शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मेलम्ची पानी प्रशोधन केन्द्रमा भट्टराईको सालिक शिलान्यास

सोमबार, २७ असार २०७९, १६ : ३२
सोमबार, २७ असार २०७९

खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताएका छन् । मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमा निर्माण हुन लागेको पूर्वप्रधानमन्त्री भट्टराईको पूर्ण कदको सालिकको सोमबार शिलान्यास गर्दै मन्त्री चौधरीले खानेपानीको समस्यामा परेका काठमाडौँबासीलाई मेलम्चीको पानी ल्याउने सपना सरकारले पुरा गर्ने बताएका हुन् ।

खानेपानी मन्त्री चौधरीले २ पटकसम्म प्रधानमन्त्री भएका स्वर्गीय कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री निवासबाट आफ्नो सम्पत्तिको रूपमा टिनको बाकस, सुराही र छाता मात्र लिएर निस्किएको भन्दै उनी जस्ता त्यागी राजनेता पाउन कठिन भएको बताए ।
काठमाडौँको प्रत्येक घरमा मेलम्चीको पानी खुवाउने किसुनजीको सपना पुरा गर्न सरकारले कुनै कसर बाँकी नराखेको भन्दै उनले भट्टराईको सालिकको उद्घाटन वर्तमान सरकारकै पालामा हुने बताए । उनले एसियाली विकास बैंकको प्रारम्भिक रिपोर्ट आएको र विस्तृत रिपोर्ट आए बमोजिम सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानीको हेडवर्क्स  क्षेत्रको मर्मत सम्भार गरी स्थायी रूपमा मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिने जानकारी दिए । 

उनले मेलम्चीको विकल्पमा बागमतीबाटै थप पाँच करोड लिटर पानी काठमाडौँमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सिस्नेरीबाट करिब १५ करोड लिटर पानी काठमाडौँ ल्याइने बताए ।  काठमाडौँ उपत्यकामा खानेपानीको अभावका कारण माग बढ्दै गएको सन्दर्भमा २०४६ सालको सफल जनआन्दोलनपछि २०४७ सालमा निर्माण भएको अन्तरिम सरकारका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी काठमाडौंबासीको उपयोगको लागि ल्याउने महत्त्वाकाङ्क्षी योजना घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप