शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रचलित कानुन अनुसार नै हतियार खरिद गर्ने प्रक्रियामा छौँ : नेपाल प्रहरी

सोमबार, २७ असार २०७९, २१ : ११
सोमबार, २७ असार २०७९

नेपाल प्रहरीका लागि आवश्यक पर्ने हात-हतियार खरिद सम्बन्धी विषयलाई लिएर प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लामो समयदेखि नेपाल प्रहरीले हात-हतियारको अभावको समस्या झेल्दै आएको परिप्रेक्ष्यमा नेपाल सरकारबाट हात-हतियार खरिदका लागि विनियोजित रकमबाट सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन अनुसार आवश्यक हात-हतियार खरिद गर्ने प्रक्रियामा रहेको प्रहरीले स्पष्ट पारेको हो । 

प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाल प्रहरीको संगठनात्मक ढाँचा र दरबन्दीमा पछिल्लो समयमा भएको बढोत्तरी एवं सात वर्ष भन्दा लामो समयदेखि प्रहरीलाई अत्यावश्यक रहेको हात-हतियार खरिद नभएकोले नेपाल प्रहरीले आवश्यक हात-हतियारको चरम अभाव झेल्दै आएको वास्तविकता जानकारी गराउन चाहन्छौँ।' समय-समयमा जनधनको क्षति हुने, शान्ति र अमन-चयन खलबल्याउने प्रकृतिका दङ्गा फसाद, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी आम नागरिकमा सुरक्षाको थप अनुभूति दिलाउन प्रयोग हुँदै आएको कम घातक हातहतियार, छोटो दुरीको पेस्तोल, सटगन र ग्याँस सेलहरूको आवश्यकता रहँदै आएको प्रहरीको भनाइ छ ।

मौजुदा हात-हतियारहरू खटिने जनशक्तिलाई अपुग हुने, पुरानो भई काम नगर्ने, बिग्रने र मिति समाप्त हुने हात-हतियारलाई क्रमशः विस्थापन गरी प्रयोग मिति समाप्त भएका ग्याँस सेलको प्रयोगमा उठ्न सक्ने प्रश्न चिन्ह समेतको आधारमा अत्यावश्यक ग्याँस सेल खरिद, व्यक्तिगत सुरक्षामा प्रयोग हुने साना हतियार र भीड नियन्त्रणमा समेत प्रयोगमा आउने कम जोखिमयुक्त हात-हतियार खरिद अत्यावश्यक रहेको प्रहरीले बताएको छ । 

प्रचलित खरिद सम्बन्धी ऐन, नियम र कार्यविधिमा व्यवस्था भए बमोजिम पारदर्शी ढङ्गले खरिद प्रक्रिया अवलम्बन गर्न नेपाल प्रहरी प्रधान कार्यालय सदैव सचेत, सजग एवं संवेदनशील रहेको पनि केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक  टेक प्रसाद राईद्वारा विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप