शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस बैठकको पहिलो दिन : देउवामाथि सुराकी खटाएको आरोप

नेताहरू उभिए गठबन्धनको विपक्षमा, एक्लै चुनाव जित्न देउवाको चुनौती
सोमबार, २७ असार २०७९, २० : ५०
सोमबार, २७ असार २०७९

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा आगामी प्रदेश र संघको निर्वाचनमा गठबन्धनको विषय प्रमुख बनेको छ । पहिलो दिनको बैठकमा अधिकांश नेताहरूले गठबन्धनको विपक्षमा मत राखेका छन् । पार्टीको संस्थापन पक्षका नेताहरूसमेत गठबन्धनको विपक्षमा देखिएका छन् ।

संस्थापन इतरका प्रमुख नेता काँग्रेसका नेता शेखर कोइरालाले गठबन्धनको खुलेरै विरोध गरे । बैठकमा कोइरालाले स्थानीय चुनावको तालमेलका कारण केही  बढी सिट त जिते पनि पार्टीको आदर्श र सिद्धान्त नामेट भएको बताए । तालमेलले काँग्रेसलाई भन्दा अन्य पार्टीलाई फाइदा भएको उनको निष्कर्ष छ । तालमेलमा जानु पूर्व सिङ्गो काँग्रेसलाई एक ढिक्का बनाउन नसकिएको उनको भनाइ छ । यस्तै उनले संघ र प्रदेशको चुनावमा गठबन्धन गर्नेबारे पनि गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

‘काँग्रेसका हजारौँ नेता कार्यकर्ता गठबन्धनको पक्षमा छैनन्,’ नेता कोइरालाले भने, ‘अब प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आएको छ, यसमा पनि हामीले व्यक्ति केन्द्रित गठबन्धन गर्‍यौ भने पार्टीका साथीहरूलाई कसरी न्याय हुन्छ ? गठबन्धन गर्ने भन्ने निर्णय गर्नुअघि यसबारे गम्भीर हुनु आवश्यक छ ।’ उनले सरकार र पार्टी सञ्चालनबारे पनि प्रश्न उठाएका थिए ।

उनले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना पछाडि सुराकी खटाएको आरोप लगाए । ‘स्थानीय चुनावमा उहाँले मेरो पछाडि सुराकी खटाउनुभएको थियो । किन खटाउनुभयो ?,’ उनको प्रश्न थियो । जवाफमा देउवाले आफूले कुनै सुराकी नपठाएको बताए ।

यस्तै केन्द्रीय सदस्य प्रदीप पौडेलले देशलाई निर्वाचनमा लैजानुको विकल्प नभएको बताए । बैठकमा उनले देश निर्वाचनको मुखमा रहेको भन्दै अहिले पार्टीमा सुदृढ एकता आवश्यक रहेको बताए । उनले भने, ‘सभापतिले उदारता देखाउन जरुरी छ, र अरूले पनि निर्वाचन हुन लागेको समयको संवेदनशीलता बुझ्न जरुरी छ,’ उनको भनाइ थियो ।

काँग्रेसमा सबै पक्षका लागि स्पेस छ भन्ने वातावरण सभापतिले बनाउनुपर्ने पौडेलले बताए । ‘सँगसँगै  सभापतिलाई कमजोर बनाएर अहिले काँग्रेस बलियो हुँदैन भन्ने पनि स्वीकार गर्नुपर्छ,’ उनले भने ।

निर्वाचनमा पार्टीलाई एक ढिक्का बनाएर जानुपर्नेमा उनको जोड थियो । ‘पार्टीका आन्तरिक छलफल र निर्णय प्रक्रियाहरूमा अन्तर्विरोध बढाउने भन्दा पनि आम एकता कायम रहने गरी सभापति, पदाधिकारी तथा नेतृत्वले आ–आफ्नो भूमिका निभाउनु पर्नेछ,’ उनले भने, ‘ताकि निर्वाचनमा नेपाली काँग्रेस एक ढिक्का बनेर सशक्त ढंगले उभिन सकोस् ।’

उनले चुनावी गठबन्धनका लागि गठबन्धनको राम्रा–नराम्रा पक्षमा छलफल हुनुपर्ने धारणा पनि राखे । गठबन्धन नगरी सिट बढाउन सक्ने भए त्यस्तो उत्तम हुने र गठबन्धनमा नजाँदा विरुद्धमा बन्ने गठबन्धनको ध्यान दिन उनले सुझाए ।

यस्तै उनले विभाग तथा भातृ सङ्गठनहरूलाई विधान बमोजिम पूर्णता दिई परिचालन गर्नुपर्नेमा पनि जोड दिए । तल्ला तहहरूमा पनि अपूर्ण अवस्थामा रहेका समिति, विभाग तथा भातृ सङ्गठनहरूलाई विधान बमोजिम पूर्णता दिन आवश्यक निर्देशन दिनुपर्ने बताए ।

काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौला (पन्त)ले  आगामी चुनाव जित्न रणनीति र कार्यनीति दुवैको आवश्यकता रहेको बताएकी छन् । उनले योग्य सक्षम लोकप्रियलाई टिकट दिन मापदण्ड र मूल्याङ्कन पद्धति अपनाउन आवश्यक रहेको बताइन् ।

राजनीति दलहरुको गठबन्धन र निर्वाचन आयोगको निर्देशनका कारण स्थानीय तहमा महिला नेतृत्व खुम्चिएको बताइन् । यस्तै उनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई बढी उम्मेदवार बनाउनुपर्ने बताइन् । २५ प्रमुख महिला मध्ये ८ जना काँग्रेसबाट निर्वाचित हुने निराशाजनक परिणाम भएको उनले बताइन् ।

केन्द्रीय सदस्य नैनसिंह महरले भने आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ७० प्रतिशत युवालाई उम्मेदवारका रूपमा अघि सार्नुपर्नेमा जोड दिए ।

महरले पार्टीले युवा पङ्क्तिलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । काँग्रेसमा चार पुस्ताको समन्वय, समझदारी र अपनत्वले मात्रै आगामी दिनमा संघ तथा प्रदेशको निर्वाचनमा हाम्रा लागि सहज हुने उनको भनाइ थियो ।
यस्तै गठबन्धनका विषयमा नेतृत्वले गम्भीर भएर मात्रै निष्कर्षमा पुग्नुपर्ने बताए । ‘गठबन्धन नगर्दा चुनाव हारिएला , तर पार्टीको सङ्गठन मजबुत हुन्छ । हाम्रो पहिलो प्राथमिकता गठबन्धनभन्दा पार्टीको सङ्गठन सुदृढीकरण हुनुपर्छ,’ महरले भने ।

उनले अगाडि भने, ‘अहिलेकै अवस्थामा गठबन्धन हुन पनि सक्छ, नहुन पनि सक्छ । फेरि कम्युनिस्ट दलहरूबीचको एकताको विषय पनि निकै उचालिएको छ ।’यस्तै केन्द्रीय सदस्य गुरु बरालले आगामी निर्वाचनमा पार्टी एक्लैले चुनाव लड्नुपर्ने बताए ।

‘हामी एक्लै चुनाव लड्नै सक्दैनौँ, जित्नै सक्दैनौँ भन्ने सन्देश गएको छ, गठबन्धनका अन्य दलको हैसियत नै नभएको ठाउँमा पनि मुख्य पद नै उनीहरूलाई छोड्नुपर्दा हाम्रो सङ्गठन कमजोर बनिरहेको छ,’ बरालले भनेका थिए । पार्टीलाई एक्लै चुनाव जित्ने हैसियत बनाउनुपर्नेमा जोड दिए ।

बरालले गठबन्धनको चर्काे विरोध गरेपछि सभापति शेरबहादुर देउवा आक्रोशित भएका थिए । सभापति देउवाले भने,  ‘गठबन्धन नगरौँ भन्नुहुन्छ भने ठीक छ, नगरौँ । तपाईं गठबन्धनबिनै एक्लै जितेर देखाउनुस् ।’
यस्तै बैठकमा देवेन्द्रराज कँडेल, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव र दिनेश कोइरालाले पनि बैठकमा आफ्नो धारणा राखेका थिए । आजको बैठकमा सातै प्रदेश सभापतिको ब्रिफिङ गरेका थिए ।

प्रदेश सभापति गठबन्धनको पक्ष–विपक्षमा

प्रदेश नम्बर एकका सभापति उद्धव थापाले स्थानीय निर्वाचनमा काँग्रेसको अवस्था सुधार भएको बताए । बैठकमा उनले आन्तरिक किचलोले कतिपय ठाउँमा सफलता प्राप्त हुन नसकेको बताए ।

‘कतिपय ठाउँमा गठबन्धन भयो, कतिपय ठाउँमा बनेन। गठबन्धनकै जगमा काँग्रेस पहिलो पार्टी बनेको छ। अब आउने चुनावमा पनि ती दलहरूबीच गठबन्धन बनाएर जानुपर्छ।’ उनले स्थानीय चुनावपछि बढेको समस्या हल गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीभित्रको समस्या समाधान गर्नुपर्छ। चुनावपछि समस्या बढेर गएको छ, त्यसलाई हल गर्नुपर्छ। पार्टीलाई एक बनाएर जानुपर्छ।’

प्रदेश १ का पहाडी जिल्लामा गठबन्धन सहमतिका आधारमा बन्दा बलियो भएको उनको भनाइ थियो। ‘पहाडमा गठबन्धन बलियो भयो तर मधेसमा हुन सकेन। मोरङमा झन् फितलो भयो। हाम्रै साथीहरू गठबन्धनको विपक्षमा रहनुभयो। महानगरको कार्यपालिका चुनावमा त्यसको झल्को देखियो। गठबन्धन व्यवस्थित बनाउन सकेनौँ,’ थापाले भने। अब आउने चुनावमा केन्द्रले मापदण्ड बनाउनुपर्ने र त्यसका लागि गठबन्धन दलका नेताहरूबीच घनिभूत छलफल हुनुपर्ने उनले बताए।

मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले स्थानीय निर्वाचनमा गठबन्धन सफल हुन नसकेको बताए । मधेस प्रदेशमा गठबन्धनका दलहरूले काँग्रेसलाई धोका दिएको रिपोर्टिङ थियो । जिससको निर्वाचनमा गठबन्धनका अन्य दलले एमालेलाई सघाएर धोका दिएको यादवको भनाइ थियो।

बागमती प्रदेशका सभापति इन्द्र बानियाले गठबन्धनले सफलता पाएको र काँग्रेसको स्थिति सुधार भएको रिपोर्टिङ गरेका छन्। तर, उनले दलबाहिरको गठबन्धनलाई जोड दिएर पार्टीभित्रको एकता खलबलाउन नहुने बताए।

पार्टीभित्रको एकता खलबलाएर अन्य दलसँग गठबन्धन गर्ने हो भने त्यसले काँग्रेसको हित नगर्ने उनको दाबी थियो । काँग्रेस बागमती प्रदेश  संसदीय दलका नेता समेत रहेका बानियाँले आफूलाई मुख्यमन्त्री बन्नबाट रोकेको गुनासो गरे ।

उनले गठबन्धनभित्र ६–६ महिनामा मुख्यमन्त्री फेरिने गरी भएको लिखित सहमति पनि कार्यान्वयन नभएको बताए । बानियाँले गठबन्धनको विषयमा भएका अन्य सहमतिहरू कार्यान्वयन भएको भन्दै मुख्यमन्त्री फेरिने विषयमा भने त्यसले सार्थकता नपाएको उल्लेख गरे ।

‘केन्द्रबाटै गठबन्धनमा सहमति भएको हो । लिखित सहमति किन कार्यान्वयन भएन ? यो सहमति कार्यान्वयन हुनुपर्छ कि पर्दैन ?,’ उनको प्रश्न थियो ।

मुख्यमन्त्री भएको विषयमा भएको सहमति कार्यान्वयन नभए गठबन्धन  अगाडि लैजान समस्या हुने बताए ।  ‘सबै सहमति कार्यान्वयन हुने, यो किन नहुने रु भोलि त्यहाँ गठबन्धन कसरी गरेर अघि बढ्ने ? यसले समस्या ल्याउँछ।’
गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन राम्रोसँग कार्यान्वयन नभएको रिपोटिङ गरेका छन् । होमवर्क नगरी गठबन्धन गर्दा कार्यान्वयन भएन उनको भनाइ थियो । यस्तै जनमत नभएको नेकपा एकीकृत समाजवादीलाई  छाड्नुपर्दा पार्टीभित्रैबाट सहयोग नभएको उनले बताए।

‘केही जिल्लाका सभापतिहरूले गठबन्धनलाई सहयोग गरेनन्। हैसियतको कुरा पनि रह्यो,’ उनले भने, ‘नेकपा एकीकृत समाजवादीको जनमत थिएन। एमालेले जितेको ठाउँमा दाबी गरे।’ गण्डकीमा माओवादीले काँग्रेसको भरोसा गरे पनि विश्वास नगर्दा विगतमा जितेको सिट पनि काँग्रेसले गुमाउनु परेको शर्माले बताए ।  उनले भने, ‘माओवादीले भरोसा खोज्यो, विश्वास गरेन। सहज भएको ठाउँमा एमालेलाई पनि भोट हाल्यो।’

उनले पार्टीको जगलाई बलियो बनाउन लोकतन्त्र शब्दको प्रयोग गर्न नहुने मत अघि सारेका छन्। उनले युवाहरू पदाधिकारी हुँदा पनि पार्टीले गति लनि नसकेको बताए । ‘युवाहरू पार्टी पदाधिकारी भएका छन्। उहाँहरूको मूल्यांकन गर्ने बेला भएको छैन। तर, जुन गतिमा पार्टी अघि बढ्नुपर्ने हो त्यो भएको छैन’, शर्माले भने।

यस्तै कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले गठबन्धनबाट काँग्रेस पहिलो पार्टी बन्न सफल भएको रिपोर्टिङ गरेका छन् ।  शाहीले भने, ‘यदि पार्टीभित्रै अन्तर्घात नभएको खण्डमा ४० भन्दा बढी पालिकामा काँग्रेसले वर्चश्व जमाउन सक्थ्यो । काँग्रेसभित्र अन्तर्घात भयो ।’ आगामी संघ र प्रदेशको चुनावमा पनि पार्टीलाई कसरी पहिलो बनाउन सकिन्न भन्ने बारेमा गम्भीर छलफल हुनुपर्ने उनको भनाइ छ ।

आम चुनावसम्म पार्टीलाई बलियो र संगठित बनाउनुपर्नेमा उनको जोड थियो ।  उनले भने, ‘स्थानीय चुनावमा पहिलो पार्टी बनेको छ । आउने निर्वाचनमा पनि पहिलो पार्टी बनाउन सम्पूर्ण पार्टीभित्र एकताको भावना कायम पर्छ ।’
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर गठबन्धनको विपक्षमा उभिएका छन् । गठबन्धन सिद्धान्त, विचार र दृष्टिकोणका आधार स्पष्ट हुनुपर्नेमा उनको जोड थियो ।

‘केका आधारमा गठबन्धन गर्ने ? किन गर्ने ?,’ उनको प्रश्न  छ, ‘एउटा वडामा सङ्गठन छैन, सांसद ताक्ने ? वडा जित्नुपर्‍यो नि पहिला ।’ आफ्नो गृह जिल्ला डोटीमा गठबन्धन नगरेर पनि राम्रो परिणाम आएको उनले बताए । ‘गठबन्धन गर्ने भए अहिलेदेखि गर्नुस्, नत्र गठबन्धन गर्न दिइँदैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप