मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जसपामा तेस्रो धारको जन्म, पार्टीलाई फुटबाट जोगाउन अभियान सुरु

सोमबार, २७ असार २०७९, २२ : १९
सोमबार, २७ असार २०७९

विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी नेपालमा तेस्रो धारले जन्म लिएको छ । यस तेस्रो धारले पार्टीलाई विभाजनबाट रोक्न अभियान सञ्चालन गर्ने भएको छ । सो अभियान सञ्चालनका लागि तयारी बैठक पेप्सीकोलाको टाउन प्लानिङ स्थित सनसिटी अपार्टमेन्टमा बैठक चलिरहेको छ । स्रोतका अनुसार सो बैठकमा जसपा नेपालका कार्यकारिणी सदस्यहरू राजकिशोर यादव, रामनरेश राय यादव, अमृत अग्रहरि, मृगेन्द्रकुमार सिंह यादवलगायतका नेताहरू सहभागी रहेका छन् । 

पार्टी विभाजनको विपक्षमा रहेका उनीहरुले अलग अलग बस्न गइरहेको बैठकलाई स्थगित गरी पार्टीमा समझदारी बनाई नयाँ ढङ्गबाट अगाडि बढ्न दुवै पक्षका नेताहरूलाई दबाब दिने भएका छन् । यसको अगुवाइ कार्यकारिणी सदस्य रामनरेश राय यादवले गरेका छन् । मधेस प्रदेशका प्रदेशसभा सदस्य समेत रहेका रामनरेश यादव कुनै पनि समूहको बैठकमा नजाने बरु दुवै बैठकलाई नै स्थगित गराउन दबाब नेताहरूलाई दिइरहेका छन् । 

रातोपाटीसँग कुरा गर्दै नेता रामनरेश राय यादवले भने, ‘भोलिदेखि बस्ने दुवै पक्षको बैठकमध्ये कुनै बैठकमा जाँदिनँ । म अरुलाई पनि आह्वान गर्छु कि विभाजनका लागि भइरहेको दुवै समूहको बैठकमा सहभागी नहुनुहोस् ।’ उनले दुवै पक्षका शीर्ष नेताहरू एक–एक कदम पछाडि हटेर पार्टीभित्रै समझदारी बनाउनुपर्ने सुझाव दिएका छन् । 

नेता रामनरेश राय यादवले जनकपुरबाट काठमाडौँ आएदेखि नै नेताहरूलाई भेटेर यो अभियानमा लाग्न अभिप्रेरित गरिरहेका छन् । उनले जसपा सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईदेखि कार्यकारिणी सदस्य राजकिशोर यादव, अमृता अग्रहरीलगायत थुप्रै नेतालाई भेटिसकेका छन् । भेटमा बाबुराम भट्टराईले आफू पार्टी विभाजनको पक्षमा नरहेको प्रष्ट पार्दै उपेन्द्र यादव रूपान्तरण भएर आए आफूसँगै काम गर्न तयार रहेको प्रतिक्रिया दिएको नेता यादवले बताए । 

उनले भने, ‘हाम्रो पहिलो प्रयास भनेको यो गुट भेलालाई एकताको भेलामा रूपान्तरण गरी पार्टी विभाजनबाट रोक्नु हो । यदि दुवै गुटको बैठक स्थगित गर्न सकिएन भने सो बैठकबाट पार्टी विभाजन नहुने सन्देश दिनुपर्छ ।’ जसपालाई फुटबाट जोगाएपछि अन्य साना दलसँग एकीकरण वा गठबन्धनको अभियान चलाएर गतिविधि अगाडि बढाउनुपर्छ ।

जसपाले महन्थ ठाकुरको नेतृत्व लोसपा, रेशम चौधरीले बनाएको नागरिक उन्मुक्ति पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग एकता वा गठबन्धनका लागि पहल गर्नुपर्ने उनको सुझाव रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप