शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शालिक विवादले सम्झाएका यम बुद्ध

मङ्गलबार, २८ असार २०७९, ०९ : १५
मङ्गलबार, २८ असार २०७९

यम बुद्ध । यो नाम विगत केही दिनदेखि पुनः चर्चामा पुगेको अवस्था छ । काठमाडौँ महानगरका मेयर बालेन शाहले उनको शालिक बनाउने उद्घोष गरेपछि यम बुद्धको चर्चा चुलिएको हो । उनी को हुन् ? किन चर्चा हुँदै छ ? भन्ने खालका प्रश्न धेरैको मनमा आइरहेका छन् । यम बुद्धको खास नाम अनिल अधिकारी हो । धनकुटाको लुगुवामा जन्मिएका यम बुद्ध सानै उमेरमा नै काठमाडौँ आएकाले उनले काठमाडौंलाई नै आफ्नो ठाने । सानै उमेरबाट नै गीत सङ्गीत र कला क्षेत्रमा रुचि राख्ने मिजासका थिए उनी । कालान्तरमा उनी र्‍याप गायनमार्फत् नेपाली कला तथा संगीतको क्षेत्रमा स्थापित बन्न सफल भए । राजनीतिकर्मी अम्बिकाप्रसाद अधिकारीका छोरा भएपनि उनी राजनीतिसँग टाढै रहे । नेपाली राजनीतिको विकृतिमाथि प्रश्न उठाउँदै उनले कयौँ गीत गाए । 

नेपाली हिपहपमा अविस्मरणीय योगदान दिएका यम बुद्धले नेपालको निम्ति हिपहपको क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् । उक्त कुरा आम जनमानसले स्वीकारेकै कुरा पनि हो । उनका केही रचना र र्यापले समाजको भाषा बोल्ने, विसंगति र विकृतिका विरुद्ध आवाज उठाउने काम पनि गरेका छन् । समाजमा घटित विविध कुरालाई उतार्ने गरेका यम बुद्ध ३० वर्षको निकै कलिलो उमेरमा नै आत्महत्या गरी यस संसारबाट बिदा भए । यूकेको राजधानी लण्डनमा यो घटना भएको थियो । यस घटनापछि नेपाली हिपहप जगतलाई निकै ठूलो धक्का पुग्यो । 

अनिल अधिकारी यम बुद्ध हुनुमा खाली शोक र फेसनको कुरा थिएन, यस नामबाट उनलाई नेपाली हिपहप जगतको मैदानमा ठूलो र गहकिलो हस्तक्षेप पनि गर्नु थियो ।  उनको नाम यम बुद्धमा नै हुन एक विपरीत अर्थ नै छ । यम भनेको राक्षसका देउतालाई भनिन्छ भने बुद्ध भनेको शान्ति र उज्यालोका देउता हुन् । यसरी दुई फरक अर्थ बोकेका शब्दलाई कलाको नाम राखेर हिँडेका यम बुद्धको आफ्नो छुट्टै र अलग पहिचान थियो । उनको ‘साथी’ नामक गीत आज पनि नेपाली हिपहप जगतमा निकै रुचाइने गीतमध्ये पर्छ । 

साथी, आमा, अल्लारे जस्ता उल्लेख्य र्‍याप गाएका यमले अन्य किसिमका गीत पनि आफूले सुन्ने गरेको कुरा आफ्ना अन्तरर्वार्तामार्फत् उजागर गरेका थिए । यम बुद्ध चाँडै गए तर उनले केही यस्ता काम गरेर गए, जसका कारण नेपालका तमाम जनमानसले उनलाई आज पर्यन्त सम्झिरहेका छन् । लाग्छ, यो सिलसिला लामो समय नै चल्ने छ । 

यमको चर्चा हाल व्यापक मात्रामा हुनुमा बालेनले उनको शालिक निर्माण गर्ने कुरा गरेपछि हो । यम बुद्ध निकै राम्रो र उल्लेख्य कलाकार भएतापनि शालिक बनाउने प्रवृत्ति खासै राम्रो हैन भन्ने तर्क धेरैले सामाजिक सञ्जालभरि प्रस्तुत गरे । यही चौतर्फी आलोचना र विरोधपछि बालेनले आफ्नै तलबबाट उनको शालिक निर्माण गर्ने कुरा पनि राखे । यसरी शालिक बनाउने चलन यहाँ पहिलादेखि नै रहेको भने हो । पदमा पुगेपछि आफ्नो रुचि र चाहनालाई परिपूर्ति गर्ने नेपाली नेताको स्वभावबाट बालेन पनि अछुतो रहन सकेनन् । शालिक बनाएर मात्र सम्मान प्रस्तुत गर्न सकिन्छ भन्ने खालको मनोदशा पालिरहेका सबै पुरातनवादीहरुको भीडमा बालेन मिसिनु सुखद भने होइन । नेपालमा थुप्रै कलाकारहरु जसले ठूल्ठूला योगदान दिए, उनीहरूका शालिक पनि बनेका छैनन् । शालिक मात्रै सम्मानको बिम्ब हुन नसक्ने तर्क राख्छन् यम बुद्धका प्रशंसक रहेका इन्जिनियर सौदेन बडाल । 

बडाल भन्छन्, ‘यम बुद्धले नेपाली सांगीतिक क्षेत्रमा फरक आयाम सिर्जना गर्न खोजेका हुन् । उनका रचनामा झल्किने समाजको यथार्थबोध, विकृति विरुद्धको आवाज निकै बुलन्द छ । तर, शालिक बनाएर त्यसको सार्थकता बढ्छ भन्ने कुरामा म विश्वास राख्दिन । बालेन शाह आफू जहाँबाट उदाएका हुन्, त्यहाँको अमरत्व उनले खोज्नु खास अनौठो होइन । तर, यसले देशको अर्थतन्त्र, समाजमा पर्ने असरलाई पनि उत्तिकै मात्रामा ख्याल गर्नु आवश्यक हुन्छ ।’ 

यमको शालिक बनेर यमलाई सम्मान हुन्छ या हुँदैन भन्दा पनि उनका रचनालाई अझै विविध माध्यमबाट संस्थागत गर्नमा हाम्रो ध्यान गए केही उल्लेखनीय काम त्यता पो हुन्थ्यो कि ? 

काठमाडौँ महानगरको मेयरमा बालेनसँग चुनाव हारेका केशव स्थापितको तर्क मननयोग्य छ । स्थापितले भनेका छन्, 'म (मेयर) भएको भए यमबुद्धको हात काटिएको अर्धकदको सालिक हैन, म्युजिक सेन्टर बनाउँथेँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अग्रिम अधिकारी
अग्रिम अधिकारी
लेखकबाट थप