बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

राखेपद्वारा १३ खेलाडी पुरस्कृत

सोमबार, २७ असार २०७९, १९ : २६
सोमबार, २७ असार २०७९

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ जना खेलाडीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ । राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रमअन्तर्गत खेलाडीलाई पुरस्कृत गरेको हो ।

राखेपले खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गर्दै गरेको थियो । जसमा दुई खेलाडीलाई जनही १ लाख ५० हजार, चार खेलाडीलाई १ लाख रुपैयाँ र सात खेलाडीलाई जनही ५० हजार रूपैयाँबाट पुरस्कृत गरेको हो ।पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन र ब्याडमिन्टनका प्रिन्स दाहाललाई १ लाख ५० हजार रुपैयाँले पुरस्कृत गरेको हो । पलेसाले टोकियोको पारा ओलम्पिकमा सहभागिता जनाउनुका साथै एसियन युथ पारा तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् ।

यस्तै ब्याडमिन्टनका प्रिन्स गत वर्ष विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष वरीयतामा पर्न सफल भएका थिए । एसियन युथ च्याम्पियनसिपमा कास्य जितेकी नारिका राई र एसियन जुनियर च्याम्पियनसिपमा कास्य जितेका स्वस्तिका तिरुवा र छिरिङ शेर्पा जनही एक लाख रुपैयाँले पुरस्कृत भए । त्यस्तै वर्ल्ड प्रेसिडेन्ट कपमा रजत पदक जितेकी पारा तेक्वान्दोकी सृजना घिसि पुरस्कृत भइन् । महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, एथलेटिक्सकी राजपुरा पछाईं, पुष्पा भण्डारी, ट्रायथलनकी सोनी गुरुङ र बसन्त थारु, पारा तेक्वान्दोकी रन्जना धामी र बिशाल गर्वुजा समान ५० हजार रुपैयाँ र सम्मानपत्रले पुरस्कृत भए ।

भलिबलकी अरुणा शाहीले गत वर्ष बंगलादेशमा आयोजना भएको एभिसी सेन्ट्रल जोनमा नेपाललाई लगातार दोस्रो स्वर्ण जिताउन महत्वपूर्ण योगदान गरेकी थिइन् । एथलेटिक्सकी राजपुराले भारतमा २०२२ जनवरीमा भएको दक्षिण एसियाली क्रस कन्ट्रीमा रजत र पुष्पाले ढाका म्याराथनमा रजत जितेका थिइन् । ट्रायथलनका सोनी र बसन्तले नवौं दक्षिण एसियाली च्याम्पियनसिप २०२२ मा कास्य जितेका थिए । पारा तेक्वान्दोकी रन्जनाले एसियन गेक्स छनोटमा कास्य तथा बिशालले युथ एसियन गेम्स २०२१ मा कास्य हात पारेका थिए ।

खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, सदस्य सचिव टंक लाल घिसिङ, राखेपका उपाध्यक्ष शिव कोइराला,  माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला लगायतले पुरस्कृत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप