सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

बेलायतको नयाँ प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा हुने, ११ जनाको उम्मेदवारी

मङ्गलबार, २८ असार २०७९, १० : ४८
मङ्गलबार, २८ असार २०७९

बेलायतमा सेप्टेम्बर ५ मा देशको नयाँ प्रधानमन्त्रीको नाम घोषणा हुनेछ । कन्जरभेटिभ पार्टीको नेतृत्वले यसै दिन पार्टीको नेताको निर्वाचन हुने गरी देशको भावी प्रधानमन्त्री हुने जनाएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गत हप्ता कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका थिए । उनको नेतृत्वमा प्रश्न उठाउँदै उनको सरकारका केही वरिष्ठ मन्त्रीले राजीनामा दिएका थिए ।

पार्टीका  धेरै सांसदहरूले पनि बोरिस जोनसनलाई समर्थन गर्न अस्वीकार गरेपछि उनले राजीनामा दिनुपर्‍यो ।

जुलाई ७ मा राजीनामाको घोषणा गर्दै बोरिसले नयाँ नेता नआएसम्म आफू प्रधानमन्त्रीको पदमा रहने बताएका थिए ।

हालसम्म ११ जना उम्मेदवार प्रधानमन्त्रीको दौडमा छन् । जसमा अर्थमन्त्री पदबाट राजीनामा दिने भारतीय मूलका ऋषि सुनक र स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिने पाकिस्तानी मूलका साजिद जाविदको नाम समावेश छ ।

यसबाहेक अन्य उम्मेदवार पनि प्रधानमन्त्री बन्ने दौडमा सामेल हुन सक्छन् । दाबेदारी पेश गर्न लायक समर्थन जुटाउनका लागि उम्मेद्वारसँग मंगलबारसम्मको समय भएको पार्टीले बताएको छ ।  

प्रत्येक उम्मेदवारलाई नेता पदको दाबेदारीमा समावेश हुन कम्तीमा २० जना सांसदको समर्थन चाहिन्छ । त्यसपछि बुधबारदेखि पार्टीका सांसदहरूले अर्को चरणको निर्वाचनका लागि मतदान सुरु गर्नेछन् ।

सांसदको मतदानपछि जुलाई २१ सम्म उम्मेदवारको संख्या घटेर दुईमा सीमित हुनेछ ।

त्यसपछि पार्टीका सदस्यहरूले मतदान गरेर नयाँ नेता चयन गर्नेछन् । सेप्टेम्बर ५ मा बिजेता उम्मेद्वारीको घोषणा हुनेछ जो प्रधानमन्त्री बन्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप