शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र मातहत राख्ने विधेयक पारित

सोमबार, २७ असार २०७९, १४ : ३४
सोमबार, २७ असार २०७९

प्रतिनिधिसभाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ सर्वसम्मतले पारित गरेको छ ।  सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकले सो विधेयक पारित गरेको हो । उक्त विधेयकले काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को सुरक्षा व्यवस्था केन्द्र मातहत राख्ने र यसको जिम्मेवारी नेपाल प्रहरीमा रहने व्यवस्था गरेको छ । तर, नेपाल प्रहरीले प्रदेश प्रहरीको समन्वयमा काम गर्नुपर्ने भनिएको छ । 

सरकारले ल्याएको विधेयकमा सुरुमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा नेपाल प्रहरीकै मातहत रहने व्यवस्था थियो । यसमा प्रतिनिधिसभाले ‘...कार्य सम्पादन गर्दा नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गर्नेछ’ भन्ने वाक्यांश थपिएको छ । तर, काठमाडौं उपत्यकाको सुरक्षा अहिले पनि नेपाल प्रहरीले नै हेर्दै आएको छ । पूर्ववर्ती सरकारले उपत्यकाको सुरक्षा केन्द्र मातहत रहने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको छ । अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । जसलाई प्रतिनिधिसभाको बैठकले पारित गरेको हो ।

पारित विधेयक अब राष्ट्रियसभामा जान्छ । राष्ट्रियसभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । राष्ट्रियसभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण भएपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप