मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमै खाद्य बालीमा दाङ र तरकारी खेतीमा रुपन्देही अगाडि

मङ्गलबार, २८ असार २०७९, ११ : ३६
मङ्गलबार, २८ असार २०७९

बुटवल । लुम्बिनी प्रदेशमा खाद्य बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ । प्रदेशमा गत वर्षको तुलनामा खाद्य बालीले ढाकेको क्षेत्र २.६४ प्रतिशतले वृद्धि भई ७ लाख ९६ हजार ८५९ हेक्टर कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो आर्थिक सर्वेक्षण अनुसार कोदो, फापर, गहुँजस्ता बालीको क्षेत्रफल वृद्धि भएको छ । गुल्मी र नवलपरासी पश्चिम जिल्लामा कोदो बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ । यस्तै पूर्व रुकुम, रोल्पा, प्युठान र दाङ जिल्लामा फापर बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको जनाइएको छ ।

प्रतिवेदनमा कोदो बालीले ढाकेको क्षेत्रफल २१०.६६ प्रतिशतले र फापर बालीले ढाकेको क्षेत्रफल १६७.४५ प्रतिशतले वृद्धि भएको छ । मकै, गहुँ, आलु आदि बालीको क्षेत्रफल पनि वृद्धि भएको जनाइएको छ ।

दाङ जिल्ला सबैभन्दा अगाडि

प्रदेशमा दाङ जिल्ला खाद्य बालीले क्षेत्रफल ओगट्ने जिल्लाको सूचीमा सबैभन्दा अगाडि छ । पछिल्लो आर्थिक सर्वेक्षणमा लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै खाद्य बालीको क्षेत्रफल दाङ जिल्लामा छ भने सबैभन्दा कम पूर्व रुकुम जिल्ला पर्दछ ।

दाङ जिल्लाले खाद्य बालीमा प्रदेशको कुल १५ दशमलव १४ प्रतिशत हिस्सा ओगटेको छ । यस्तै पहाडी जिल्ला पूर्वी रुकुमको २.२३ प्रतिशत हिस्सा छ ।

कपिलवस्तु जिल्ला दोस्रोमा छ । खाद्य बालीमा कपिलवस्तुले १४.१० प्रतिशत क्षेत्रफल ओगटेको छ । खाद्य तथा बालीमा रुपन्देहीले १३.८१ प्रतिशत, बर्दियाले १३.६९ प्रतिशत र बाँकेले ९.६६ प्रतिशत क्षेत्रफल ओगटेका छन् ।

नवलपरासीले ५.७४ प्रतिशत, गुल्मीले ७.९६ प्रतिशत, पाल्पाले ५.२९ प्रतिशत, अर्घाखाँचीले ४.४६ प्रतिशत, प्युठानले ४.१८ प्रतिशत र रोल्पाले ३.७५ प्रतिशत हिस्सा ओगटेका छन् ।

तरकारी उत्पादनमा रुपन्देही अगाडि

तरकारी उत्पादनमा भने अघिल्लो वर्षको तुलनामा कमी आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष ४ लाख १० हजार टनको हाराहारीमा तरकारी उत्पादन भएकोमा यो वर्ष ३ लाख ४१ हजार १५१ टन उत्पादन भएको छ ।

तरकारी उत्पादनमा रुपन्देही जिल्ला प्रदेशमै अगाडि देखिन्छ । प्रदेशको २९ प्रतिशत तरकारीको हिस्सा रुपन्देही जिल्लाले ओगटेको छ । यस्तै दाङले २३.४५ प्रतिशत, कपिलवस्तुले ११.२६ प्रतिशत, रोल्पाले ५.९९ प्रतिशत हिस्सा ओगटेको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार पाल्पाले ५.४६ प्रतिशत, बर्दियाले ४.४०, बाँकेले ३.२४ प्रतिशत, नवलपरासीले ३.२४ प्रतिशत, अर्घाखाँचीले ३.४७ प्रतिशत, गुल्मीले २.९७ प्रतिशत र रुकुम पूर्वले १.१७ प्रतिशत हिस्सा ओगटेको छ ।

उखु खेती घट्दै

विगतको तुलनामा लुम्बिनी प्रदेशमा उखु खेती घटेको छ । चिनी मिलहरूले उखु किसानलाई समयमा रकम नदिँदा  उखु बाली लगाउन किसान अनिच्छुक देखिएका हुन् ।

नवलपरासी, रुपन्देहीका उखु किसानहरू तरकारी तथा माछा पालन क्षेत्रतिर लागेपछि उखु बालीले ढाकेको क्षेत्रफल घटेको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा सहुलियत कृषि कर्जा सहज बन्न नसक्नु मुख्य समस्या रूपमा देखिएको प्रतिवेदनमा जनाइएको छ । धितो राख्न सक्ने व्यक्तिले मात्र ऋण पाउने भएकाले  भूमिहीनहरू ऋणबाट वञ्चित हुने गरेका छन् भने कृषिमा युवाको आकर्षण कम हुनुजस्ता चुनौतीलाई पनि प्रतिवेदनमा औँल्याइएको छ ।

लुम्बिनी प्रदेश कृषि मन्त्रालयका प्रवक्ता शालिकराम गौतमले प्रदेशको सिंचाई, समयमा मल, उन्नत बिउ तथा यान्त्रीकरण जस्ता विषयलाई ध्यानमा राख्दै कृषि उत्पादनमा जोड दिन मन्त्रालयले प्रयास गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप