद्योगले असार लागेसँगै सडक मर्मत गर्ने सम्झौता कार्यान्वयनका लागि चासो देखाए । तर सम्झौताअनुसार सिमेन्ट उद्योगले ग्राभेल बिछ्याएर सडक मर्मत गर्नुपर्नेमा छेउछाउको  ढुुङ्गामाटाले खाल्डा पुर्न थालेपछि स्थानीयवासी झन् पीडित हुन पुगेका छन् ।

बंगलाचुुली वडा नंं ३, कमिरेचौरका नोखीराम विकले भने, ‘कालोपत्रे सडक भत्किएपछि खाल्डा पुर्न माटो हालिएको छ, जसले गर्दा वर्षामा हिलो र घाम लाग्दा धुलोको सास्ती छ ।’

मर्मतसम्भारका नाममा उद्योगले सडकभरि माटो हाल्दा हिलो र धुलोको समस्या अझ बढेको उनको भनाइ छ । उद्योगले मर्मतसम्भारका नाममा स्थानीयवासीको आँखामा छारो हाल्ने काममात्रै गरेको उनले बताए ।

मदनभण्डारी राजमार्ग अन्तर्गत पर्ने घोराही–मुुर्कुुटी सडक ३३ करोड लागतमा लुम्बिनी जलजला जेभीले कालोपत्रे गरेको हो । उक्त सडकखण्ड अन्तर्गत १९ किलोमिटर सडक कालोपत्रेको काम ०७८ चैत मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको थियो । निर्माण कम्पनीले उक्त सडक निर्माणको काम ०७७ असारसम्म ८१ प्रतिशत भ्याइसकेको थियो ।

निर्माण सम्पन्न नहुँदै सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने सयौँ टिपर दौडन थालेपछि कालोपत्रे सडक महिनादिनमै भत्कियो । लामो रस्साकस्सीपछि सडक मर्मतको काम सुरु गर्न थालिएको भए पनि अहिले खाल्डामा माटो भर्ने काममात्र गरेर स्थानीयवासीलाई अलमल्याउने काम भएको पीडित बासिन्दा बताउँछन् ।

उद्योगको मनपरी

खानी प्रभावित तथा पीडितको समस्याप्रति सरकार र उद्योग दुवै जवाफदेही नभएको स्थानीयवासीको गुनासो छ । उद्योग चुनढुङ्गा उत्खनन् गरी आफ्नो उत्पादन बढाउने एक मात्र लक्ष्य राखेको र सरकारले पनि ती उद्योगबाट आउने राजस्वलाई मात्र महत्त्व दिएका कारण आफूहरू दैनिक धुलोमा पिल्सिनु परेको उनीहरू बताउँछन् ।

स्थानीयवासी मोतिलाल बिष्टले भने, ‘कालोपत्रे सडकमा माटोको टालो हाल्दै फेरि टिपर चलाउन थालिएको छ, सडक कालोपत्रे गर्ने, धुलोहिलो नियन्त्रण गर्ने, समयसीमा तोकेर टिपर सञ्चालन गर्ने लगायतका सहमति भए पनि तिनलाई कार्यान्वयन गर्न उद्योगहरूले चासो देखाएका छैनन् ।’

‘कि सम्झौता कार्यान्वयन गर, कि खानी र टिपर बन्द गर’

सिमेन्ट उद्योगहरूले खानी प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने स्थानीयवासी बताउँछन् । कि सम्झौता कार्यान्वयन गर्नुपर्ने कि त खानी र टिपर नै बन्द गर्नुपर्ने आफूहरूको माग रहेको उनीहरूले बताए ।

सोमबार खानी तथा टिपर प्रभावित स्थानीयवासीले भेला आयोजना गरेर यस्तो माग राखेका हुन् । उद्योगहरूले दादागिरी शैलीमा आफूहरूको जनस्वास्थ्यमाथि खेलवाड गर्दै सडक मर्मतसम्भार, धुलोहिलो नियन्त्रण तथा तापाचोकदेखि खानीसम्मको करिव ३ किलोमिटर सडक कालोपत्रे काम पूरा नगरी टिपर सञ्चालन गरिरहेको उनीहरुको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप