आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

१ बाट २ अर्ब जनसंख्या पुग्न १२३ वर्ष लाग्यो, केही महिनाभित्रै विश्वमा ८ अर्ब मानिस

सोमबार, २७ असार २०७९, १४ : ३६
सोमबार, २७ असार २०७९

१ दिनमा २४ घण्टा, १ घण्टामा ६० मिनेट र हरेक मिनेटमा २७० बच्चा.. यो गतीसँगै सन् २०२३ मा विश्वको जनसंख्याले ८ अर्बको आँकडा छुनेछ ।  हुन त १९ औँ शताब्दिको सुरुवातमा नै विश्वको जनसंख्या १ अर्ब भएको थियो । तर यसको २२० वर्षपछि यो ८ अर्ब हुँदैछ । विश्वको जनसंख्याले ७ अर्बको आँकडा २०११ मा पार गरेको थियो ।

आज विश्व जनसंख्या दिवसको मौकामा ८ अर्ब तर्फ बढ्ने ५ कारणबारे जानकारी लिऔँ

पहिलो कारण – १८ औँ देखि २० औँ शताब्दिसम्म रह्यो अत्यधिक जन्मदर

जनसंख्याको यो तीब्र गतीको पहिलो कारण हो, जन्मदरमा वृद्धि । १८ औँ शताब्दिदेखि २० औँ शताब्दिको अन्त्यसम्म जन्मदर निकै तेज थियो । करिब २५० वर्ष अघिसम्म महिला औसतमा ६ बच्चालाई जन्म दिने गर्दथे । यो स्थिति डेढ सय वर्षसम्म रह्यो । यसमा सामान्य गिरावट सन् १९५० मा आयो । त्यतिबेला हरेक महिलाले औसतमा पाँच बच्चा जन्माउने गर्दथे । सन् १९५० पछि जन्मदरमा लगातार गिरावट आयो तर यसैबीच जनसंख्या विस्फोटको स्थिति बन्यो । विशेषगरी एशियामा जहाँ चीन र भारतमा जनसंख्या निकै तीब्र गतिमा बढ्यो । आज विश्वमा एक महिलाले औसतमा २.५ बच्चालाई जन्म दिइरहेका छन् ।

उच्च जन्मदरका कारण १९ औँ शताब्दिको सुरुवातमा विश्वको जनसंख्या सय करोड भएपछि तीब्र रुपमा बढ्दै गयो । विश्वको जनसंख्या २०० करोड पुग्नमा १२३ वर्ष लाग्यो । सन् १९२७ मा विश्वको जनसंख्या २०० करोडको आँकडामा पुग्यो । त्यसपछि सन् १९६० मा विश्वको जनसंख्या ३०० करोड पुग्यो । विश्वको जनसंख्याले ३०० करोडको आँकडा पार गर्ने बित्तिकै विश्वको हरेक सय करोड जनसंख्या दुई दशक भित्र नै बढ्दै गयो ।

८ अर्बको जनसंख्यासम्मको यात्रा

२. बढ्दो आयु

आजभन्दा २५० वर्ष अघि मानिस औसतमा २८ वर्षसम्म मात्रै जीवित रहन्थे तर आज औसत उमेर बढेर ७० वर्षभन्दा पनि बढी भएको छ । यदि हामीले लाइफ एक्सपेक्टेन्सी हेर्ने हो भने सन् १७७० मा मानिसहरुको औसत उमेर २८ वर्ष मात्रै थियो । आज विश्वमा मानिसको औसत उमेर ७२ वर्ष छ । १८ औँ शताब्दिदेखि नै पूरा विश्वमा लाइफ एक्सपेक्टेन्सी लगातार बढ्दै आइरहेको छ । आज ३० देश यस्ता छन् जहाँ मानिसको औसत उमेर ८० भन्दा बढी छ र सय देशमा औसत उमेर ७० पार छ ।

तेस्रो कारण – मृत्युदरमा लगातार कमी

विश्व जनसंख्यामा यति धेरै वृद्धि हुनुको एउटा ठूलो कारण जन्मदरको तुलनामा मृत्युदर तीब्र रुपमा घट्नु पनि हो । सन् १९५० देखि नै जन्मदर र मृत्युदरमा लगातार कमी देख्न पाइएको छ । यदि हामी आँकडाको आँकलन गर्ने हो भने सन् १९५० मा एक हजार मानिसमध्ये २० जनाको मात्रै मृत्यु भयो, त्यो आँकडा अब सन् २०२० मा घटेर ८ भएको छ । यद्यपि, मृत्युदरको तुलनामा जन्म दरको आँकडा अहिले पनि धेरै नै छ ।

चौथो कारण : गर्भनिरोधकको विषयमा महिलामा जानकारीको अभाव

पहिला महिलामा गर्भनिरोधक र गर्भ बस्नबाट रोक्ने तरिकाको विषयमा निकै कम जानकारी हुने गर्दथ्यो जसका कारण नचाहँदा नचाहँदै पनि बढी बच्चा जन्मिने गर्दथे । यो जनसंख्या बढ्ने चौथो ठूलो कारण हो । एशिया, ल्याटिन अमेरिका र अफ्रिकाजस्ता देशको कुरा गर्ने हो भने सन् १९६० मा मात्र ९ प्रतिशत विवाहित जोडीले मात्रै गर्भनिरोधकको प्रयोग गर्दथे । तर सन् १९९० आउँदा आउँदै हरेक दुईमध्ये एक विवाहित जोडीले अनावश्यक गर्भ रोक्नका लागि गर्भनिरोधकको प्रयोग गर्न सुरु गरे । अहिले गर्भनिरोधकको विषयमा महिला–पुरुष दुबै जागरुक छन् । सन् २०१५ को आँकडा अनुसार करिब ६४ प्रतिशत महिलाले गर्भनिरोधक प्रयोग गर्छन् ।

पाँचौ कारण – शिशु मृत्यु दरमा भारी गिरावट

विश्वको जनसंख्या ८ अर्ब हुनुमा पाचौँ ठूलो कारण शिशु मृत्युदरमा सुधार हुनु हो । सन् १९९० मा जहाँ हजारमध्ये ९३ बालबालिकाको मृत्यु हुने गर्दथ्यो, यस्तै अब यो स्थितिमा सुधार भएको छ । आज यो सबैभन्दा तल्लो स्तरमा आइपुगेको छ । सन् २०२० मा हजारमध्ये ३७ बालबालिकाको मृत्यु भयो । यद्यपि, शिशु मृत्यु बढ्नु वा घट्नुमा बच्चाको जन्म कुन स्थानमा भएको छ भन्ने पनि निर्भर हुन्छ । उप–सहारा अफ्रिकामा आज पनि हजारमध्ये ७९ बालबालिकाको मृत्यु हुन्छ । यस्तै युरोप र उत्तरी अमेरिकामा यो स्थिति यति धेरै खराब पनि छैन । यहाँ हजारमध्ये ६ बच्चाको मृत्यु हुन्छ । अष्ट्रेलिया र न्युजिल्याण्डमा यो संख्या ४ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप