शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनबारे काँग्रेस प्रदेश सभापतिहरू विभाजित

सोमबार, २७ असार २०७९, १७ : २१
सोमबार, २७ असार २०७९

स्थानीय चुनावमा गठबन्धन गरिएको बारे नेपाली काँग्रेसका प्रदेश सभापतिहरू विभाजित देखिएका छन् । प्रदेश १ का सभापतिले गठबन्धनको प्रशंसा गरिरहँदा गण्डकी प्रदेशका सभापतिले गठबन्धनको आलोचना गरेका हुन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै प्रदेश १ सभापति उद्धव थापाले नेपाली काँग्रेस गठबन्धनकै बलमा प्रदेशमा एक नम्बर बनेको जिकिर गरे । उनले आगामी चुनावमा पनि गठबन्धन नै गरेर जानुपर्ने सुझाव दिए । उनले भने, ‘गठबन्धनकै जगमा काँग्रेस पहिलो पार्टी बनेको छ। अब आउने चुनावमा पनि ती दलहरूबीच गठबन्धन बनाएर जानुपर्छ। १ नम्बर प्रदेशमा पहाडी जिल्लामा गठबन्धन सहमतिका आधारमा बन्यो। पहाडमा गठबन्धन बलियो भयो। मधेसमा हुन सकेन। महानगरको कार्यपालिका चुनावमा त्यसको झल्को देखियो। अब गठबन्धन व्यवस्थित बनाउन सकेनौँ।’  चुनावपछि पार्टीभित्रको समस्या समस्या बढेर गएको भन्दै त्यसलाई समाधान गर्नुपर्ने बताए । उनले पार्टीलाई एक बनाएर जानुपर्नेमा जोड दिए ।

यता गण्डक प्रदेश सभापति शुक्रराज शर्माले भने गठबन्धन कार्यान्वयन नभएको गुनासो गरे । होमवर्क नगरी गठबन्धन गर्दा केही जिल्लाका सभापतिले गठबन्धनले सहयोग नगरेको बताए । उनले भने, ‘हैसियतको कुरा पनि रह्यो। नेकपा एसको जनमत थिएन। एमालेले जितेको ठाउँमा दाबी गरे। माओवादीले भरोसा खोज्यो विश्वास गरेन। सहज भएको ठाउँमा एमालेलाई पनि भोट हाल्यो।’ 

उनले पार्टीको जगलाई बलियो बनाउने हो भने लोकतन्त्र भन्न नहुने जिकिर गरे । उनले थपे,  ‘लोकतन्त्र कम्युनिस्टले रुचाएको शब्द हो। पार्टीको सिद्धान्त राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र हो। युवाहरू पार्टी पदाधिकारी  भएका छन्। उहाँहरूको मूल्याङ्कन गर्ने बेला भएको छैन। तर, जुन गतिमा पार्टी अघि बढ्नुपर्ने हो त्यो भएको छैन।’

यता लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले  टिकट बाँड्ने कुरा हस्तक्षेप भएको गुनासो गरे । उनले पार्टी विधि र विधानसम्मत चल्नुपर्ने बताए । उनले प्रदेशलाई पङ्गु बनाउने काम भएको आरोप लगाए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप