आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका केन्द्रीय सदस्यलाई वीरगञ्जमा यस्तो छ व्यवस्था

सोमबार, २७ असार २०७९, २० : ००
सोमबार, २७ असार २०७९

जनता समाजवादी पार्टी वीरगञ्जमा हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने सदस्यलाई ठूलै खातिरदारी गर्ने भएको छ । असार २९ र ३० गते वीरगञ्जमा बस्ने केन्द्रीय समितिको बैठकमा सहभागी हुने केन्द्रीय सदस्यहरुलाई होटलको बास र खानाको व्यवस्था पार्टीले नै गर्ने भएको हो ।

यसअघि बस्ने केन्द्रीय समितिको बैठकमा यस्तो कुनै व्यवस्था हुँदैनथ्यो । बैठकस्थलमा पार्टीको तर्फबाट खाजाको व्यवस्थाबाहेक खाना र बासको व्यवस्था केन्द्रीय सदस्यहरु आफैले गर्नुपर्थ्यो । तर यसपटक पार्टीले सबै कुराको व्यवस्था गर्ने भएको हो ।

जसपाका केन्द्रीय सदस्य एवं वन मन्त्री प्रदीप यादवका अनुसार सम्पूर्ण केन्द्रीय सदस्यका लागि बास र खानाको व्यवस्था गरिएको छ । जसपाको केन्द्रीय समिति ४९९ सदस्यीय छ । ती सबैका लागि सम्पूर्ण व्यवस्था गरिएको उनले बताए ।

दुई दिनसम्म दुई छाक खाना, चिया तथा खाजाको व्यवस्था गरिएको उनको भनाइ छ । त्यसबाहेक अरु केही खाएमा भने केन्द्रीय सदस्य आफैले व्यवस्था गर्नुपर्ने उनले बताए । मधेस प्रदेश गठन भएपछि जसपा पर्सा जिल्ला समितिले केन्द्रीय समितिको बैठक वीरगञ्जमा गर्न पटकपटक आग्रह गर्दै आइरहेको थियो । त्यहाँ हुने बैठकको सम्पूर्ण खर्च पार्टीको जिल्ला समिति र महानगर कमिटीले व्यहोर्ने उनले बताए ।

यसअघिको कुनै पनि बैठकमा केन्द्रीय सदस्यका लागि खाना र बाससहितको सुविधा नगरिएको तर अहिले त्यस प्रकारको व्यवस्था गर्नुको कारण खुलाउँदै मन्त्री यादवले भने, ‘मधेसको संस्कृति नै घरमा आउने पाहुनालाई एकछाक खाना खुवाएर पठाउने चलन छ, देशभरका नेताहरु पर्सा आउँदैछन्, पर्सावासीका लागि सौभाग्यको कुरा हो, त्यस अवसरमा खाना र बासको व्यवस्था गर्नु कुनै ठूलो कुरा होइन ।’

जसपामा आन्तरिक विवाद चलिरहेको छ । सोही विवादको बीचमा जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अनुकुलमा केन्द्रीय समितिको बैठक पर्सामा राखेको धेरैको बुझाई छ । यसअघि बसेको केन्द्रीय समितिको बैठकमा सोफामा बसाइका कारण जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरुले होहल्ला गरेका थिए । अध्यक्ष भट्टराईलाई अपमान भएको भन्दै अध्यक्ष उपेन्द्र यादवको विरोध गरेको थियो ।

अहिले आन्तरिक विवाद चलिरहेको बेला काठमाडौँमा बैठक बस्दा होहल्ला हुनसक्ने सम्भावना देखेर पर्सामा बैठकमा सारेको स्रोतको भनाइ छ । स्रोतका अनुसार पार्टी नै विभाजन हुने चर्चा चलिरहेको समयमा केन्द्रीय सदस्यहरुलाई खुसी पार्नका लागि वीरगञ्जमा स्वागत तथा सत्कारको राम्रो प्रबन्ध मिलाइएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप