जनार्दन शर्माको बहिर्गमनको अन्तर्य
नेपालको अर्थराजनीतिक इतिहासमा बजेट निर्माण प्रक्रियासँग जोडेर अर्थमन्त्रीले राजीनामा दिएको दुर्लभ इतिहास बनेको छ, जनार्दन शर्मा प्रभाकर । संसदमा रहेको समकालीन राजनीतिको उग्र दक्षिणपन्थी प्रतिगामी ओली गुटको ताण्डव नृत्यलाई त्याग र नैतिकताको उच्चस्तरको नमूना प्रस्तुत गर्दै शर्माले राजीनामा दिएर जवाफ दिएका छन् । वाम लोकतान्त्रिक गठबन्धन सरकारमा माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्रीको कार्यभार सम्हालेको एक वर्ष पुग्न सात दिन बाँकी रहेको बेला शर्मा अर्थमन्त्रालयबाट विदा भएको हुन् ।
आखिर किन बाहिरिए त शर्मा ? यो आमा चासो र भ्रमको बिषय बनेको छ । मिडियामा शर्माको विरुद्ध यस्तो क्याम्पियन गरिएको छ कि उनी एक अपराधी र उनी देशद्रोही हुन् । मिडिया नै न्यायाधीश बनेको छ र नेपालको संविधान च्यातेर लोकतन्त्र समाप्त पार्ने बाटोमा बेलगाम कुदिरहेको दक्षिणपन्थी लोकरिझ्याइवादी शक्तिको सेवामा तल्लीन रहेको छ । भ्रामक र गोयबल्स शैलीमा शर्माविरुद्ध धावा बोलिरहेको यो समयमा माओवादी पार्टीको एक कार्यकर्ता हुनुको नाताले यसको गुह्य कारणबारे छलफल गर्न यो लेख लेखिएको हो ।
सुरुमै एउटा कुरा स्पष्ट पार्न चाहन्छु । खड्ग प्रसाद शर्मा ओलीको प्रतिक्रान्तिकारी हर्कत सर्वोच्च अदालतले खारेज गरिदिएपछि बनेको वाम लोकतान्त्रिक गठबन्धन सरकारमा सहभागी हुँदाको दिन नै अर्थमन्त्रीमा जनार्दन शर्मालाई रोक्न घेराबन्दी नभएको होइन । त्यसका बाबजुद् अर्थमन्त्री बनेका शर्मालाई असफल पार्न देशका दलाल पुँजीपति वर्ग ओलीको बयालिस महिने इतिहासकै खराब शासकीय समयमा जमेर बसेका नोकरशाहहरु र ओलीको प्रतिगामी कदमको सारथी बनेको मिडिया मालिकहरु उनलाई असफल बनाउन कम्मर कसेर लागेको थियो भन्न हिच्किचाउनु पर्दैन ।
ध्वस्त भएको अर्थतन्त्रलाई लयमा फर्काउन अर्थमन्त्रीको रूपमा शर्माले गरेको प्रयास आज होइन, भोलिको पुस्ताको लागि अध्यनको बिषय बन्ने छ । शर्मालाई आन्तरिक र बाह्य घेराबन्दी कसिलो पारेर असफल बनाउने र उनीमाथि आक्रमण गर्ने पेचिलो अभियान भने माओवादी केन्द्रको महाधिवेशन वरपरबाट व्यापक भएको थियो । यो कुरा बुझ्न गाह्रो छैन पार्टीको भावी नेतृत्वबाट रोक्ने यो अभियान जारी रहेको बेला ओली गुटमार्फत् अर्थतन्त्र धराशायी बनाएको दुष्प्रचारको मोर्चा खोल्ने काम भयो । नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा लान खोजेको काल्पनिक कथा तयार पारेर शर्माविरुद्ध जेहाद छेड्दै गर्दा माओवादी पार्टी पङ्तिको तर्फबाट प्रतिवाद भएन । बरु कतिपय मानिस ओली गुटको स्वरमा लय मिलाउन थाले । राष्ट्र बैंकको गभर्नर प्रकरणमा आउँदा त्यो छरपस्ट भयो ।
त्यसै सेरोफेरोमा स्थानीय निर्वाचन सम्पन्न भयो । कतिपय कमी कमजोरीका बाबजुद् वाम लोकतान्त्रिक गठबन्धन सापेक्षित रूपमा सफल देखियो । अहंकार र दम्भको घोडामा सवार दक्षिणपन्थी ओली गुट दोश्रो शक्तिमा खुम्चियो । यो गुटमा भयंकर दम्भ र अहंकार पराजित भएपछि नेपालसँग चासो राख्ने भूराजनीतिक फ्याकटर पनि असफल सावित हुने कुरा प्रष्ट छ । किनभने यो फ्याक्टर वाम लोकतान्त्रिक गठबन्धन भत्काएर स्थानीय चुनावमा जान चाहन्थ्यो । त्यसका निम्ति आफू अनुकूल विभिन्न पार्टीमा रहेका शक्ति र गुट परिचालित थिए । भनिरहनु परेन, त्यो भूराजनैतिक फ्याक्टर कुन हो, जसले नेपालमा जारी भएको नयाँ संविधान अस्वीकार गरेका थिए । उग्र दक्षिणपन्थको साँढे चढेर दौडिरहेको त्यो फ्याक्टर नेपालमा ओली गुटमार्फत् सत्तरी वर्ष लामो वलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको अहिलेको संविधानको प्रगतिशील अन्तर्बस्तु समाप्त पार्न चाहन्थ्यो ।
त्यो भूराजनैतिक फ्याक्टर वाम लोकतान्त्रिक गठबन्धन भत्काएर नेपालको समकालीन राजनीतिमा उग्र दक्षिणपन्थको अगुवाई गर्ने ओली र उनले नेतृत्व गर्ने पश्चगामी गठबन्धनलाई बलियो बनाउने चाहना राख्छ । त्यसका निम्ति माओवादीभित्र वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा उभिएका जनार्दन शर्मा प्रभाकर विरुद्ध प्रहारको निशाना साधेका छन् । भित्र भित्रै कथित वाम गठबन्धनको अभियान चलाइरहेकाहरुका लागि पनि प्रभाकर तगारो बन्न सक्ने बुझाइ नभएको होइन । निकट विगत नै छ, वाम गठबन्धनको एकजना वार्ताकार थिए प्रभाकर । तर त्यो पार्टी एकतासम्म पुग्दा पनि ओली गुट र त्यसलाई निर्देशित गर्ने देशभित्र र बाहिरका प्रतिक्रान्तिकारीहरुको कारण सफल हुन सकेन । बरु वाम एकता र त्यसबाट प्राप्त भएको जनमतलाई नेपालको राजनैतिक परिवर्तन नै समाप्त पार्ने हतियारको रूपमा प्रयोग भयो । जुन परिवर्तन माओवादी जनयुद्धको बलमा संयुक्त जनआन्दोलनमार्फत् भएको हो ।
त्यसैले, ओली जो आजको राजनीतिको सबैभन्दा उग्र दक्षिणपन्थी शक्तिको अगुवाई गरिरहेका छन्, उनी कसरी वामपन्थी हुन सक्छन् ? के वामपन्थको खोल ओड्दैमा कोही वामपन्थी हुन सक्छ ? वाम गठबन्धनको नारा लगाइरहेका मनुवाहरुको चुनाव क्षेत्र सुरक्षित गर्न मात्रै हो भने आजैको मितिबाट घोषणा गरे हुन्छ, वाम खोल त हाम्रो ट्रेडमार्क मात्रै हो । वामपन्थको सामान्य परिभाषा नै काफी छ, तत्कालीन समाजको अर्थराजनीति र सँस्कृतिको प्रगतिशील अन्तरबस्तुलाई आत्मसाथ गर्ने र यथास्थिति वा पश्चगमनलाई खारेज गर्ने शक्ति वामपन्थी शक्ति हो ।
ओली अहिलेको संवैधानिक ब्यवस्थाले परिकल्पना गरेको लोकतान्त्रिक गणतन्त्र संघीयता र समानुपातिक समावेशी लोकतन्त्रको विरोधी हो भने उनी कसरी वामपन्थी हुन सक्छन् ? बयालीस महिना शक्तिशाली सरकारको अगुवाइ गर्दा संविधानको यो प्रगतिशील अन्तरबस्तुमाथि प्रहार गरेर नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको युगान्तकारी परिवर्तनहरु समाप्त पार्ने दिशामा गएको शक्तिसँगको गठबन्धन अर्को प्रतिक्रान्तिकारी हर्कत बाहेक के हुन सक्छ ?
जनार्दन शर्मा विरुद्धको गठबन्धन आखिरमा दक्षिणपन्थी शक्तिहरुको गठबन्धन हो । काँग्रेसमा शेखर समूहदेखि ओली र मधेसमा महन्थ ठाकुर समूहदेखि पूर्वराजावादी गिरोह र पत्रकारको आवरणमा रहेका युवराज घिमिरे जस्ता पूर्वराजावादी दक्षिणपन्थीहरुको एउटै मोर्चा बनेको छ । किनकि नेपालको अर्थराजनीतिक इतिहासम ा१९९० को जनआन्दोलनपछि नेपाली काँग्रेस नेतृत्वको सरकारले अघि सारेको बजेट आर्थिक उदारीकरण र त्यसले नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक दुस्प्रभाव अन्त्य गरेर आयत प्रतिस्थापन गर्नेमा उद्धत छ । त्यस्तै, निर्यात प्रवद्र्धन गर्ने, औद्योगिकीकरणलाई प्राथमिकता दिने, कृषि क्षेत्रमा राज्यको लगानी केन्द्रीत गर्न किसानसँग सरकार, किसान हितकोष, आत्मनिर्भरताको लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष, रोजगारी सिर्जना गर्ने रहेको छ । त्यस्तै, दलित, पिछडा वर्ग, महिला, जनजातिलाई आर्थिक दृष्टिकोणले समेत अधिकार सम्पन्न गर्ने बजेटमार्फत् अभिव्यक्त भएको अर्थराजनीतिक कार्यक्रमले माओवादी पार्टी र जनार्दन शर्माको लोकप्रियता बढ्ने देखे ।
आब २०७९÷८० को लागि विनियोजित बजेटले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य, संघीयताको अर्थराजनीतिक औचित्य पुष्टि गर्न प्रदेश र स्थानीय तहलाई श्रोत केन्द्रीत गरेर संघीयताको वास्तविक अभ्यास गर्ने बजेटमा अभिब्यक्त कार्यक्रमले ओली गुट र संघीयता विरोधी प्रतिगामीहरुको निद हराम हुन पुग्यो । तीन वटा बजेट एकल र शक्तिशाली सरकारको तर्फबाट प्रस्तुत गरेको दक्षिणपन्थी प्रतिगामी ओली गुटले संघियतालाई कमजोर बनाउने र यसलाई अर्थहीन बनाउने कुनियतका साथ अघि बढेको थियो । त्यसलाई चोटिलो प्रहार गर्दै शर्माले बजेट प्रस्तुत गरेका थिए ।
राजनैनिक रूपमा मात्रै होइन, ओली गुट आर्थिक दृष्टिकोणले पनि दक्षिणपन्थको बाटोमा थियो र छ । निश्चित घरानालाई लाभ दिलाएर स्वार्थ लुट्न गृहमन्त्रीले अध्यक्षता गर्ने संस्थालाई रक्षामन्त्री मातहात ल्याएर लुटपाट मच्चाएको रेकर्ड कायम नै छ । पहिला बस्तुको आयात गर्न लगाएर करको दर बढाउने राज्य विरुद्धको अपराध इतिहास होइन, हिजैको कुरा हो । राज्यको सबै अंग कब्जा गरेर लोकतान्त्रिक राज्यको सबै मूल्य मान्यता हुर्मत लिनुको कारण के थियो ?आर्थिक श्रोतसँग जोडिएको राजस्व अनुसन्धान विभाग, गृहमन्त्रीको मातहत रहने राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग जस्ता संस्था आफू मातहत राखेर आफ्नो विपक्षमा रहेकाहरुलाई हुर्मत लिने र त्यसबापत असुली धन्दा चलाउने हर्कतको केन्द्र कुनै अमुक मन्त्री भन्दा ओली आफैं थिए ।
कोरोना महामारीको कारण सिर्जना भएको मानवीय संकटमा समेत मेडिकल सामग्री खरिद गर्दा भ्रष्टाचार गर्ने खराव शासक सत्ताबाट बाहिरिए पछि स्थानीय निर्वाचनमा पनि पराजित बने । त्यसैले, अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटबाट झन् उत्तेजित बन्न पुगे । बालुवाटारको सरकारी निवासमा विदेशी खुफियासँग मध्यरातमा गरेको देशद्रोही अपराध र त्यससँगै अघि बढेको संसद विघटनलगायत प्रतिगामी कदमबाट समेत पराजित भएर मुर्छित भयो यो झुण्ड ।
आफ्नो जनविरोधी, लोकतन्त्र विरोधी राष्ट्रघाती र प्रतिक्रान्तिकारी हर्कतलाई छोप्ने राष्ट्रवादको च्यादार च्यातिएर सर्वाङ्ग नाङ्गो भएपछि यो दक्षिणपन्थी गठबन्धनको सामु अर्को अपराध गर्नुपर्ने बाध्यता थियो । त्यही बाध्यताको उपजस्वरुप जनपक्षीय, आत्मनिर्भर अर्थतन्त्रको गोरेटो कोर्ने बजेट ल्याएर आर्थिक रूपमा राष्ट्रलाई साँचो अर्थको राष्ट्रियताको झण्डा उठाउने प्रयत्न गरेबापत जनार्दन शर्माको विरुद्ध प्रतिगामी हमला गरिएको छ ।
शर्मालाई आन्तरिक र बाह्य घेराबन्दी गरेर अप्ठ्यारोमा पार्ने सपना देखेका छन् प्रतिक्रान्तिकारीहरुले । ब्यक्तिका रूपमा शर्माका सिमा र कमजोरी होलान् तर राजकीय र पार्टीको जिम्मेवारी निर्वाह गर्ने क्रममा उनले जे जति गरेका छन्, त्यो राष्ट्रिय हित जनताको सर्वोच्चता, लोकतन्त्र र समाजवादी आन्दोलनलाई हित अनुकूल कार्य गरेका छन् ।
संसदमा बजेट प्रस्तुत गर्नुभन्दा एकदिन पहिला नै मिडियालाई बजेट सार्वजनिक गर्ने एमाले अनैतिक गिरोहले जनार्दन शर्माको विरुद्ध जुन हमला गरेका छन्, संसद्मै उनले जवाफ दिएका छन् कि एक होइन, हजारौं छानबिनका लागि तयार छु । हो, हामी मदन भण्डारीको देशभक्तिपूर्ण अडानको गर्व गर्छौं र उनको हत्याकाण्डको छानबिन होसु भन्ने मान्यता राख्छौं । तर के कुरा ओली टिम मदन भण्डारीको हत्याकाण्ड छानबिन गर्न तयार छ ? विशाल ग्रुपलाई पहिल्यै गाडी भित्र्याउन लगाएर बजेटमार्फत् भन्सार दर बढाउने युवराज खतिवडा र विष्णु पौडेलहरु पनि छानबिनका लागि तयार हो ?
नेपाल आफैं पनि यस्तो भूमि हो, जहाँ गौतम बुद्धको ज्ञानको धारा प्रवाहित छ । संसारभर बुद्धका अर्बौं अनुयायी छन् । बुद्ध दर्शन संसारकै एउटा महान दर्शनमध्ये एक हो । तर त्यही बुद्ध यो भूमिमा अपमानित भएका थिए । सुगौली सन्धिमा देशभक्तिको अडानका कारण भिमसेन थापा सेरिएर मर्नु पर्यो । देशभक्ति र जनताको पक्षमा लागेबापत दण्डित हुनुपर्ने दुश्चक्रबाट नेपालीले कहिले मुक्ति पाउने हो, त्यो हिजो, आज र भोलिको लागि पनि यक्ष प्रश्न हो । कमरेड प्रभाकर विरुद्धको दक्षिणपन्थी गठबन्धनको आक्रमणको अन्तर्य पनि यहाँनेर छ ।
समग्रमा कमरेड प्रभाकर विरुद्ध हमलाको सार के हो भने अबको कदम नेपालको समाजवाद उन्मुख संविधानको बजेटमार्फत् कार्यान्वयनमा लैजाने प्रयत्न गर्नु हो । नेपालको समकालीन राजनीतिमा वाम–लोकतान्त्रिक गठबन्धन मार्फत् अहिलेको संविधानको रक्षा गर्दै प्रगतिशील रुपान्तरणसहित समाजवादको बाटोमा अघि बढ्ने ईमानदार प्रयत्न गर्नु हो । दक्षिणपन्थी प्रतिगामी शक्तिको अर्थराजनीतिक औचित्य समाप्त पारेर प्रगतिशील क्रान्तिकारी शक्तिको सुदृढीकरण गर्नु हो ।
यस बीचमा दक्षिणपन्थी प्रतिगामीहरु कमरेड जनार्दन शर्मा विरुद्ध योजनाबद्ध हमलामा उत्रिए । माओवादी जनयुद्ध र त्यसको बलमा प्राप्त भएको अहिलेको राजनीतिक परिवर्तन समाप्त पार्न चाहने पश्चगामी शक्तिका लागि चुनौती बनेको माओवादी नेतृत्वमध्ये प्रचण्ड र जनार्दन शर्माका विरुद्ध निरन्तर हमला गर्नु उनीहरुको एकमात्र कार्यभार बनेको छ । शर्मा माओवादीका त्यस्ता नेता हुन्, जो हरेकपटक सरकारमा सहभागी हुँदा माओवादीको पहिचान दिन सफल छन् । र, पार्टी, नेतृत्व, देश र जनताको पक्षमा तत्कालीन र दीर्घकालीन महत्त्व राख्ने ऐतिहासिक कार्य गरेर इतिहास बनाउने गर्छन् । त्यसैले शर्माका विरुद्ध जेहाद छेड्ने गरेका छन् । पछिल्लोपटक भएको यो हमला यसैको कडी हो ।