संस्कारसहितको शिक्षा : अहिलेको आवश्यकता
हरेक व्यक्तिको बाह्य सफलता व्यक्तिको आन्तरिक क्षमता र उसको दृष्टिकोणमा निर्भर रहन्छ । व्यक्तिको पारिवारिक संस्कार, अध्ययन एवं बाह्य अनुभव, व्यक्तिको प्राकृतिक स्वभाव, शिक्षा, स्वास्थ्य स्थिति लगायतले सफलता स्तरलाई पनि प्रत्यक्ष प्रभाव पार्ने गर्छन् । यसर्थ हरेक व्यक्तिको भाग्य र भविष्य उसले प्राप्त गरेको औपचारिक एवं अनौपचारिक शिक्षा, चेतनास्तर र बाह्य वातावरणमा निर्भर गर्छ । साथै दीर्घकालमा यिनै तत्वहरुको आधारमा हाम्रो बानीव्यवहार र व्यक्तित्व विकास हुने गर्छ ।
व्यक्तिले व्यवहारोपयोगी शिक्षा औपचारिक एवं अनौपचारिक दुवै माध्यमबाट प्राप्त गर्न सक्छ । मानिसले प्राप्त गरेको संस्कार र शिक्षाबाट नै हाम्रो चरित्र निर्माण हुने गर्छ । त्यही चरित्रको आधारमा हाम्रो व्यक्तित्व निर्माण हुने गर्छ । यसर्थ व्यक्तित्व निर्माण एक अत्यन्तै जटिल प्रक्रिया हो । हाम्रो बर्षौंको अनुभव, ज्ञान, सङ्गत, सुख दुःखलगायत विविध पक्षको आधारमा यसको निर्माण भएको हुन्छ ।
संस्कार र प्रविधि सहितको शिक्षाको आवश्यकता
पछिल्लो समय संस्कार र प्रविधि सहितको शिक्षालाई हामीले विशेष जोड दिनुपर्ने अवस्था छ । विश्वबजारमा विकास भएका उत्कृष्ट प्रविधिहरु हामीले ढिलोछिटो त प्राप्त गरेका छौं, यद्यपि निःशुल्क प्राप्त गर्न सकिने हाम्रो धरातलीय यथार्थरुपी कला, संस्कृति, सभ्यताबाट भने हामी टाढिएका छौं । जसले गर्दा हामी आधुनिक बन्ने नाममा हाम्रो पृष्ठभूमि नै बिर्सिंदै गएका छौं । अहिले हाम्रो स्वभाव बदलिँदो छ । हामी क्षणिक लाभमा लालायित बन्दै गएका छौं । अहिलेको पुस्ता र अघिल्लो पुस्ता बीचको दूरी सोच्नै नसकिने गरी बढेको छ ।
पछिल्ला २–३ दशकको छोटो अवधिलाई नै विचार गर्ने हो भने हाम्रा सफलताका मापदण्ड बदलिएका छन् । हाम्रो पितापुर्खाले ठूलो कष्ट सहेर जोडेका उत्कृष्ट ठानिने उत्पादनमय भूमिबाट हामी टाढिएका छौं । आफ्नो पुख्र्यौंली सम्पत्ति पूरै बिक्री गरेर काठमाडौं, बुटबल, भैरहवा, पोखरा, नारायणगढ लगायत सहरी क्षेत्रमा ३–४ आना जग्गामा एउटा घर ठड्याउन सकेको खण्डमा आफूलाई सफल ठान्ने प्रवृत्ति अहिलेको पुस्ताका अधिकांश व्यक्तिमा विकास भएको छ । घर निर्माणबाट हामीलाई नियमित रुपमा केही उपार्जन हुन्छ वा हुँदैन भन्नेमा भने हामी पूर्ण रुपमा बेखबर बन्ने छौं ।
उत्पादनबाट टाढिएको कारण आर्थिक उपार्जनको लागि हामी विप्रेषणमुखी बन्न पुगेका छौं । वैदेशिक भूमिमा अत्यन्तै कष्ट सहेर नेपाल पठाएको उक्त रकम पनि हामीले उपभोग र आयातकै लागि खर्चने गरेका छौं । विप्रेषणलाई हामीले सधैँको लागि नियमित आम्दानीको स्रोतको रुपमा सोचिरहेका छौं । सम्बन्धित देशको सरकारले लिने एउटा निर्णयले हाम्रो भविष्य जुनसुकै बेला खतरामा पर्न सक्छ भन्नेमा हामीले होश पुर्याउन सकेका छैनौं । आखिर यस्तो स्थिति किन सिर्जना हुँदैछ त ? गहिरोसँग सोच्नुपर्ने र सोच बदल्नुपर्ने बेला आएको छ ।
चेतना स्तरमा कमी
प्रविधिको बढ्दो पहुँचसँगै अहिले हामी आफैंले कुनै विषयवस्तुबारे गहिरिएर निश्चित धारणा बनाउनु भन्दा पनि अरुको देखासिकीबाट सहजै प्रभावित हुने संस्कारको विकास भइरहेको छ । हामीलाई शिक्षाले सचेत बनाउनु पर्नेमा त्यसो हुन सकेको छैन । अहिलेको पुस्तालाई सूचना प्राप्तिका कुनै माध्यमको पनि कमी छैन । अलिकति सोधखोज गर्न तयार हुने हो भने मोबाइल र ल्यापटपको स्क्रिनबाट संसारमा विकास भएका सम्बन्धित क्षेत्रका ज्ञान र प्रविधि क्षणभरमा प्राप्त गर्न सकिन्छ । ती सूचनाको आधारमा हामीले आफ्नो आवश्यकताअनुसार धारणा विकास गर्ने सुविधा पनि हामीलाई छ ।
यद्यपि हामी आफ्नो सरोकारवाला क्षेत्रका थोरै अध्ययन पनि नगरी रेडिमेड जवाफका आकाङ्क्षी बनेका छौं । यसो हुनुमा हाम्रो हाम्रो चेतनास्तरको कमजोरीले मुख्य भूमिका खेलेको मान्न सकिन्छ । चेतनास्तरलाई व्यापक र फराकिलो बन्न नदिनमा हाम्रो शिक्षा प्रणालीले पनि बाधक छ । अहिलेको शिक्षाले स्तरवृद्धिसँगै हरेक परिस्थितिलाई पृथक तवरले सोच्न र विष्लेषण गर्न हामीलाई जागरुक गराउन सकेको छैन । शिक्षाले हामीलाई केवल सूचना र तथ्याङ्कलाई सतही रुपमा हेर्न मात्रै सिकायो । कुनै विषयवस्तुको सूचना र तथ्याङ्क प्राप्त गर्दैमा हाम्रो चेतनास्तरमा अभिवृद्धि हुन सक्दैैन, ती सूचना र तथ्याङ्कको आधारमा नयाँ सम्भावना खोजी गर्नुपर्छ भन्ने हामीले सिक्न सकेनौं । यस्तो स्थितिलाई विचार गर्दै हामीलाई साँच्चै चेतनशील बनाउन र गहन तवरले विचार गर्न सक्ने व्यावहारिक शैक्षिक कार्यक्रम हाम्रो शिक्षामा समेटिनु जरुरी छ ।
नैतिक र संस्कारयुक्त शिक्षा
करिब डेढ दशक पहिलेसम्म विद्यालय तहको शिक्षामा संस्कृत शिक्षा पनि संलग्न थियो । यसको अलावा नैतिक तथा नागरिक शिक्षा सञ्चालनमा थियो । उक्त संस्कृत र नैतिक शिक्षाको उद्देश्य मानिसमा सुसंस्कार विकास गर्ने, बानीव्यवहार र आचरणमा सुधार ल्याई अनुशासित एवं आत्मविश्वासी बनाउने रहेको थियो । अहिले यी कार्यक्रम हाम्रो पाठ्यक्रमबाट हटेका छन् । अङ्ग्रेजी भाषालाई प्रवद्र्धन गरिरहँदा बोर्डिङ स्कुलका विद्यार्थीहरुमा हाम्रो चलनचल्तीको नेपाली भाषा नै राम्रोसँग बुझ्न र बोल्न नसकेको स्थिति समेत देखिन थालेको छ ।
उता बोर्डिङ स्कुलहरुमा साना बच्चा माथि लागु गरिने कडा अनुशासनले बालबालिकाको वैयक्तिक स्वतन्त्रता विमुख हुँदै गएको स्थिति, व्यावहारिक ज्ञानको अभाव, खुम्चिँदै गएको परिवार संरचना (बाजे नाति सँगै बस्न नसक्ने स्थिति) र अभिभावकको व्यस्तताले गर्दा समेत सानै उमेरका बालबालिकालाई विद्यालय पठाउनुपर्ने बाध्यता, प्रविधिको अधिक प्रयोग लगायतले बालबालिकाहरुलाई हामीले चाहेबमोजिम संस्कारी बनाउन सकेका छैनौं । अब यस्ता विषयवस्तुहरुमा पनि पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ ।
शिक्षाको मुख्य उद्देश्य
विद्यार्थीलाई विषयवस्तुको सूचना प्रदान गर्नुलाई मात्रै हामीले शिक्षाको उद्देश्य बनाउनु हुँदैन । सचेत, सिर्जनशील, जागरुक र सक्षम जनशक्ति तयार पार्नु पनि हाम्रो शिक्षाको निम्न विशिष्ट उद्देश्य हुनुपर्छ ।
मस्तिष्क र सूचना सम्प्रेषण प्रणाली
सामान्यतया मस्तिष्कको कार्यविशेषताको आधारमा यसलाई २ खण्डमा छुट्याउने गरिन्छ । दायाँ (अवचेतन) मस्तिष्क र बायाँ (चेतन) मस्तिष्क । रचनात्मक क्षमता राख्ने दाँया (अवचेतन) मस्तिष्कले आफूले प्राप्त गरेको जानकारीलाई कुनै विश्लेषण नगरी कार्यरुप दिने सामथ्र्य राख्छ । भावना, कल्पना, तस्वीर र सपनाको प्रत्यक्ष सम्बन्ध दाँया (अवचेतन) मस्तिष्कसँग हुने गर्छ । गहिरो चोटको मुख्य असर पनि दाँया मस्तिष्कमा नै पर्ने गर्छ । अवचेतन मस्तिष्कमा पुगेको सूचना मेटाउन निकै गाह्रो हुन्छ ।
साधारणतया अधिकांश मानिसबाट असम्भव मानिने क्रियाकलापलाई पनि केही व्यक्तिले सार्थक बनाउन सफल हुनुमा उक्त व्यक्तिले दृढ अठोटसहित आफ्नो योजना सार्थक पार्नको लागि गरेको अभ्यास (जसबाट दायाँ मस्तिष्क क्रियाशील बन्न सक्छ) महत्वपूर्ण रहने गरेको मानिन्छ । मस्तिष्कीय क्षमताको ९० प्रतिशत क्षमता दाँया मस्तिष्ककै हुने गर्छ । यद्यपि हाम्रो शिक्षण पद्धतिले दाँया मस्तिष्कलाई सक्रिय बनाउने सम्बन्धमा खासै जोड दिन सकेको पाईंदैन । दाँया मस्तिष्कलाई सक्रिय बनाउन अध्ययन अध्यापनको क्रममा चित्र, नक्सा, कथा, कविता, व्यावहारिक अभ्यास र व्यक्तिगत अनुभव लगायतलाई आधार बनाई शिक्षण प्रक्रिया अबलम्बन गर्नु उपयुक्त हुन सक्छ ।
मस्तिष्कको अर्को भाग हो, बाँया अर्थात् चेतन मस्तिष्क । यसको क्षमता १० प्रतिशत मात्र हुने अनुमान गरिँदै आइएको छ । बुद्धि, विचार, तर्क, गणितको सम्बन्ध बाँया (चेतन) मस्तिष्कसँग हुने गर्छ । मस्तिष्कको यस भागलाई कम्प्युटरको र्याम भने जसरी मस्तिष्कीय र्याम भन्न सकिन्छ, जहाँ सूचना लामो समय रहन सक्दैन । यसैकारण हामीले सुनेर वा पढेर प्राप्त गरेका जानकारी लामो समयसम्म मस्तिष्कमा भण्डार गर्न सक्दैनौं ।
हाम्रो शिक्षण पद्धतिले मूलतः बाँया मस्तिष्कलाई नै सक्रिय गराउने विधिहरुका आधारमा शिक्षण गतिविधिहरु सञ्चालन÷अभ्यासलाई जोड दिँदै आएको छ । जसले गर्दा हाम्रो शिक्षा प्रणालीले सिर्जनशील जनशक्ति उत्पादन गर्न सकेको छैन । दाँया (अवचेतन) र बाँया (चेतन) दुवै मस्तिष्कलाई सन्तुलित रुपमा सञ्चालन गर्न सकेको खण्डमा हाम्रो जीवनले अतुलनीय सफलता हासिल गर्न सक्ने भएकोले यस किसिमको शिक्षण प्रणाली अबलम्बन गर्नुपर्ने आवश्यकता रहन्छ ।
सोचाई र सफलता बीचको सम्बन्ध
हामीले कुनै विषय, वस्तु वा परिस्थितिबारे सोच्दा अथवा सम्झिँदा मस्तिष्कले सबैभन्दा पहिले त्यसको चित्र तयार पार्छ । सोहीबमोजिम हामीलाई व्यावहारिक रुपमा प्रतिक्रिया प्राप्त हुने गर्छ । साधारणतया सबै मानिस आफूलाई रोग नलागेको, आर्थिक स्थिति कमजोर नभएको, अरु कोही भन्दा सामाजिक प्रतिष्ठा तल नपरेको अवस्थामा देख्न चाहन्छन् । अधिकांश समय यही सोचाई हाम्रो मस्तिष्कमा घुमिरहेको हुन्छ । तैपनि हाम्रो अवस्था सदैव कमजोर नै रहने गर्छ । केही सीमित व्यक्तिलाई छाडेर अधिकांशको अवस्था सदैव दयनीय नै रहिरहन्छ । यो प्रश्न धेरै मानिसको लागि चासोको विषय बन्न सक्छ ।
वैज्ञानिक खोजको क्रममा पत्ता लागेबमोजिम हामीले सोचेपश्चात् हाम्रो मस्तिष्कले चित्र बनाउने क्रममा सोच बमोजिमकै चित्र तयार पार्छ । यदि हामीले आफूलाई रोग रोग नलागोस् भनेर कल्पना गर्यौं भने मस्तिष्कले रोगी अवस्थामा अस्पतालमा छट्पटाइरहेको, चरम गरिबीमा पिल्सिएको चित्र तयार पार्छ । अधिकांश व्यक्तिले यसरी नै सोच्ने गर्छन् । गरिबी मनोविज्ञानको आधारमा निर्माण हुने अवचेतन मस्तिष्कको सोही चित्रको आधारमा नै हाम्रो जीवनले पनि हामीलाई विभिन्न परिस्थिति सिर्जना गरिदिन्छ । यसलाई गरिबी मनोविज्ञानको परिणाम वा मनोदशा बिग्रिएको अवस्था भन्न सकिन्छ ।
यसैकारण अहिले जागिरे, साना व्यवसायी र अन्य व्यक्ति जिन्दगीभर सङ्घर्ष गरेरै आफ्नो जीवनकाल व्यतीत गर्छन् । संसारमा करिब १० प्रतिशत सम्पन्न मानिसको हातमा बाँकी ९० प्रतिशत साधारण मानिससँग भए बराबरको सम्पत्ति एकत्रित भएको छ । जसले सोचाईको तरिका बदल्न सके, उनीहरु सफल र सम्पन्न भए । आफूले काम नगरेर पनि संसारलाई आफ्नो हातमा लिए । जसले परम्परागत तवरले नै सोचिरहे, कडा परिश्रममा मात्र विश्वास गरिरहे, उनीहरुले दिनरात नभनी मिहिनेत गर्दा पनि अवस्थामा सुधार आउन सकेन ।
अबको विकल्प के ?
हामीले कडा परिश्रम गरेरै सफलता हासिल गर्न सकिन्छ भन्ने अग्रजहरुबाट सुन्दै र औपचारिक शिक्षामा पढ्दै आएका छौं । व्यावहारिकता भने यस कथनको ठ्याक्कै उल्टो देखियो । कम परिश्रम र परिणाममुखी तवरले सोच विकास गर्न सकेको खण्डमा हामीले परिणाम पनि बदल्न सक्छौं । जसरी रोग नलागेको, पैसाको कमी भएको सोचाईले हामीलाई रोगी र गरिब बनाउँछ, त्यसरी नै आफू पूर्ण स्वस्थ रहेको, व्यावसायिक रुपमा सम्पन्न रहेको र सबैसँग राम्रो सम्बन्ध रहेको कल्पना सहितको विचारधारालाई हामीले निरन्तरता दिन सक्यौं भने त्यही विचारले हामीलाई साँच्ची सफल बन्नको लागि पूर्वाधार तयार गरिदिन्छ ।
हामीमा सकारात्मक सोच र योजना विकास हुने परिस्थिति सिर्जना गराउँछ । यसकारण यदि हामी साँच्चै स्वस्थ रहन चाहन्छौं भने खुसी र शान्तिपूर्वक भव्य महलमा प्रेमपूर्ण स्थितिमा रहन चाहन्छौं भने त्यसै किसिमको सोच हाम्रो मस्तिष्कमा विकास गर्न सक्नुपर्छ । अबका दिनमा हाम्रो औपचारिक शिक्षाले पनि यस्ता सकारात्मक योजना प्रस्तुत गर्ने कार्यक्रमलाई विशेष महत्वसहित समेट्न सक्नुपर्छ ।
सचेत अभ्यासबाट परिवर्तन सम्भव
हामीले सोच्ने तरिका सकारात्मक दृष्टिकोणबाट निर्देशित छ कि नकारात्मक सोचाइबाट निर्देशित छ भन्ने पत्ता लगायांै र यसलाई सुधार्न चाह्यौं भने अवश्य पनि सुधार्न सक्छौं । हाम्रो व्यवहारमा पनि परिवर्तन ल्याउनको लागि सुरुवाती दिनमा सचेत अभ्यास नै आवश्यक रहन्छ । कम्तीमा २१ दिन होशपूर्वक सचेत रुपमा अभ्यास गर्ने प्रयास गर्यौं भने बिस्तारै हाम्रो बानीव्यवहारमा पनि परिवर्तन आउँदै जाने वैज्ञानिक खोजबाट पुष्टि भएको छ ।
विद्यालय शिक्षामै सकारात्मक सन्देश पुर्‍याउँ
बाल मस्तिष्कमा हामीले जे चाह्यौं, त्यो भर्न सकिन्छ । बाल मस्तिष्कलाई काँचो माटोको रुपमा पनि बुझ्न सकिन्छ । यदि काँचो माटो प्राप्त भएको खण्डमा कुमालेले आफ्नो चाहनाअनुसार त्यसलाई विभिन्न स्वरुपमा सजिलै बदल्न सक्छ । यद्यपि पाकेको माटोलाई त्यसरी बदल्न सकिँदैन । यसकारण हामीले साना बालबालिकाहरुलाई उनीहरुलाई कस्तो बनाउने हो, सोही किसिमको शिक्षा सानै उमेरदेखि नै दिन सक्नुपर्छ । शिक्षा, संस्कार र अनुभवको संयोजनबाट हाम्रो चरित्र निर्माण हुने गर्छ । त्यही चरित्रले नै हाम्रो व्यक्तित्व समेत निर्माण गर्छ ।
प्रतिस्पर्धा आफैंसँग गर्ने संस्कार आवश्यक
अहिलेको शिक्षामा विद्यार्थीको उत्कृष्टता मापन आधारको रुपमा परीक्षा प्रणालीलाई नै लिइने गरिएको छ । यसले कतिपय अवस्थामा प्रतिस्पर्धाको क्रममा थोरै मात्रले भएको तल माथिले एक व्यक्ति उत्कृष्ट र अर्को कमजोर भन्ने अर्थ लाग्न सक्छ । यसलाई सुधार गर्नु जरुरी छ । अबको समय सामान्यीकरण नभई विशिष्टीकरण हुँदै गएको छ ।
परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुँदैमा व्यावहारिक जीवनमा समेत हामी उत्कृष्ट हुन सक्छौं भन्ने कुनै ग्यारेन्टी गर्न सकिँदैन । यस्तो स्थितिलाई विचार गर्दै हामीले विशिष्टीकृत शिक्षामा जोड दिई हरेक व्यक्तिमा रहने पृथक क्षमतालाई पहिचान गरी त्यही क्षमतालाई मलजल गर्नुपर्ने आवश्यकता छ ।
अन्त्यमा,
संस्कार र सच्चरित्रता सहितको व्यावहारिक गुणस्तरीय शिक्षा अहिलेको युगको माग बनेको छ । हाम्रो आवश्यकता बमोजिमको जनशक्ति तयार पार्ने माध्यम नै शिक्षा भएकोले हाम्रा आवश्यकताका आधारमा कुन क्षेत्रमा कस्तो क्षमताका जनशक्ति कति सङ्ख्यामा आवश्यक पर्छ भन्ने कुरा यकिन गरी आवश्यकता बमोजिम औपचारिक शैक्षिक कार्यक्रम तथा छोटो अवधिका तालिमहरु सञ्चालन गर्नुपर्छ ।
साथै नेपालीहरुलाई काम गर्ने क्रममा लज्जाबोध हुने स्थितिबाट मुक्त गर्नुपर्ने आवश्यकता छ । सम्भव रहेसम्म हाम्रो आवश्यकता परिपूर्ति गर्ने जनशक्ति स्वदेशमै तयार गर्न जरुरी छ । युगको मागअनुसारका जनशक्ति तयार पार्नको लागि विद्यार्थीहरुलाई खोज र अनुसन्धानमुखी बनाउनु जरुरी छ । राज्यले आवश्यक परिमाणमा शिक्षा क्षेत्रमा खोज र अनुसन्धान, प्रयोगशाला निर्माण, पुस्तकालय, निर्माण, प्रविधि लगायतको लागि प्रयाप्त राष्ट्रिय बजेट विनियोजन हुने व्यवस्था समेत मिलाउनुपर्छ ।
अर्कोतिर हाम्रा परम्परागत मूल्य, मान्यता, संस्कार माथि वैज्ञानिक खोज र अनुसन्धान गर्न सक्ने जनशक्ति उत्पादनमा पनि हाम्रा विश्वविद्यालयहरुले जोड दिनैपर्छ । एकपक्षीय विकासले हामीलाई लाभ मात्रै पुर्याउँछ भन्न सकिँदैन । यसकारण सबै पक्षमा विचार गर्न सक्ने सचेत नागरिक तयार पार्न शिक्षाले विशेष जोड दिनु जरुरी छ ।
लेखक पन्थी हाल त्रि–चन्द्र क्याम्पसमा अर्थशास्त्र विधामा स्नातकोत्तर तह चौथो सेमेष्टरमा अध्ययनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ